जन्मजयन्ती कि स्मृति दिवस ?

जन्मजयन्ती कि स्मृति दिवस ?

मान्छे अदालतमा चलिरहेको मुद्दा हो

जसको फैसला घाटमा पुगेपछि हुन्छ

रूपचन्द्र विष्ट

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले बिदा दिने र बिदा रोक्ने क्रम जारी छ। माक्र्सवादी साहित्यकार मोदनाथ प्रश्रितदेखि पूर्व र आधुनिक पञ्चहरूको एउटा ठूलो हिस्साले उनको जन्मजयन्ती महोत्सवका रूपमा मनाउनुपर्ने माग गर्दै आएका छन्। ती सिंहदरबारअगाडि उनको सालिकमा बर्सेनि भक्तिपूर्वक फूलमाला चढाउँछन्। यता अर्को पक्ष भने सधैं विरोधमा खनिन्छ। यो विवाद अखबारमा बिकाउ सामग्री बन्छ। आखिर जन्मोत्सवमा के छ ?

जन्मदिन मनाउनु आधुनिक पुँजीवादी जीवनको अभिन्न पाटो भइसकेको छ। यस अवसरमा उपहार र शुभकामना दिने अनि सम्बन्धित व्यक्तिले गच्छेअनुसार उत्सव आयोजना गर्ने चलन छ। पुरातनवादीहरूचाहिँ आफ्नो भन्दा राजा, महाराजा र ‘प्रभु’को जन्मजयन्ती धूमधाम मनाउनमै गर्व गर्छन्। कहाँसम्म भने भाग्यवादका विरोधी र भौतिकवादका समर्थक कम्युनिस्टहरूसमेत जन्मदिनलाई महान् उत्सवका रूपमा मनाउनमा कम छैनन्।

फरक मत

मान्छे भएर जन्मन पाउनु आफैंमा ठूलो सुखद संयोग हो। यस दृष्टिले बाहेक जन्मैले कोही महान् वा निकृष्ट हुँदैन। जन्मँदा चेतनाका हिसाबले चौपाया र मान्छेबीच खासै भिन्नता हुँदैन। चौपायाले त कम्तीमा वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। मान्छेले उल्टै मानवताविरुद्ध काम गरेका कैयन् उदाहरण छन्। हिटलरले जातीय घृणा फैलाउँदै यहुदीहरूको आमसंहार गरे। मान्छे भएर जन्मनु नै महान् कार्य हुँदो हो त हिटलरबाट कसरी यति घृणित काम भयो ? जन्मैले कोही महान् वा निकृष्ट हुँदैन, त्यो त चेतना, विचार र कर्मले हुन्छ भनेको यही हो।

जन्मोत्सव मनाउनु विचार, चेतना वा कामभन्दा जन्मलाई महान् ठान्ने भाग्यवादी चिन्तनको उपज हो। यस्तो भाग्य राजतन्त्र र राणाकालमा राजा र राणाका छोराछोरीलाई प्राप्त हुन्थ्यो। ती गर्भैमा युवराजाधिराज, राजकुमार, राजकुमारी, जर्नेल, कर्नेल घोषित हुन्थे।

महान् मानवतावादी दार्शनिक गौतम बुद्ध जन्मँदा युवराजाधिराज सिद्धार्थभन्दा बढी केही थिएनन्। मान्छेको दुःख हरणको उपाय खोज्न उनी दरबारको सुख छाडेर जंगल छिरे। नभन्दै उनले त्यो महान् ज्ञान प्राप्त गरे। त्यसलाई फैलाउन प्रवचन दिँदै हिँडे। दुःख हरणको त्यो चेतना नआएको भए महान् बुद्ध सुखभोगी युवराज सिद्धार्थभन्दा बढी के हुन्थे र !

