कपाल कन्ट्रोभर्सी
च्वाट्टै पारिदिए।
हो पूरै ठुट्टै।
कम्मरसम्म सल्बलाइरहने मंगोलियन खासा कपाल। गाह्रो नै पो के थियो र काट्न। १० मिनेटको कैंची चलाइ, बस्। कम्मरबाट सरेर काँधमा पुग्यो कपालको लोकेसन। मुस्कुराएँ एक फाँक। निकै हल्का भयो ज्यान। तर, खासखुस फैलिसकेछ वरपर। अनि यसरी सुरु भयो कपाल कन्ट्रोभर्सी।
कपाल कटाइपछिको पहिलो साक्षात्कारमा एक मित्रले घोर आश्चर्य भावसहित दुई मिनेटजति आफ्नो टाउको समाएर बसिन्। त्यस्तो राम्रो लामो कपाल, किन...?
अर्का मित्रको आँखा र ओठ निकै बेर खुल्लै रहे।
स्वाभाविक थिए यी प्रतिक्रियाहरू। अझ ठूलो कुरा, मेरी आमोईसामु त पर्न बाँकी नै छ। थाहा छैन, कस्तो हुने होला उनको रियाक्सन। विगतमा पनि ठूलै काण्ड भएथ्यो मेरो कपालको। किशोरवयको चञ्चल समयमा जब यसैगरी च्वाट्टै पारिदिएको थिएँ कपाल, तब नरम बाबाको कडा झापड बजेथ्यो गालामा। साथै बोलचाल नै बन्द भएथ्यो केही महिना। बिस्तारै बढ्दै गयो कपाल अनि खुल्दै गयो बाबुछोरीको बन्द भएको बोलीचाली पनि।
किशोरकालीन समय बेग्लै थियो। यतिखेर भने म घोत्लिँदै छु कपालसँग जोडिएको हाम्रो सामाजिक, सांस्कृतिक मान्यतासँगै व्याप्त आममानसिकता विषयमा। जोडिन आइपुग्छ, लामो कपालसँग जोडिएको सौन्दर्यका कुरा। सुन्दर र असुन्दरबीच कोरिएको त्यो बेइमानी रेखाका कुरा। रेखावारि सुन्दर, रेखा पार गर्यो कि असुन्दरको मान्यता। र, यति नै खेर नाकमा ठोक्किन आइपुग्छ महिलामाथिको षड्यन्त्रको त्यो नमीठो गन्ध। संस्कार र मूल्यमान्यताका नाममा स्थापित गरिए स्त्रीजनीन स्वभाव र ठडियो सौन्दर्यको मानक। त्यही नियन्त्रण र निर्देशनको गहिरो खाडलमा नराम्रोसँग फसे महिलाहरू। उनीहरूबाट आफ्नै शरीरमाथिको नियन्त्रण फुत्कियो र भए डमी। त्यसैको उपज हो, आजसम्मै तन्किँदै गरेको कपाल कन्ट्रोभर्सी।
मानक सौन्दर्य
त्यो आदिम समय जतिखेर न परिवार न त जड मान्यताहरू थिए। महिला पुरुषको बीचको विभेदका कुनै छिटासम्म कतै परेको थिएन। न महिला माथिको एकल स्वामित्व या नियन्त्रण नै सुरु भएको थियो। थियो त केवल एक स्वतन्त्र स्वच्छन्द समय। तर, मानव सभ्यताको विकासक्रमसँगै अनेकन सामाजिक मान्यताहरूको पनि विकास हँदै गयो। जब परिवार, खेतीपाती र निजी सम्पत्ति र स्वामित्वका धारणहरू विकास हुँदै गए, तब महिलाहरूका पूर्ववत स्वच्छन्दता गायब हुँदै गए।
