मानव सभ्यताको पाठशाला
म्यान्मारको ऐतिहासिक र ज्यादै सुन्दर धार्मिक सम्पदाको नगर बगान घुम्दै गर्दा कम्बोडियाको आंकरवाटको सम्झना भएथ्यो। नवौंदेखि १३औं शताब्दीमा बनेका १० हजारभन्दा बढी गुम्बा र स्तूपाहरू घुम्दै गर्दा संसारकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको आंकरवाट पनि एक दिन पुग्ने तीव्र इच्छा थियो। जाने इच्छा त भइगयो। कसो गरुँ ? यसका लागि लुनाले तारतम्य मिलाउँदै थिइन्।
योजना यस्तो बन्यो, हामी म्यान्मारबाट उड्नेछौं। ऋचा र अजित काठमाडौंबाट उड्नेछन्। सियाम रिपलाई मिटिङ पोइन्ट बनाएर यात्रा गर्नेछौं।
कम्बोडियाको सियाम रिप एयरपोर्टमा झर्दै गर्दाको उत्साह सबै तब हरायो, जब इमिग्रेसन अफिसरले अनावश्यक सोधखोज गर्न थाले। लुना र मलाई रोकेर एकातिर जानुपर्ने अर्कोतिर केरकारको लागि पठाए। मैले रिसाएर सोधेँ, ‘यो झमेला किन ? ’
जाँचबुझ गर्ने त्यो मनुवाले भन्यो, ‘यहाँ नौवटा देशका नागरिक विशेष निगरानीमा छन्। त्यसमध्ये नेपाल पनि हो।’
‘किन ? ’
‘उनीहरू अवैध काम र झैंझगडाका कारणले निगरानीमा छन्।’
हे दैव ! बुद्ध, सगरमाथा, वीर गोर्खाली अनेकौं नाममा परिचय बोकेर हिँड्ने नेपालीले उहिल्यै परिचय फेरेको हाम्रा राष्ट्रभक्तहरूलाई पत्तै छैन। एकताका नेता बाबुराम भट्टराईले बैंकक एयरपोर्टमा भोग्नु परेको सास्तीलाई लिएर लामै लेख लेखेका थिए। तर, हाम्रो नयाँ छवि झन् गाढा हुँदै जाँदैछ।
त्यसपछि हामी सियाम रिप अन्तर्राष्ट्रिय एयरपोर्टबाट मोटरसाइकलको टाउको जोडिएको टुकटुके टेम्पोमा होटेलतर्फ प्रस्थान गर्दा भयौं। त्यस्तै टुकटुकेले यहाँ ट्याक्सीको काम गर्दोरहेछ।
होटेलमा ऋचा र अजित अघि नै पुगिसकेका थिए। आफ्ना मान्छेलाई घर र आफ्नो परिवेशभन्दा पर भेट्नु बेग्लै उत्साह र खुसी हुन्छ नै। हामी त्यही खुसीको उत्सव मनाउने लयमा थियौं। सियाम रिपको घडीले रातिको ९ बजाइसकेको थियो। होटेलबाट निस्किएर घुम्दैफिर्दै हामी लाग्यौं पव स्ट्रिटतर्फ।
म खानाको सौखिन होइन। खानाको स्वादमा मेरो सेन्स लगभग शून्य छ भन्दा हुन्छ। कहिलेकाहीँ मेरो जिब्रो फन्दामा पर्छ। यहाँ यस्तै भयो। केराका पातमा बेरेर ल्याएका किसिमकिसिमका परिकारको स्वाद साँच्चै उच्च लाग्यो। औसतभन्दा सस्तोमा विल्कुलै फरक किसिमका स्वादिलो परिकार खान पाएर हामी चारैजना खुसी थियौं। अजितले मलाई बियरतिर संकेत गर्दै थिए। कुरो के रहेछ भने, एक डलरमा ठूलो बोटलको बियर पाइँदो रहेछ त्यहाँ। त्यसपछि त काठमाडौंको तुलनामा निक्कै सस्तो पाइएको बियर कति पिइयो, बोतल गन्न भ्याइएन।
