रिमरिमे सम्झना विमोचित
काठमाडौं : प्राध्यापक पीताम्बर दाहालको पुस्तक मेरो मिरिमे सम्झना विमोचन गरिएको छ । आफ्नो जीवनको पृष्ठभूमिमा नेपाली कांग्रेसको इतिहास समेटिएको पुस्तक राजनीतिक दर्शनमा आधारित छ । राजनीति, जीवन, शिक्षा र समाजका विभिन्न आयामसमेटिएको यो पुस्तक विभिन्न एक सय सातवटा शीर्षकमा विभाजन गरी तयार पारिएको छ । पुस्तक ६ सय पृष्ठको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा लेखक पीताम्बर दाहालले पुस्तकमा नेपाली कांग्रेसको दर्शनलाई छर्लङग पार्ने प्रयास गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र अर्जुन नरसिंह केसी, परराष्ट्र विद् हिरन्यलाल श्रेष्ठ, गीतकार यादव खरेल, वरिष्ठ अधिवक्ता देवन्द्र नेपाली, मोहन तिमल्सिनालगायतले पुस्तकका बारेमा समीक्षा गरेका थिए ।
उनीहरूले पुस्तक समकालीन राजनीतिक र शिक्षाको मास्टर पीस भएको बताए । कार्यक्रमका वक्ताले भाषणले मात्र भन्दा यस्ता लिखित कृतिले नै समाज र राष्ट्रलाई केही योगदान गर्न सक्ने बताए । प्रजातन्त्र र विकासका लागि कलम चलाउन सके मात्र राष्ट्र समृद्धिको बाटोमा लैजान बल पुग्ने उनीहरूको भनाइ छ ।
यसैबीच, कार्यक्रममा भानुभक्त आयोध्यादेवी स्मृति पुरस्कार पनि वितरण गरियो । साहित्य र संगीतका क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कार यो वर्ष दिल्लीप्रसाद दाहाल र उमा गुरुङलाई प्रदान गरियो । यो पुरस्कार प्राध्यापक पीताम्बर दाहालले नै स्थापना गरेका हुन् ।