दक्षिण अफ्रिकामा जातीय भेदको रनाहा नभोग्दासम्म भारतीय नागरिक मोहनदास करमचन्द्र गान्धी वकालत पढ्दै गरेका सामान्य विद्यार्थीमात्र थिए। जन्मैले त्यतिखेरसम्म उनी के थिए र ! त्यही चोटले उनलाई जातिभेदविरोधी, न्यायप्रेमी र सत्याग्रही बनायो। हिन्दु धर्ममा चरम आस्था राखेरै पनि उनी भारतका दलितहरूका आत्मीय मित्र भए। बल्ल उनको महान् इच्छाशक्ति देखेर नोबेल विजेता कवि रवीन्द्रनाथ ठाकुरले महात्मा गान्धी नाम दिए। त्यही नामले उनी संसारप्रसिद्ध भए। न्याय, स्वतन्त्रता र सत्यप्रेमले उनलाई अहिंसात्मक आन्दोलन गर्न प्रेरित गरे। त्यसले संसारकै सबैभन्दा ठूलो साम्राज्य बेलायतलाई भारत छाड्न बाध्य पा¥यो। जन्मैले मान्छे महान् हुने भए गान्धीले यस्तो महान् काम गर्नैपर्ने थिएन।

झाँसीकी रानी महान् वीरांगना लक्ष्मीबाई जन्मले बिठुर नरेशको दासकी छोरी थिइन्। दास मोरोपन्तकी छोरी दासी मणिकर्णिका। जन्मैले उनी यति त थिइन् ! न्याय, मानवताप्रेम र देशभक्तिपूर्ण लडाइँका कारण उनी महान् भइन्। भारतमा इस्ट इन्डिया कम्पनीको दबदबा चलिरहेका बेला १३ वर्षे उमेरमा झाँसीका राजा बालगंगाधर नेवालकरसँग बिहे गरेपछि उनको नाम लक्ष्मीबाई राखियो। राजकुमार दामोदरको निधनको चोटले चाँडै नै राजाको मृत्यु भयो। १८ वर्षे जोवनमै रानी विधवा भइन्। इस्ट इन्डिया कम्पनीले राज्य छाड्न दबाब दियो। आफ्नो देशमा परदेशीको आधिपत्य उनलाई स्वीकार्य भएन।

बेलायती साम्राज्यविरोधी युद्धमा जनता लक्ष्मीबाईका पक्षमा हाँसीहाँसी मर्न तयार भए। उनी बिलासी रानी थिइनन्। साँचो अर्थमा उनी सारा प्रजाकी ममतामयी आमा थिइन्। युद्धको नेतृत्व उनी स्वयंले गरेकी थिइन्। घातप्रतिघातबीच युद्धका क्रममा बारम्बार उनले झाँसी दरबार गुमाइन् र बारम्बार युद्ध जितेर फिर्ता लिइन्। आफन्तकै विश्वासघातका कारण उनका महान् योद्धा समरसिंह, कर्मा, प्रधानमन्त्री नरसिंह राव, तोपची घोस खान, पिता मोरोपन्त, सेनाप्रमुख दिवान रघुनाथ, महिला सेना अगुवा काशीबाईलगायत मारिए। स्वाधीनताका लागि अन्तिम साससम्म उनी लडिरहिन्। अन्ततः १८५७ जुन १७ मा २२ वर्षको रहरलाग्दो उमेरमा भारत स्वतन्त्रता आन्दोलनकी महान् नायिका स्वयं सहिद भइन्। जन्मले दासी मणिकर्णिका त्यसै महान् वीरांगाना लक्ष्मीबाई भएकी हुन् र ?

पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले बिदा दिने र बिदा रोक्ने क्रम जारी छ। माक्र्सवादी, पूर्व र आधुनिक पञ्चको ठूलो हिस्साले उनको जन्मजयन्ती महोत्सवका रूपमा मनाउनुपर्ने माग गर्दै आएका छन्। अर्को पक्ष सधैं विरोधमा खनिन्छ। यो विवाद अखबारमा बिकाउ सामग्री बन्छ। आखिर जन्मोत्सवमा के छ ?