सियाम रिपको व्यवस्थित पब स्ट्रिट देखेर काठमाडौंको याद आउनु स्वाभाविक नै हो। पर्यटकहरूको केन्द्र मानिने ठमेलको हालत पनि बिजोग छ। त्यस हिसाबले पोखरा प्रशंसनीय सहर हो। त्यसको सिको नेपालका अरू कुनै सहरले गर्न सकेनन्। मेयर विद्यासुन्दर शाक्यको गुनासो छ, ‘बाहिरका मान्छे आएर काठमाडांैलाई गाह्रो भयो।’ संसारमा कुन चाहिँ सहर छैन, जहाँ बाहिरका मान्छे नगएका हुन् ? मेयरसाबको कस्तो असुन्दर सोच ? रैथानेहरू मात्रै बस्ने त कुनै आदिम बस्ती हुन्छ। कुनै विकसित सहर कहाँ त्यस्तो हुन्छ।
सहरको रमझम हामीलाई रमरम लाग्दै थियो। काठमाडौंमा स्काई बार खोल्ने लुनाको योजनामा अजित लगभग लगानी गर्ने मनस्थितिमा पुगिसकेका थिए। यंगुनको २२ तलामाथिको यंगुनयंगुन स्काईबारले लुनालाई प्रभावित गरेको कुरा मलाई थाहा थियो। काठमाडौंमा यति अग्लो घर कहाँ पाउनु। एउटा धरहरा थियो, त्यो पनि ढलिगयो। खैर, काठमाडौंमा स्काईबार खोल्दाको सम्भावित जोखिमका बारेमा बहस चल्दै थियो। आफन्त र साथीभाइलाई कसरी पैसा तिराउने ? ऋचा र मचाहिँ परिवारका सदस्यले पनि पैसा तिरेरै खाने नियम बनाएर उनीहरूलाई हौस्याउँदै थियौँ। गाँठी कुरा चाहिँ के भने, स्काई बारको व्यापार आफन्त र छिमेकीका कानसम्म पुग्दा कस्तो रूप होला भन्ने पनि छलफल चल्दै थियो। ‘फलानो वा फनानीले त रक्सी भट्टी खोलिछ नि।‘ एकछिन हाँसो गुञ्जियो।
बाटोभरि फुड स्टलको रमिता छ। म्यान्मालीहरू पनि वनस्पति र जीवजन्तुका प्रकारहरू खानेकुरामा हामीभन्दा निक्कै अगाडि छन्। किसिमकिसिमका वनस्पतिको जरा, पात, हाँगालाई विशेष तरिकाले सजाएर सानदार तरिकाले खाइदिन्छन्। कमलको जरा, कागती र अमलाको पात खान्छन्। अनेकौं कीराफट्यांग्रा, लामा कीरा र जनावरहरू पनि खान्छन्। सियाम रिपका फुड स्टलहरूमा पोलेर राखेका घुम्रेका सर्प, बिच्छी, ठूला माकुरा देखेर म कर्केकर्के छड्के लागेँ। लुना चाहिँ सर्प चाख्ने इच्छा गर्दै थिइन्। कसोकसो कुरो टर्यो। राति करिब १ बजेसम्मको पब उत्सवपछि हामी होटेल फर्कियौं। सियाम रिपका सडकहरूमा सुरक्षाको हिसाबले मैले निक्कै सहजता महसुस गरेँ। पव स्ट्रिटको रौनकले होटेल जाने मन भइरहेको थिएन। भोलिपल्ट बिहानै सूर्योदय हेर्न जाने योजनाले हामीलाई होटेलले तानिरहेको थियो।
बिहान ४ बजे नै होटेलबाट आंकरवाट यात्रामा निस्कियौँ। श्रीअन्तु, सारङकोट, दार्जिलिङको टाइगर हिल वा म्यानमारको बगानमाजस्तै, आंकरवाटमा सूर्योदय हेर्न हजारौं मानिसको भीड थियो। त्यही मोटरसाइकलको टाउकोवाला टुकटुकेमा चढेर बिहान पौने ५ मा हामी त्यहाँ पुगिसकेका रहेछौं।
