नेपाल साफ च्याम्पियनसिपमै केन्द्रित हुनुपर्छ

नेपाल साफ च्याम्पियनसिपमै केन्द्रित हुनुपर्छ

नेपाली राष्ट्रिय फुटबल टोलीबाट लामो समय खेलेका कुमार थापा हाल युरोपमा फुटबल व्यवस्थापनसम्बन्धी स्नातकोत्तर तहको कोर्स गरिरहेका छन्। युरोपेली फुटबल महासंघ (यूईएफए) ले पूर्वफुटबलरहरूलाई कुशल फुटबल प्रशासक बनाउने उद्देश्यसहित इङ्ल्यान्ड र फ्रान्सको दुई विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरेको कोर्षका लागि छनोट हुने कुमार एसियाकै एक्लो व्यक्ति हुन्। हाल लन्डनमा रहेका कुमारले यूईएफएको टोलीबाट आसन्न रुस विश्वकपको अवलोकन गर्न जाने अवसर पनि पाएका छन्। कुमारले यस पटक दर्शकको रूपमा खेल हेर्ने मात्रै हैन, विश्वकप आयोजना र खेल सञ्चालनका हरेक पक्षको अवलोकन गर्ने अवसर पनि पाएका हुन्। यही सन्दर्भमा उनीसँग दीपेन्द्र गुरुङले गरेको कुराकानीः


रुसमा जारी विश्वकप फुटबल हेर्न जानु हुने भएछ, कसरी सम्भव भयो ?

यूईएफएले मसँगै कोर्स गरिएका २५ जनामध्ये पाँच जनालाई रुस विश्वकपका लागि आफ्नो ‘अब्जर्भर’ टोलीमा समावेश गर्ने जनाएको थियो। त्यसमा परिएला भन्ने सोचेको थिइनँ। यद्यपि छानिएँ। टोलीमा अन्य २० जना यूईएफएको विभिन्न विभागमा काम गर्ने व्यक्ति, अनि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको आयोजक समितिका सदस्यहरू पनि हुनेछन्।

विश्वकप फुटबलमा तपाईंको समयतालिका के छ ?

मलाई दिइएको जानकारीअनुसार हामीले रुसमा प्रिक्वार्टरफाइनल चरणको (म्याच नम्बर ५५) एउटा खेल हेर्नेछौं। हामी त्यहाँ तीन दिन हुनेछौं। रुस विश्वकप आयोजक समितिका सदस्यहरूसँग परिचय, त्यसपछि हुने ‘फ्यान फेस्ट’ को आयोजना र उनीहरूसँग छलफल हुनेछ। खेल हुने दिन बिहानै स्टेडियमको अवलोकन, खेलाडीको स्वागतलगायतको अवलोकन हुनेछ। खेल सुरु हुनेदेखि, सम्पन्न हुने र त्यसका लागि गर्नुपर्ने सबै कुराको अवलोकन गर्नेछौं।

खेलाडीको रूपमा सुरु गरेको विश्वकप हेर्ने अभियान अहिले सम्भव भएको छ। कस्तो महसुस गर्नुभएको छ ?

नेपालजस्तो देशको पूर्वखेलाडीको हैसियतमा यो अवसर पाउनु एकदमै महŒवपूर्ण मानेको छु। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका लागि सन् २००१ मा भएको पहिलो चरणको छनोट खेलमा नेपाली राष्ट्रिय टोलीबाट मैले पनि खेलेको थिए। तर, नेपाल विश्वकप फुटबलको पहिलो चरणभन्दा अघि बढ्न सकेन। अन्य बेला पनि नेपालको प्रदर्शन यस्तै हुँदै आइरहेको छ। खेलाडीको रूपमा जान नसके पनि अहिले विश्वकप फुटबलको अब्जर्भरको रूपमा जाने अवसर पाएको छु। खुसी लागेको छ। एक्साइटेड पनि छु।

तपाईंले रुस विश्वकपमा अब्जर्भरसित खेल हेर्न पाउनु भएको अवसरले नेपाली फुटबलले पनि केही फाइदा लिन सक्ला ?

फाइदा व्यक्तिगत रूपमा मलाई त छ नै। देशले के र कति फाइदा पाउँछ भन्ने कुरा नेपाली फुटबलले के भूमिका दिन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ। एउटै विश्वकपले सबै कुरा सिकाउँछ भन्ने पनि छैन। तर, अहिलेसम्म नेपालको जिल्ला लिग र राष्ट्रिय लिग मात्रै हेरेको व्यक्तिलाई विश्वकपको अवलोकनले पक्कै पनि धेरै नै कुरा सिकाउँछ।

विश्वकप फुटबल हेरेर नेपाली खेलाडीले पनि केही सिक्न सक्छन् ?