जन्मले होइन, चेतना र कर्मले महान् भएका उदाहरण संसारमा अनेक छन्। कार्ल माक्र्स यहुदीका सन्तान भएर जन्मेकाले होइन, अनुपम खोज र दर्शनले महान् भए। राजा, महाराजा, महासामन्त र कुलीन नेताले मात्र राज्यसत्ता चलाइरहेको युगमा लेनिनले संसारमै पहिलो चोटि रुसमा पसिना बहाएर काम गर्ने श्रमिक वर्गलाई राज्यसत्ता सुम्पने क्रान्तिको नेतृत्व गरे। त्यसैले सन् १९१७ को अक्टोबर क्रान्तिलाई मानव इतिहासकै अनुपम घटना मानिन्छ। क्रान्तिको नेतृत्व र माक्र्सवादको सिर्जनशील प्रयोगमा अवदान गरेकैले उनी महान् भए। नत्र जन्मँदा त उनी सामान्य रुसी नागरिकका सन्तानभन्दा बढी के थिए र ?

दासप्रथाविरोधी चेतनाकै कारण गरिबका छोरा अब्राहम लिंकन अमेरिकाका राष्ट्रपतिसम्म भए। उत्पीडित काला जातिका मार्टिन लुथर किङ सत्याग्रही संघर्षका कारण नोबेल शान्ति पुरस्कार विजेता भए। अन्ततः त्यही युद्धका क्रममा सहिद भए। संघर्षकै कारण एक गरिब दलितका छोरा भीमराव अम्बेडकर भारतको संविधानका पिता भए। गर्भमै जर्नेल घोषित चन्द्रशमशेर, जुद्धशमशेरले भने कैयन् न्यायप्रेमी योद्धाको हत्या गरे। जन्मले होइन, कर्मले पो मान्छे महान् वा निकृष्ट हुने रहेछ।

रूपचन्द्रको आँट

जन्मोत्सवको शाही शैलीबारे ‘थाहा’ आन्दोलनका प्रवर्तक स्व. रूपचन्द्र विष्टको विचार खुबै रोचक छ। पञ्चायतकालमा राजाको जन्मोत्सव मनाउन मूल समारोह समिति बन्थ्यो। समितिमा राष्ट्रिय पञ्चायत सदस्य पदेन सदस्य हुन्थ्यो। जनपक्षीय रापस विष्ट २०३८ सालमा मूल समारोह समितिका पदेन सदस्य भएको समाचार आयो। उनी मकवानपुरमा थिए। विष्टका सहयोगी रामनारायण बिँडारीका अनुसार जिल्ला पञ्चायतले उनलाई वक्ताका रूपमा निम्ता पठायो। उनी गएनन्। मञ्चबाटै पञ्चहरूले उनलाई कारबाहीको माग गरे। राजाप्रति अनास्था जनाएको भनी पञ्चायत नीति तथा जाँचबुझ समितिले कारबाहीको प्रस्ताव राष्ट्रिय पञ्चायत अध्यक्षसम्म पुग्यो। उनले राष्ट्रिय पञ्चायतमा बोले, ‘मैले आजसम्म आफ्नो जन्मोत्सव मनाएको छैन। अरूको जन्मलाई पनि म उत्सव मान्दिनँ। मान्छे अदालतमा चलिरहेको मुद्दा हो। यसको फैसला चिहानमा पुगेपछि हुन्छ। मान्छे, भगवान्, नेता, गुरु जोकोहीको जन्मको होइन; उसको महान् कामको पूजा र निकृष्ट कामको निन्दा हुनुपर्छ।’