यो पृथ्वीको रंग हरेक क्षण किन फरक देखिन्छ ? सूर्योदय हुने आशासहित मान्छेको मनको रंग बदलिन थाल्छ। कुखुराको भाले त बास्न थाल्छ, मान्छेको के कुरा भो। सूर्य आफू देखिनुअघि क्षितिजमा यसले रातो आभा छर्छ। यसले मान्छेको मनमा नयाँ उमंग भर्छ। त्यही उमंगले उत्तेजित हुँदै मानिसहरू सूर्योदयको दृश्य आफ्ना क्यामेरामा कैद गर्न निक्कै टाढादेखि यहाँसम्म आएका छन्। खिचिक खिचिक खिचिक। विस्तारै सूर्यले आफ्नो वृत्तको छेउ देखाएर हामीलाई चियाएझैं लाग्छ। सामान्य मोबाइलदेखि अत्याधुनिक क्यामेराहरूले घेरिएका छन् आंकरवाटको सूर्य। यस्तो लाग्छ, सूर्योदय यो पृथ्वीकै सबैभन्दा रहस्यमय चमत्कार हो।
संसारकै सबैभन्दा ठूलो धार्मिक सम्पदाको यात्रामा छौं हामी। यो सम्पदा नगर ४०२ एकरमा फैलिएको छ। अनुमान लाउनुस्, काठमाडौ उपत्यकाको जम्मा क्षेत्रफल ४१३ एकर छ। यो सबै ठाउँ घुम्न र कुरा बुझ्न कम्तीमा दुई हप्ता त्यहीँ बास बस्नु पर्नेछ। त्यसैले कति फिरन्ता पर्यटकहरू सस्ता छात्रावास वा सस्ता होटेलहरू खोजेर महिनौंसम्म बस्छन्। म आफू त यो भूमि टेक्न पाएकैमा मक्ख छु।
खमेर शासकहरूले स्थापना गरेको आंकरवाट (मन्दिरहरूको नगर)का मन्दिरहरू हिन्दुहरूका देवता विष्णुमा समर्पित थिए। १२औं शताब्दीको सुरुवातमा खमेर जातिका सम्राट् सूर्यवर्मन दोस्रोले निर्माण गरको भनिएको यो हिन्दु नगर यशोधरापुरा, १२औँ शताब्दीको अन्त्यसम्म आइपुग्दा बौद्ध मन्दिरहरूमा परिणत भए। खमेरहरूका सुरुवाती राजाहरू शैव धर्म मान्थे। त्यसपछि सूर्यवर्मन दोस्रो विष्णु भक्त भए रे। उनीपछि यहाँ बौद्ध धर्मको प्रभाव पर्न थाल्यो। यहाँका बडेमानका मूर्तिहरू शिव, विष्णु र बुद्धको अनुहारको मिश्रण जस्तो लाग्छ मलाई। विष्णुका ठूला मूर्तिहरू मलाई कहीँ शिव जस्तो लाग्यो, कहीँ बुद्ध जस्तो। आंकरवाटको लामो कालखण्ड र यसको परिवर्तित रूपलाई हेर्दा धर्म र संस्कृतिको रूपान्तरणमा शासकहरूको आस्थाले कसरी परिवर्तन ल्याउन सक्छ, देख्न सकिन्छ।
एसियामा हिन्दु वा शैव धर्मको फैलावट निकै ठूलो रहेछ भन्ने कुरा कम्बोडिया, इन्डोनेसिया वा बर्मामा अवस्थित मन्दिर र त्यहाँका वास्तुकलाहरू त्यसका प्रमाणहरू हुन्। हामी नेपालीहरू एकखाले हिन्दु कट्टरपन्थबाट ग्रसित छौं। हिन्दु धर्मको फैलावट र फरक अभ्यास वा यसको परिवर्तित रूपहरू बुझ्न सके यसको कट्टरपन्थी ग्रन्थी हामी कहाँ पनि कम हुन्थ्यो होला। आंकरवाटमा अवस्थित शैव, विष्णु र बौद्ध मूर्तिहरू र बडेमानका मूर्तिहरूले म अज्ञानीलाई तीन छक्क बनाए। नेपाली र भारतीय हिन्दुहरू हिन्दु धर्मको ठेकेदार जस्तो व्यवहार गर्छन्। सयौं वर्षअघिदेखि अन्य भूभागहरूमा पनि हिन्दु धर्मको विशिष्ट र फरक अभ्यास भएको छ।
कम्बोडियाको इतिहासलाई हेर्दा प्रश्न गर्न मन लाग्छ, के हामीकहाँ हिंसात्मक विद्रोह मच्चाउने र त्यसलाई हिंसात्मक रूपमै दबाउन खोज्नेहरूले जनतालाई कहिल्यै जवाफ दिनु पर्दैन ?
