प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइनलमा
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश ५ लाई एक सय ५४ रनले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले सागर पुनको शतकको सहयोगमा निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाएर दुई सय ८९ रनको योगफल खडा गर्यो । सागरले एक सय १८ रन बनाए । सागरले एक सय ४२ बलमा चार छकका र १० चौका प्रहार गरे । यसैगरी अनिल मण्डलले १९, भीम सार्कीले ७७ र कप्तान विनोद भण्डारीले ३७ रन बनाए । प्रदेश ५ का कृष्ण कार्कीले तीन विकेट लिए । यस्तै विक्रम भुसालले दुई तथा कप्तान शक्ति गौचन एक विकेट हात पारे ।
दुई सय ९० रनको लक्ष्य पछ्याएको ५ नम्बर प्रदेश ३५.५ ओभरमा एक सय ३५ रनमै समेटियो । आर्मीका बलरको कसिलो बलिङसामु प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । प्रदेश ५ का कृष्ण कार्कीले ३१ रन बनाए । यस्तै शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले समान १४ रन बनाए । आर्मीका सुशील कँडेल र विक्रम सोवले तीनतीन विकेट लिए । यसैगरी सागर पुनले दुई तथा सोमपाल कामी र साहव आलमले एकएक विकेट बाँडे । सागर पुन खेलको म्यान अफ दी म्याच चुनिए ।