गोक्यो टाइमलाइन (फोटो)
विश्वले महिमा गान गाएर कहिल्यै नथाक्ने त्यस्तो भौगोलिक चिज केही छ भने त्यो एभरेस्ट नै हो। एभरेस्ट अर्थात् सगरमाथा। सगर छुँलाछुँलाझैँ पृथ्वीका तमाम टाकुरालाई हाँक दिएर उभिएको यो हिमशिखरलाई जति चुमे पनि या घुमे पनि धीत मर्दैन। र, त कामीरिता शेर्पाहरूले २२औं पटक यसको निधारमा चुम्बन गरे होलान् !
हो, यस्तै लाग्छ मलाई– सगरमाथा क्षेत्रको भ्रमण। जतिपटक घुमे पनि नअघाइने। पटकपटक पदयात्रा गरेको मलाई यस क्षेत्रका हिमचुचुराहरू मात्र होइन, तालतलैयाले समेत उत्तिकै हुरुक्क बनाउँछन्। अझ यहाँका आफ्नै संस्कृतिको पैरवी गरेर युगौंदेखि बसिआएका बस्ती र चारैतिरको मनोरम प्राकृतिक वातावरणले जहिल्यै मोहित बनाउँछ। हरेक सुन्दर वस्तुको कल्पना गरेभन्दा पनि मोहित।
सगरमाथा क्षेत्र साँच्ची नै सौम्य, सुन्दर लाग्छ। यसको सौम्य सुन्दरतापान गर्नकै लागि बर्सेनि हजारौं पर्यटक संसारका कुनाकुनाबाट आइपुग्छन्। हामी जब काठमाडौंबाट उडेर लुक्लाकोे धरातलसँग साक्षात्कार हुन्छौं, त्यहाँ उपस्थित पर्यटकको भीड देखेर छक्कै पर्छौं। मन अनेकौं उन्माद, उत्सुकता र नौलो अनुभूतिले भरिन्छ।
०००
लुक्लाबाट अगाडि बढ्नासाथ बाटोमा पर्यटक, पथप्रदर्शक, भरिया, चौरी तथा खच्चडका विशाल बथान भेटिन्छन्। बाटो पन्छाएर हिँड्नै मुस्किल पर्छ। तर, तीसँगको आत्मीय भाव भने यात्राभरि भई नै रहन्छ।
विश्वमा एभरेस्ट रुट यति प्रख्यात छ कि यहाँको चर्चा नगरी विश्वका नामी ट्राभल मिडिया र अनलाइन साइट पूर्ण हुँदैनन्। हरेक वर्षजसो खुम्बु क्षेत्र विश्वका उत्कृष्ट दस घुम्नैपर्ने स्थानको सूचीमा पर्न छुटेको हुँदैन।
लुक्ला बजारदेखि नै बाटोवरपर रंगीबिरंगी लुङ्ता फरफराइरहेका भेटिन्छन्। त्यसले यात्राको भय पालेर हिँडेका पर्यटकलाई शीतलता र नौलो शान्तिको अनुभूति प्रदान गर्छ। अग्लाअग्ला पहाडका ककेराबीच हुँदै बगेको स्वच्छ दूधकोसीको के वर्णन गरी साध्य छ र ? नदीको प्रवाहमय वेगले मनलाई उस्तै गतिमय बनाउँछ। हेरेरै पर्यटक मुग्ध हुन्छन्।
जता जाऊँ उतैको बाटोघाटो पर्यटकका लावालस्करले छ्यापिएको जस्तो लाग्छ। त्यसैले एभरेस्ट क्षेत्र घुम्न चाहने एकल पदयात्रीलाई पनि बाटो बिराउने दुविधा हुँदैन। नाम्चे पुगेपछि त अहा ! जहाँतहीँ हिमालैहिमाल, श्वेत पछ्यौरा ओढेर हाम्रै शान्तिको कामना गरी बसिरहेका झैं लाग्छन्।
आरोहीहरूका लागि यहीँबाट त हो चुनौती र रोमाञ्चकताको यात्रा सुरु हुने। सक्नेले चुचुरोमाथि विजयको झन्डा फहराउँछन्, नसक्नले वरिपरिका ससाना टाकुरा र हिमशृंखलाको दृश्यपान गरेरै चुचुरोमा टेकेको कल्पना गर्छन्। प्रकृतिको वर्णन शब्दको सीमाले गर्न सकिँदैन। तर, मानव आँखाले यी सब हेरेर तृप्त हुन पनि सकिँदैन !