२५ डलर तिरेर हामी त्यही टुकटुकमा चढेर आंकरवाट यात्रामा थियौं। हरेक मन्दिरहरूको भव्यताले हामीलाई अचम्मित बनाउँदै थियो। लुना फोटोग्राफीमा सोख राख्छिन् तर उनले आफ्नो क्यामेरा यंगुनमै छाडेकी थिइन्। अजित फोटोग्राफीको झन् सोखिन रहेछन्। गजबका पोजहरूमा हामी उनको क्यामेराभित्र कैद भयौं। बेलाबेला उनी पनि क्यामेरामा कैद हुन्थे। उनको चिन्ता चाहिँ पुटुक्क लागको पेट नदेखियोस् भन्ने थियो। फोटो खिच्ने बेलामा सकभर उनी सास दबाउँथे।
भव्य मन्दिरभित्र अनेकौं बाटा र कोठाहरू थिए। कति मन्दिरभित्र अलमल्लिएर अर्को बाटोतिर लाग्ने डर थियो। हामी समूहमै हिँड्ने कोसिस गरिरहेका थियौं। हिन्दु र बौद्ध सभ्यताका भब्य वास्तुकलाहरू हेर्न संसारभरका मानिसहरू जम्मा भएका छन्। डिसेम्बरको महिना छ। पर्यटकहरूको असीमित भीड छ। डिसेम्बरभन्ने बित्तिकै युरोपतिर वा नेपालतिर भए, चिसो मौसमको याद हुन्थ्यो। यहाँ भने उधुम गर्मी छ।
सियाम रिपको दोस्रो रात। पप ट्रिटमा घुमफिर गर्दै वा खाँदापिँदा लगभग रातिको १० बजिसकेको थियो। सडकमा पर्यटकहरूको भीड थियो। ठेला गाडी वा मिनी ट्रकहरूमा सिंगै ‘बार’ गुडिरहेका थिए, कुनै रोकिएका थिए। ठूलो आवाजमा गीतहरू बजाएर वा विशेष डिजेइङद्वारा आआफ्नो बारतिर ग्राहकलाई आकर्षित गरिरहेका थिए। लुनाले टकिला सट चाख्ने रहर गर्दै थिइन्। हामी सबैको त्यसमा सहमति थियो। एउटा ठेलागाडीमा राखिएको बारतिर हामी लाग्यौं। जुन लगभग सुनसान थियो। त्यस बारको मालिक हामीलाई देखेर मुस्कुरायो। अजित, लुना र मैले टकिला चाख्यौं। बूढीऔंला छेऊमा थोरै नुन र कागती राख्ने। नुन फ्वाँक्क मुखमा हाल्ने, कागतीको टुक्रा चुस्ने र सानो सिसाको ग्लासको टकिला स्वाट्ट पार्ने। निक्कैपछि यसरी टकिला चाख्दै थिएँ म। ऋचा ननल्कोअलिक मुडमा थिइन्। हामी सबै अंग्रेजी गीतमा शरीर हल्लाउन थाल्यौं। डिजेको काम बार मालिकले गर्दै थियो। अचानक नेपाली गीत बज्न थाल्यो। त्यो बिरानो सहरमा ‘कुटुमा कुटु सुपारी दाना’ गीत बजेकोमा हामी दंग र अचम्म एकै पटक पर्र्यौं।
