डाक्टरी पढाउने योजना
पोखरा : पोखरा विश्वविद्यालयले स्कुल अफ मेडिसिनको स्थापना गरी मेडिकल कलेज र कक्षा नियमित सञ्चालन गर्न १ सय ५० शैड्ढयाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। विश्वविद्यालय मेडिकल कलेज सञ्चालन गर्ने योजनामा रहेपनि पर्याप्त जग्गाको अभावमा तत्काल अस्पताल सञ्चालनको तयारी गरेको हो। पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० खुदी ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयसँगैको २५ रोपनी खाली जग्गामा अस्पताल बनाउने प्रक्रिया अघि बढेको पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवीप्रसाद शर्माले जानकारी दिए।
विश्वविद्यालयसँग अस्पताल नहुँदा प्राक्टिकल कक्षाका लागि विद्यार्थीलार्ई मनिपाल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, चितवन बीपी क्यान्सर अस्पताल लगायतका अस्पतालमा पठाउनु पर्ने बाध्यता विश्वविद्यालयसँग छ। त्यसैले तत्कालै अस्पतालका लागि संरचना बनाउने तयारीमा विश्वविद्यालय लागेको पोखरा विश्वविद्यालयका रजिस्टार गोविन्दप्रसाद शर्माले बताए। विश्वविद्यालयले विभिन्न अस्पतालमा विद्यार्थीलाई प्राक्टिकल गर्न पठाउँदा एउटै विषयमा २५ लाखसम्म खर्च हुने गरेको छ। विश्वविद्यालयमा अध्ययनरत नर्सिङ, फार्मेसी, ल्याब लगायतका विषयमा अध्ययनरत बिद्यार्थी आफ्नै अस्पताल नहुँदा प्राक्टिकल कक्षाका लागि विभिन्न अस्पतालमा पठाउनु परेको हो।
मेडिकल काउन्सिलले पनि विश्वविद्यालयलाई मापदण्ड पूरा गर्न आफ्नै अस्पताल हुनुपर्ने भन्दै दबाब दिएपछि विश्वविद्यालय प्रशासनले जग्गा अभावकाबीच तत्कालै १ सयदेखि १ सय ५० शैड्ढयाको अस्पताल बनाउने प्रक्रिया अघि बढाएको रजिस्टार शर्माले सुनाए। यसका लागि विश्वविद्यालयले ५ करोड छुट्टयाएको शर्माले बताए। विश्वविद्यालयको असारमा बस्ने सभाले अस्पताल निर्माणको विषयमा थप योजना ल्याउने छ। तत्कालै विश्वविद्यालयको आडमा रहेको २५ रोपनी जग्गामा अस्पताल निर्माणका लागि इन्जिनियरिङ सर्भे भएको र सबै प्रक्रिया अघि बढाएर एक वर्ष भित्र अस्पतालको शिलान्यास गर्ने योजना विश्वविद्यालयको रहेको उनले सुनाए।
मेडिकल कलेज संचालन गर्न पर्याप्त जग्गा र ठूलो लगानी चाहिने भएकोले सरकारसँग जग्गाको माग गरिएको उनले बताए। तनहुँको खैरेनीटारमा रहेको १२ सय रोपनी क्षेत्रफलको गिरिजाप्रसाद स्वासप्रश्वास राष्ट्रिय केन्द्र मेडिकल कलेज सञ्चालनका लागि उपयुक्त हुने देखिएको छ। मेडिकल कलेज सञ्चालनका लागि ७ सय बढी बेड सञ्चालन गर्नुपर्ने हुन्छ। त्यसैले पूर्वाधार पनि त्यसै अनुसार बन्नाउन जग्गाको क्षेत्रफल धेरै चाहिएको हो।
स्थानीयले पनि लेखनाथको जनताको चौतारा, पोखरा १६ लामाचौरस्थित सेती बाँध किनारको जग्गामा मेडिकल कलेज बनाउन अनुरोध गरेपनि प्रक्रिया अघि नबढेको उनले सुनाए। नयाँ नियमावली आउँदै गरेको र प्रान्तीय र स्थानीय सरकारका अधिकार पनि यकिन भई नसकेकोले जग्गा प्राप्तीमा समस्या देखिएको हो।
पोखरा विश्वविद्यालय ऐन २०५३ अनुसार २०५४ सालमा पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० खुदी ढुंगेपाटनमा स्थापना भएको हो। पोखरा विश्व विद्यालयमा २२ सय विद्यार्थी अध्ययनरत छन्। सम्बन्धन प्राप्त र आंगिक गरेर विश्वविद्यालयमा ३२ हजार विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा १ सय भन्दा बढी विषयमा पढाइ हुन्छ।