पञ्चायत जाँचबुझ समितिले रानी ऐश्वर्याको जन्मोत्सवमा पनि शुभकामना माग गरेर उनलाई पत्र पठाएछ। यो २०४१ सालको कुरा थियो। पत्रमा उनले लेखिदिए, ‘ऐराल (ऐश्वर्या राज्यलक्ष्मी) ठूली आइमाई हुन् किनकि उनले राजा वीरेन्द्रसँग बिहे गरिन्।’ पछि यसबारे बिँडारीलाई उनले भनेछन्, ‘सामन्ती संस्कारमा ठूलाबडा कसलाई भनिन्छ र कसरी भइन्छ भन्ने व्यंग्य गरेर मैले यस्तो लेखेको हुँ। मण्डलेले उनलाई बोकी हिँड्नुको कारण पनि राजासँग उनको बिहे हुनुमात्र हो।’

स्थापित चिन्तनविरुद्ध

कार्ल माक्र्स भन्छन्, ‘कुनै पनि समाजको चिन्तन त्यहाँको शासक वर्गले स्थापित गरेको चिन्तन हो। त्यसलाई उल्टाउने प्रयास नै क्रान्तिकारी कार्यको सुरुआत हो।’

हाम्रो समाज विचारको ठूलै शत्रु छ। उसलाई त चलिआएका पुराना मान्यता, चाहे ती कामै नलाग्ने किन नहोस्, नै प्रिय छ। त्यसमाथिको सन्देह उसलाई सह्य हुँदैन। उसलाई कुनै समय हाम्रा पुर्खाले अन्धविश्वासपूर्वक चलाइदिएका बलिप्रथा वा यस्तै अरू मान्यता प्रिय लाग्छ। उसलाई राँगा, बोका, खसी, कुखुरा, हाँस, थुमा, परेवाको बलि दिनु र क्रूरताको हद नाघ्ने पञ्चबलि प्रथा स्वाभाविक र जरुरी लाग्छ किनभने यो उसका पुर्खाले युगौंदेखि चलाएको संस्कृति हो। अनि कतिपय जनजातिको संस्कृतिमा अनिवार्य मानिने गाईको बलि शब्द सुन्दै उसको कन्सिरी तात्छ। जब कि संस्कृतिका नाममा दुवै तर्फकाले अपनाई आएका यी प्रथा मानव जातिका लागि सर्वथा निन्दनीय र त्याज्य कुरा हुन्। संस्कृतिका नाममा भएका विकृति सबै त्याज्य छन्। परम्पराको दुहाई दिने हो भने कतिपय समुदायको परम्परा र संस्कृति नै नरबलि दिने छ। यही संस्कृतिका नाममा कतिपय बालकको बलि दिएका नृशंस घटनाहरू सार्वजनिक भइरहेका पनि छन्। त्यसो भए त्यसलाई पनि स्वीकृति दिने त ?

हो, माक्र्सले भनेजस्तै समाजको पुरातन चिन्तन उल्ट्याउनु नै क्रान्तिकारी कामको सुरुआत हो। कम्युनिस्टहरू अनि मेरा अग्रज चिन्तकहरूले माक्र्स, लेनिन, माओ वा पुष्पलाल श्रेष्ठ र बीपीको जन्मजयन्ती मनाए भन्दैमा हामीले कसैको जन्मदिनलाई उत्सव मान्नु जरुरी छैन। हामीले त हरेक कुरामा, कहाँसम्म भने आफ्नै ब्रह्ममाथि पनि सन्देह अर्थात् पुनः परीक्षण गर्नु जरुरी छ।

जन्मदिनको शुभकामना

भौतिकवादी कम्युनिस्ट, पहिचानवादी कवि, भाग्यवादविरोधी चिन्तक सबैसबै जन्मोत्सवमा रमाइरहेका भेटिन्छन्। ती सबै आफ्नो जन्मदिनको सूचना सार्वजनिक गरिरहेका हुन्छन् वा आफ्नी पत्नी, पति, छोराछोरी, नाति, नातिनी, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड, आफन्त र साथीभाइको जन्मदिनमा फेसबुकमा तिनका तस्बिर टाँसेर शुभकामनाका शब्द पोखिरहेका हुन्छन्। हाम्रा कतिपय अनुदार कविहरू पनि यस्तो अवसरमा थोरै भए पनि उदार देखिन्छन्। यो देख्दा एक खालको खुसीले म तरंगित हुन्छु।