भएछ के भने, अघि नै बार मालिकको स्वीकृति लिएर ऋचा डिजे बनिसकिछन्। अब एकपछि अर्को नेपाली र हिन्दी गीतहरूको मिक्स्चर म्युजिक बज्न थाल्यो। करिब १५÷२० मिनेट भित्रमा हामी नाचिरहेको बार अगाडि मानिसहरूको भीड लाग्न थाल्यो। टकिलाको व्यापार खुब चल्न थाल्यो। भारतीय मूलका पर्यटकहरू र भारतीय संगीतदेखि परिचितहरूको पनि भीड लाग्न थाल्यो। त्यो भीडले अरू भीडलाई तान्यो। बार मालिक हौसीहौसी व्यापार गर्न थाल्यो। नेपाली डिजे ऋचा अचानक आफ्नो ‘डिजेइङ’को करामत देखेर आफैं अचम्ममा थिइन्। अर्को आश्चर्य के भने, हामी नाचिरहेको ठेला ‘बार’ मारामार चलेको देखेर एकैछिनमा हामी वरिपरि मिनीट्रकवाला अरू चारवटा बार त्यही चोकमा जम्मा भए। थपिएका बारहरूको डीजे झन्झन् ठूलो आवाजमा घन्काइरहेको थियो। नयाँ जम्मा भएका बारहरूले अनेक उपाय गरे पनि हाम्रो डीजेलाई फ्लप खुवाउन सकेनन्। नाच्दानाच्दा थाकेपछि हामी चार जनाले बार छोड्ने निर्णय गर्र्यौं। लुना र मैले चार÷चार सट टकिला लगाएछौं। बार पछाडि गएर बार मालिकसँग अजित खुसुखुसु गर्दै थिए। उनले त पाँचौं ‘सट’ पनि भ्याएछन्। होटेल फर्किंदै गर्दा उनले उत्साहित हुँदै भने
‘मैले त एउटा टकिला सित्तैमा पाएँ नि।’
‘कसरी ? ’
उनले भने ‘हाम्रो कारणले तेरो यत्रो व्यापार भयो। एउटा टकिला फ्रिमा दिनुपर्छ भनेर मागेको, दियो।’ हामी सबैको हाँसोको फोहोरा छुट्यो।
तेस्रो दिन, आंकरवाटबाट करिब चार घण्टाको माइक्रोबस यात्रामा लुना र म नाम्फेन पुग्यौं। भोलिपल्ट ऋचा र अजित आइपुगे। नाम्फेनको पनि नाइट मार्केट घुम्न निस्कियौं हामी। यो सहर चोरीमा चर्चित रहेछ। धेरै साथीहरूले यहाँ हिँड्दा झोला नबोकी हिँड्न वा पर्सको जतन गरेर हिँड्न सचेत गराएका थिए। बाइकमा आएका लुटेराहरूले थुतेर हिँड्ने रहेछन्। पुलिसलाई उजुरी गरे पनि सहयोग नगर्ने कुरा केही साथीहरूले सुझाएका थिए। त्यसैले, हामी होसियारीका साथ बजारमा निस्किएका थियौं।
अर्को दिन कम्बोडियाको कालो इतिहासका साक्षीको रूपमा संरक्षित गरिएका ठाउँ हेर्न गयौं। इतिहासमा पढेको पोलपोट र खमेररुजहरूले मच्चाएको हिंसाको साक्षी किलिङ फिल्ड र यातनागृह हेर्न गयौँ। सैद्धान्तिक रूपमा आफूलाई मार्कसिस्ट, लेनिनिस्ट ठान्ने पोल पोटले जातीय विद्रोह मच्चाएर सशस्त्र आन्दोलनमा हजारौं मानिस मारे। जब खमेररुजहरू मूल राजनीतिमा आएर पोलपोट कम्बोडियाको प्रधानमन्त्री बने, शंकास्पद पोलपोट