धेरै कुरा सिक्न सक्छन्। खेलाडीहरूले आफ्नो पोजिसनबाट खेल्ने खेलाडीले कस्तो खेल खेलिरहेको छ भन्ने हेरेर सिक्न सक्छन्। त्यसका लागि खेलाडीहरूले कुनै पनि एक टोलीको समर्थन गरेर भन्दा पनि आफूले खेल्ने पोजिसनका खेलाडीले कसरी खेलिरहेको छ भन्ने कुरा सिक्न सक्छन्। साथै खेलाडीको अनुशासन र टोलीको स्ट्राटेजी पनि सिक्न सक्छन्।

विश्वकपमा कसलाई समर्थन गर्दै हुनुहुन्छ ?

सबैभन्दा पहिले एसियन टोलीलाई समर्थन गर्छु। त्यसपछि अन्य टोलीलाई रहन्छ। म कुनै टोलीभन्दा पनि कुन खेलाडीले कस्तो खेल्छ भनेर खेल हेर्ने भएकाले जसले राम्रो खेल्छ, उसकै समर्थन पनि गर्छु। एसियाली टोलीलाई समूह चरणभन्दा माथिको यात्रा मुस्किल हुने भएकाले त्यसपछि टोलीको प्रदर्शन हेरेर अन्य टोलीलाई समर्थन गर्छु।

सेमिफाइनल र फाइनलमा कसको सम्भावना देख्नुभएको छ ?

खेलको पूरै टाइसिट हेरेको छैन। यद्यपि स्पेन, जर्मनी, फ्रान्स ब्राजिलहरू नै हो, सेमिफाइनल पुग्ने। घरेलु ठूला लिग हुने टोलीहरू नै अघि बढ्ने हुन्। इङ्ल्यान्डको चाहिँ त्यति सम्भावना देख्दिनँ।

नेपाल विश्वकप छनोटको पहिलो चरणबाटै बाहिरिँदै आइरहेको छ। हामी कहिलेसम्म अर्काे देशको समर्थन गरेर विश्वकप हेर्ने ?

यो कुरा भन्न निक्कै मुस्किल छ। जापानले २०५० को विश्वकप खेल्ने योजना अहिलेबाटै बनाइरहेको छ। जबकि त्यो विश्वकप खेल्ने कतिपय खेलाडीहरू अहिले जन्मिएका पनि छैनन् होला। हामी यो प्रक्रियामा कतै पनि छैनौं। अव सन् २०२६ को विश्वकपदेखि ४८ टोली हुने कुरा छ। अब विश्वकपमा एक सय वटा जति टोलीले प्रतिस्पर्धा गर्ने हो भने नेपालको पनि सम्भावना रहन्छ। तर यही अवस्थामा भने नेपालको सम्भावना छैन। विश्वकपभन्दा अघि नेपालले साफ च्याम्पियनसिप जित्नेबारे सोच्नुपर्छ। त्यसपछि एसियन च्याम्पियनसिप जित्ने बारे सोच्नुपर्छ। त्यसपछि मात्रै विश्वकपको बारे कुरा गर्न सकिन्छ। साफ च्याम्पियनसिप नै निक्कै टाढा देखिएको बेला विश्वकप मुस्किलभन्दा पनि असम्भवजस्तै छ। घाँटी हेरेर हाड निल्नुपर्छ भनेजस्तो हामीले साफ च्याम्पियनसिपको बारेमा ध्यान दिनुपर्छ।

नेपाली फुटबलको स्तर वृृृद्धि गर्न के गर्नुपर्छ ?

यसका लागि एन्फाले मात्रै गरेर हुदैन। सरकारले पनि धेरै गर्नुपर्छ। सधैंभरि फुटबल भइरहने वातावरण हुनुपर्छ। खेलाडीले फुटबल खेलेर नै बाँच्न सक्ने वातावरण हुनुपर्छ। सरकार र निजी क्षेत्रसँगै समाज पनि फुटबलमय हुनुपर्छ। त्यसपछि मात्रै नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा फड्को मार्न सक्छ।

अन्त्यमा, तपाईंको कोर्स कस्तो हुँदैछ ?

अहिलेसम्म राम्रो छ। जेनेभा, लन्डन, नियोन, बार्सिलोना र पेरिसको क्लास सकियो। अब डर्टमुन्ड र न्युयोर्कको क्लास बाँकी छ। फुटबल व्यवस्थापनका बारेमा धेरै कुरा सिक्ने अवसर पाएको छु। अहिलेसम्म रोल एन्ड स्किल अफ द म्यानेजर, स्ट्रक्चर अफ प्रोफेसनल स्पोर्ट्स, फर्म्याट एन्ड रेगुलेसन अफ कम्पिटिसन, मेनेजर इन एक्सनलगायत विषयमा व्यावहारिक र सैद्धान्तिक रूपमै सिक्ने अवसर पाएको छु। यी कुरा पढेपछि नेपाली फुटबल निक्कै पछि रहेको महसुस भएको छ। गर्नुपर्ने कुरा अझै धेरै रहेछ भन्ने लागेको छ। सम्भवतः मेरो यो पढाइ नेपाली फुटबलको विकासमा पनि सहयोगी हुने विश्वास लिएको छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.