जुनसुकै अवसरमा होस्, अरूप्रति शुभ चिताउनु राम्रो कुरा हो। तर, तिनले थाहा पाइरहेका हुँदैनन्, यस्तो कार्य पौरखवादी चिन्तनले होइन, भाग्यवादी चिन्तनले प्रेरित छ भन्ने कुरा। जब हाम्रो जीवनशैली नै गलत चिन्तनले प्रेरित हुन्छ, सारा गल्तीहरूको सुरुआत त्यहीँबाट हुन्छ। अनि, जानी नजानी हामी पौरखलाई होइन, भाग्यलाई नै महिमामण्डित गरिरहेका हुन्छौं। त्यसैले फेसबुकबाट मैले आफ्नो जन्ममिति हटाइदिएको छु। मेरो जन्मदिन सामान्यतया मैले पत्तै नपाई गइसकेको हुन्छ।

बरु स्मृति दिवस

सिद्धार्थ गौतमको जन्मदिनभन्दा उनले गयामा ज्ञान प्राप्त गरेर बुद्ध बनेको दिन, सारनाथमा धर्मचक्र प्रवर्तन गरेको अर्थात् पहिलोपल्ट अरूलाई ज्ञान बाँडेको दिन र कुशीनगरमा सद्धर्मको प्रवचन दिँदादिँदै महापरिनिर्वाण अर्थात् मृत्यु भएको दिन उनको मूल्यांकन गर्ने सबैभन्दा महत्वपूर्ण अवसरहरू हुन्। संयोगवश उनको जन्म, बुद्धत्व प्राप्त दिन र महापरिनिर्वाण प्राप्त दिन वैशाख पूर्णिमामै पर्छ। बुद्धत्व प्राप्त दिन र महापरिनिर्वाणलाई भुसुक्कै बिर्सेर बुद्धजयन्ती मनाउने चलन छ। खट्कँदो के छ भने जन्मँदा बुद्ध भइनसकेका सिद्धार्थको जन्मदिनलाई बुद्धजयन्ती भनेर मनाइन्छ। ३५ वर्ष हुँदा बल्ल उनलाई बुद्धत्व प्राप्त भएको थियो। बरु त्यस दिनलाई बुद्धत्व दिवस भनेर मनाउनु पो बुद्धिमानी हुन्छ।

संयुक्त राष्ट्रसंघले महात्मा गान्धीको जन्मदिन अक्टोबर २ लाई शान्ति दिवसका रूपमा मनाउन थालेको छ। गान्धीले दक्षिण अफ्रिकामा, भारतमा सत्याग्रह थालेको दिन, भारतबाट बेलायतलाई हट्न बाध्य पारेको दिन वा साम्प्रदायिक सहिष्णुताका लागि सत्याग्रह गर्दागर्दै मारिएको दिन पो महत्वपूर्ण हुन्। त्यस्तै बीपी, गणेशमान, पुष्पलालको जन्मदिनभन्दा उनीहरूले आन्दोलनमा सफलता पाएको दिन महत्वपूर्ण हो। सारमा भन्दा, उपभोगवादी युगमा सर्वव्यापी भएको जन्मोत्सव संस्कारले सामन्ती संस्कारलाई बचाइराख्ने भाग्यवादकै प्रवद्र्धन गर्छ। यो काम सहरी परिवेशमा हुर्केका र सहरको हावाले छोएका धेरैले जानी नजानी गरिरहेका छन्।

माघ १६ गते देशका महान् चार सहिदको सहादतको साझा स्मृतिमा सहिद दिवस मनाइन्छ। बरु योचाहिँ सार्थक दिवस हो। 

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.