विरोधीहरू, आदिवासी भियतनामी, थाई, चाइनिज, क्रिश्चियन यहाँसम्म कि बौद्ध भिक्षुहरूलाई पनि यातना दिइदिइ मारे। खमेररुजहरूले आफ्नो विद्रोहकाल र शासनकालमा गरेर कम्बोडियाको लगभग २५ प्रतिशत जनतालाई मारेको क्रुर इतिहास छ। किलिङ फिल्ड त्यही आततायी घटनाको साक्षी हो, जहाँ पोलपोट शासकहरूले ट्रकमा मानिस ल्याउँदै यातना दिएर मारिएको, गाडिएको जमिन हो। अझै पनि यही ठाउँमा ती मारिएका मानिसको खप्पर संरक्षण गरेर राखिएको छ। तिनका कपडा र तिनलाई यातना दिन र मार्न प्रयोग भएका हतियार राखिएका छन्। किलिङ फिल्डनजिकै रहेको तिउल स्लेङ म्युजियम पनि गयौं हामी। यो नरसंहार म्युजियम, जहाँ पोलपोटले आफ्ना शंकास्पद विरोधीहरूलाई बन्दी बनाई मार्थे। बन्दीहरूको हात, खुट्टा वा शरीरमा बाँधिने फलामे ताल्चा र साङ्ला, यातना दिने औजार, उनीहरूलाई राखिएका साँघुरा कोठाहरू देखेर नै स्तब्ध भएँ म।
‘यो क्रुर समयको साक्षी किलिङ फिल्ड देखेर पनि आज शासकहरू किन त्यस्तै समय बारम्बार दोहोर्याउन खोजिरहेका छन् ?’ भन्ने लाग्छ। के शासकहरूको लागि हिंसा एउटा रोमाञ्चक खेल हो ? हरेक दिनको सूर्योदय वा सूर्यास्तभन्दा शासकहरूको शक्तिको मात यो संसारमा रहस्यमय हुँदै जाँदैछ।
साइनिङपाथका नेता स्पेनका गोञ्जालो, खेमररुजहरूका नेता कम्बोडियाका पोलपोटजस्ता धेरै हिंसात्मक विद्रोहबाट आएका कम्युनिस्ट नेताहरूले अर्को परिस्थितिमा सजाय भोग्न बाध्य भएका छन्। नेपाल यस्तो देश हो, जहाँ त्यस्तै विद्रोहीहरूले तत्कालीन राज्य शक्तिसँग विशिष्ट सम्झौता गर्न र सर्त राख्न सफल भएर शासनसत्तासम्म आइपुगेका छन्। कम्बोडियाको इतिहासलाई हेर्दा प्रश्न गर्न मन लाग्छ, के हामीकहाँ हिंसात्मक विद्रोह मच्चाउने र त्यसलाई हिंसात्मक रूपमै दबाउन खोज्नेहरूले जनतालाई कहिल्यै जवाफ दिनु पर्दैन ?कि जनताले हिसाबकिताब खोज्ने त्यो एक दिन आउन बाँकी नै छ ? खैर, समयको एउटा कालखण्डमा खमेर शासकहरूले छोडेर गएको आंकरवाट र समयको अर्को कालखण्डमा अर्का शासकहरूले छोडेर गएको किलिङ फिल्ड मानव इतिहासको विल्कुलै विपरीत पाठशाला बनेर अवस्थित छन्।
भेटिनु छुट्नु यस्तै संयोग रहेछ। नाम्फेनबाट ऋचा र अजित कम्बोडियाकै अर्को सहर बाटमबाङ गए। लुना र म यंगुन फर्कियौं।