बिस्तारै हट्दै गयो, प्राचीन समयदेखि चलिआएको मातृसत्ता। एकनिष्ठ विवाह पद्धति, सम्पत्तिमाथिको पुरुषको नियन्त्रण र पितृसत्ताको उदयसँगै महिलाको अवस्था नाजुक बन्दै गएको कुरा फ्रेडरिख एंगेल्सले आफ्नो पुस्तक परिवार, निजी स्वामित्व र राज्यको उत्पत्तिमा उल्लेख गरेका छन्। अन्ततोगत्वा महिलाहरू पुरुषहरूबाट संरक्षण गरिनुपर्ने सम्पत्ति र निजी वस्तु या सो सरहमा परिणत हुँदै गए। उनीहरूका बोलीचाली, बानीव्यवहार, सौन्दर्यका कुरा पनि पुरुषको आवश्यकता र सहजताअनुरूप परिवर्तित भए। लामो समयदेखि निरन्तर उनीहरूमाथि लादिएका व्यवहार र सौन्दर्य चेतना नै आज मानक भएका छन्।
नेपाली समाजमा अनेकन मान्यताहरू छन्, महिलाका सम्बन्धमा। उनीहरूको हिँडाइको चालदेखि, बोलीको मलिनपना, कम्मरसम्म लट्किने कपाल, धर्म र संस्कृतिसँग जोडिएका बर्त या बार्नुपर्ने कुराहरूले फरक दायराभित्र कैद गरिदिएका छन्, महिलाहरूलाई। ती जड मान्यताका आधारमा उनीहरू सीमित घेराभित्र मात्र रहिरहून् भन्ने नै मुख्य ध्याउन्न हो, पितृसत्तात्मक समाजको। लामो कपालको स्याहार होस् या उनीहरूले पहिरिने कपडा, जसले महिलालाई छिटोछरितो हुनुलाई बाधा पार्छ नै। तर पनि नेपाली महिलाहरू सामेल छन्, पुरुषहरूका साथ एउटै गन्तव्यको दौडमा। सजिलो होला त यो दौड ?
लामो समयदेखि मान्दै आएका र गतिलो जरा गाडेर बसेका सांस्कृतिक सामाजिक मान्यताहरूबाट रातारात बाहिर निस्कन सम्भव छैन। त्यसैको परिणति शिक्षित र बुझेका आमाहरू नै बन्देज लगाउन थाल्छन्, बढ्दै गरेका छोरीहरूको स्वतन्त्रतामा। छोराहरू फुक्काफाल दौडिन छुट भए पनि छोरी घर पस्ने समयको निगरानीमा रहन्छ, परिवार। उनीहरू चाहन्छन् कि बढ्दै गरेकी छोरीमा सामाजिक मान्यता अनुरूपमा गुणहरू विकास होऊन्। यसै सन्दर्भमा लेस्वियन फेमिनिस्ट शिला जेफ्रिस भन्छिन्, ‘स्त्रीजन्य गुण भनेर जो बुझिन्छ, त्यो केवल सामाजिक निर्माण मात्र हैनन्, बरु ती त तल्लो दर्जाको समूहको गुणका रूपमा गरिएको राजनीतिक निर्माण हो’ (ब्युटी एन्ड मिसोजिनी)।
र, यहीँनेर छ चुरो कुरो। महिला दोस्रो दर्जा या पुरुषभन्दा तल्लो दर्जाको हो भन्ने छ पितृसत्तात्मक जडताभित्र। त्यसैको बलमा पहिलो दर्जा उर्फ पुरुषले दोस्रो दर्जा उर्फ महिलाका गुणहरू निर्धारित गरेका छन्। शक्तिशालीले शक्तिहीनमाथि थोपरेका मान्यताका कारण पनि परिभाषित स्त्रीपना एक नितान्त राजनीतिक निर्माण हो। महिलाको शरीर र सौन्दर्यका कुरा शक्तिकेन्द्रमा आसीन पुरुषको रुचि र आवश्यकताअनुसार निर्माण भएको छ। हो, त्यसैको निरन्तरता हो— हामीभित्र रोपिएको लामो कपालको सौन्दर्य चेतना।