०००
नाम्चे बजारलाई पछाडि छाडेर सुस्तरी अगाडि बढ्दै जाँदा यात्रा झनै रोमाञ्चक बन्दै जान्छ। प्रकृतिको स्वच्छन्दता र विशालताले हरेकको मन पुलकित हुन्छ, शिर विनयशील भई निहुरिन्छ। बाटो अनेक उकालीओरालीयुक्त आवृत्तिमा बाटिएर गएको डोरीजस्तो लाग्छ। थकानको पराकाष्टाले ‘सुइँसुइँ’ सुुुसेली बजेको आफैंलाई अनौठो लाग्न थाल्छ।
राज्यको उदासीनता नै भन्नुपर्छ, सडक सञ्जालले अझै छुन सकेको छैन यहाँ। यस रुटमा निर्माण गरिएका ठूलठूला गुम्बा, छोर्तेन तथा होटेलहरू देख्दा भने सम्पन्नतामा कुनै कमी नभएको जस्तो लाग्छ। यो शान्तिपूर्ण भव्यताका लागि यहाँका पौरखी र संघर्षशील मानिसलाई सलाम ठोक्न मन लाग्छ।
नाम्चेबाट गोक्यो लेक (४,९९० मिटर) पुग्न तीन दिनको पैदलयात्रा गर्नुपर्ने हुन्छ। पहिलो दिन मोङ्ला डाँडाको बास हुन्छ, दोस्रो दिन मर्छेमुको। तेस्रो दिन जब गोक्यो ताल पुगिन्छ, यसको बैंशालु छाल हेरेर मन ढलपलढलपल हुन थाल्छ। गोक्यो तालबाट अझ मनोरम शृंखला हेर्न पाइन्छ। युगौंदेखि थुचुक्क बसेर तपस्यारत ती अनौठा थुम्काथुम्की हेरेर अझ आह्लादित हुन्छ मन।
गोक्यो ताल किनारामा अहिले दर्जनौं होटेल खुलेका छन्। तिनले पनि यहाँको मौलिकतामा सौन्दर्य थपेका छन्। बाटो आसपास होटेलहरूको पर्याप्त उपलब्धता भेटिन्छ, जसले गर्दा यस रुटको पदयात्रामा बास नपाइने हो कि भन्ने सन्त्रास मनमा पस्नै पाउँदैन। टेन्ट या क्याम्पसाइडमा बस्नुपर्ने झन्झट पनि बेहोर्नु पर्दैन।
०००
गोक्यो तालमै तपाईंको गन्तव्य नटुंगिन सक्छ। किनकि यहाँ पुगेपछि अर्को पुग्नैपर्ने ठाउँ हो रेन्जोला पास र तालमाथिको हिमाली थुम्को– गोक्यो–री। पाँच हजार ४५ मिटर उचाइमा पर्ने यस क्षेत्रबाट सगरमाथा, लोत्से, कञ्चनजंघा, मकालु, चोयुलगायतका दर्जनभन्दा बढी हिमचुचुराको दृश्यावलोकन गर्न सकिन्छ।
क्यामेरा साथमा छ भने त के चाहियो र ? ती अतुलनीय सौन्दर्यका थुम्काहरू यति नजिकैबाट आफ्ना फ्रेममा संग्रह गर्न पाउँदा मन निकै पुलकित हुन्छ। आखिर जाने होइन त गोक्यो ताल ?