गाई बचाउ अभियानमा युवा

गाई बचाउ अभियानमा युवा

 काठमाडौं : ‘युवाले चाहे परिवर्तन सम्भव छ, सरकारलाई गुनासो होइन काम गरेर घच्घच्याउँछौं हामी । आशा छ, सरकारले उचित कदम चाल्नेछ ।’ शनिबार गाई बचाउ अभियानमा संलग्न युवा विद्यार्थी निसान परियारको भनाइ हो यो । सडकमा छाडिएका गाईवस्तुको संरक्षण गर्न सबै युवा सक्षम रहेको उनी बताउँछन् । जनावरबाट हुने सडक दुर्घटना कम गर्न शनिबार बिहान काठमाडौं इन्जिनियरिङ, सेन्ट जेभियर्स, सिल्भर माउन्टेन कलेज र जेभियर एकेडेमीका विद्यार्थी उक्त अभियानमा संलग्न भए ।

 विद्यार्थीले सडकमा भेटिएका गाईको गलामा रिफ्लेक्टिम फित्ता बाँधे । यसबाट राति सडक दुर्घटनाबाट ती गाई बच्न सक्छन् । करिब एक घण्टासम्म कालिमाटी, बल्खु, कलंकी र स्वयम्भूका सडक किनारमा अवस्थित ५५ छाडा गाई तथा बाच्छाको गलामा रिफ्लेक्टिभ फित्ता बाँधिएको थियो ।

ट्राफिक प्रहरी श्यामकुमार चौधरी गाईवस्तुकै कारण पनि सडक दुर्घटना हुने गरेको बताउँछन् । भन्छन्, ‘सडकमा गाईवस्तु हुँदा ट्राफिक व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ, कहिले सवारीचालक त कहिले गाईवस्तु आफैं घाइते हुन पुग्छन् ।’

स्वयम्भूकी स्थानीय पार्वती मगरका अनुसार गाईले दूध दिन छाडेपछि मानिसले सडकमा छाडेर जान्छन् । पार्वती भन्छिन्, ‘केही दिनअघि मोटरसाइकल दुर्घटनाबाट सानो बालक जोगाउने क्रममा सडकमा बसिरहेको गाई घाइते हुन पुग्यो ।’

पाँच वर्षदेखि भेटेनरीसम्बन्धी काम गर्दै आएका हर्क मगर कुकुरको उपचार गर्न जति सजिलो छ गाईवस्तुलाई कठिन हुने बताउँछन् । गाई बिरामी हुँदा भेटेनरीमै राखेर उपचार गर्न सम्भव छैन र गाई राख्ने ठाउँको पनि कमी छ । उनी भन्छन्, ‘ठाउँको व्यवस्थापन सरकारले गरिदिए गाई बचाउन सकिन्थ्यो ।’

देशभर करिब ८ हजार गाई तथा बाच्छाको निश्चित बसोबास छैन । उपत्यकाभरि सडक तथा पेटीमा छाडा गाई जताततै देख्न सकिन्छ । चौबिसै घण्टा गाडी गुड्ने व्यस्त सडकमा जनावर ओहोरदोहोर गर्दा थुप्रै दुर्घटना पनि भएका छन् । यसबाट जनावर र मानिस दुवै असुरक्षित बन्दै गएका छन् । विशेषतः यस्ता दुर्घटना राति अझै बढी हुन्छ । दुर्घटना कम गर्न ‘दी आर्ट अफ लिभिङ् फाउन्डेसन’ ले युवाको साथमा गाई बचाउ अभियान सुरु गरेको हो । फाउन्डेसनकी इन्टरनेसनल कर्पोरेट ट्रेनर निभा माथेमा प्रधानले जनावरको हकहित र संरक्षणका लागि जनचेतना जगाउन उक्त अभियान सञ्चालन गरिएको बताइन् । ‘दिनहुँ सडकपेटीमा देखिने गाईवस्तुलाई हामी त्यति ध्यान दिँदैनौँ तर यी जन्तुको सुरक्षा गर्नु हामी सबैको दायित्व हो,’ उनी भन्छिन् ।

युवाहरू संलग्न उक्त सामाजिक अभियानलाई साथ दिन ललितपुरकी उपमेयर गीता सत्याल पनि सहभागी थिइन् । उपमेयर सत्यालले सडकपेटीमा बस्ने जनावरका लागि महानगरले उचित वासस्थानको व्यवस्था गर्न नसकिरहेकामा दुःख व्यक्त गरिन् । ‘गाईवस्तुका लागि पहिले ‘कान्जी हाउस’ सञ्चालनमा थियो तर अहिले त्यो बन्द छ, अर्को कान्जी हाउस माहानगरमा बनाइहाल्ने सम्भावना पनि छैन,’ उनले भनिन् ।

काठमाडौंमा पहिलो पटक गाईको गलामा फित्ता बाँध्ने काम भएको हो । यसअघि भक्तपुरमा गाई तथा कुकुरलाई यस किसिमको संरक्षण दिने काम भइसकेको छ । दीर्घकालीन उपायबारे पनि आगामी दिनमा काम गर्दै जाने क्याम्पियन कोअर्डिनेटर नसना बज्राचार्य बताउँछिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.