ब्युटी एन्ड बजार
त्यो निकै अघिको कुरो थियो, जब पितृसत्ताले महिलाको शरीर र सौन्दर्यमाथि नित्रन्त्रण कायम गर्यो। उही मान्यता धेरै समय चलिरह्यो र अहिले पनि चलेकै छ केही हदसम्म। तर, अब समय केही कदम अघि बढेको छ। आज सुन्दरताको मानक निर्माण गरिरहेको छ बजार। बजार अर्थात् नाफा। बजारले खेलिरहेको छ नाफाको खेल र निर्माण गरिदिएको छ, सुन्दरताको मापदण्ड। त्यही बजार निर्मित निश्चित सुन्दरताको दायरामा आफूलाई सामेल गर्ने महादौडमा छ, उत्तरआधुनिक मानवजगत्।
महिलाको शरीर र सौन्दर्यका कुरा शक्तिकेन्द्रमा आसीन पुरुषको रुचि र आवश्यकताअनुसार निर्माण भएको छ। हो, त्यसैको निरन्तरता हो— हामीभित्र रोपिएको लामो कपालको सौन्दर्य चेतना।
महिलाहरूलाई एकदमै पर्फेक्ट र स्त्री गुणले भरिपूर्ण देखिनुपर्ने दबाब छ, यतिखेर। आमसञ्चार माध्यमबाट त्यो पर्फेक्ट महिला र फेमिनिटीको विम्ब प्रत्येकको मनमस्तिष्कमा भरिन्छ। फेमिनिस्ट लेखक सुसन बोर्डो स्वीकार्छिन् कि त्यही इमेजले गाइड गर्छ शरीरको साइजदेखि पहिरन, बोलीचाली र अनुहारको भावभंगिमासमेत। सञ्चारको सनसनीपछि काम गर्छ, अब व्यावसायिक नाफाखोर कम्पनीका कस्मेटिक उत्पादनले। पर्फेक्ट अनुहार र ज्यानका लागि तयार भएका सामानहरूको मारामार बिक्री सुरु हुन्छ।
अनुहारको गोरोपना र लामो सिल्की कपाल नै मानक सुन्दरता बनिसकेको छ, विश्वमा। यहीँनेर प्रश्न तेर्सिन्छ, के पश्चिमी जगत्ले देखाएको अनुहारको रंग र कपालको रेशमीपना मात्रै सुन्दर हो त ? अनि अफ्रिकी रंग र उनीहरूको घुम्रिएको कपालचाहिँ...?
गोराको मापदण्डमा परेको सौन्दर्यका सर्तका कारण कालाहरू तल्लो दर्जामा दर्ज भएका छन् फेरि एकपटक। दासत्व र रंगभेदको लामो शोषणको कथा छ एकातिर भने फेरि बजारले निर्धारण गरिदिएको सुन्दरताको मानकले उमारिदिएको छ, महासकस। बाध्य छन्, प्रयोग गर्न ती कस्मेटिक उत्पादन र सामेल गर्न आफूलाई सुन्दरहरूको समूहमा। यसरी नै निर्माण गर्ने रहेछ सत्य, शक्तिकेन्द्रहरूले। अबको शक्ति भन्नु बजार र विज्ञापन भएको छ।
नेपाली समाजका आफ्नै केही विशेषता भए पनि अछूत छैन, ग्लोबलाइज्ड मानक सौन्दर्यबाट। लामो कपाल, सुस्त चाल, मधुरो मीठो बोली र घरेलु स्वभाव नेपाली महिलाका लागि पितृसत्तात्मक समाजले बोकाइदिएको मान्यता थियो। आज त्यसैमाथि केही अन्य कुरा पनि थपिदिएको छ बजारले। लामो तर स्ट्रेट कपाल, ठूला आँखा अनि स्लिमट्रिम ज्यान। अब चिम्सा आँखा भएका मंगोलियन बालाहरूको व्यस्तता बढ्दो छ, कस्मेटिक सर्जरीबाट आँखाको मुन्द्री मिलाउन। युवतीहरू कपालमा अनेक केमिकल लाएर स्ट्रेट पार्न धाउन थालेका छन्, ब्युटी पार्लरहरू। तर, विज्ञापनले त मात्र देखाइदिन्छ सुन्दर पाटो। लुकाइदिन्छ अन्य असरहरू। तर, के फिक्री। बिग्रेको कपालका लागि बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गर्छ स्याम्पु र हेयर ट्रिटमेन्ट क्रिम। पठाउँछ, आकर्षक विज्ञापनसहित बजारमा। र, यसरी पुँजीवादका नयाँ हातहरूले सोहोर्छन् अकुत नाफा।
सुन्दरताको मोहजालमा फँसेका मान्ठाहरू बेखबर छन्, साम्राज्यवादी पुँजीवादको महाजञ्जालबारे। उनीहरू बस् मक्खिएका छन्, एकैछिनको कस्मेटिक सुन्दरतामा। लिपोप्लास्टीदेखि लिबियाप्लास्टी र लिपस्टिकदेखि ह्वाइटनिङ क्रिमसम्मले हामीभित्र सुन्दरताको जब्बर मान्यता स्थापित गर्दिसकेको छ।
कपालकै कुरा
जेन्डर एक्सपर्ट प्रोफेसर रोज वेजका अनुसार महिलाले रंगाएको कपालको रङ, स्टाइल र लम्बाइले पनि धेरै कुरा संकेत गर्छ। पश्चिमी समाजमा व्यावसायिक, स्मार्ट र कामप्रतिको लगनशीलता झल्काउन छोटो कपाल रुचाउँछन्, महिलाहरू। कतिपय कपालले भने राजनीतिक, सांस्कृतिक मूल्य बोकेको हुन्छ। अफ्रिकन महिलाको ड्रेडलक पोलिटिकल स्टेटमेन्ट पनि हो। अमेरिकी समाजमा सीमान्तकृत आफ्नो अस्तित्वका साथै आफ्नो संस्कृतिप्रतिको गर्वानुभूतिको विम्ब पनि हो, उनीहरूको ड्रेडलक।
हाम्रो समाजको कुरा बेग्लै छ। अलि डबल स्ट्यान्डर्ड। सानो भइन्जेल आमाबा निकै उदार देखिन्छन्, छोरीको कपाल काटछाँटका लागि। जसै उमेर बढ्दै जान्छ, तब हाम्रा सामाजिक मान्यताभित्रको सौन्दर्य चेतनाको दबाब पर्दै जान्छ, उनीमाथि। बानीव्यवहारदेखि कपाल, लुगा सबैमा निगरानी सुरु हुन्छ। कलेज दौडँदासम्म जे जसो भए पनि पढाइ सकिएर घरजमको बेला भएपछि त कपाल एक महत्वपूर्ण कुरा भइजान्छ। सुहाउँदिलो लामो कपाल र सोकल्ड असल बानीबेहोरा छोरीका लागि पहिलो सर्त। नत्र त छोरीको घरजम नहोला भन्ने महापीर।
अनेक अनेक छन् महिलाका लागि बनाइएका नियम कायदा। छिचोली नसक्नुको सास्ती। यस्ता लगामहरूले बाक्लिएको बेला सम्झन्छु कथाकार माया ठकुरी। अघिल्लो पुस्ताकी दिदीलाई सधैं देख्छु बोयज कटमा। लाग्छ, उनले त भत्काएकै हो हाम्रो समाजको सौन्दर्य मान्यता।
फेरि एकपटक ऐनामा नियाल्छु मेरो छोट्टिएको कपाल। थाहा छ, अझै केही दिन खासखुस हुनेछ सहरमा।
तर नेभर माइन्ड।