नेपाल प्रहरीमा तीन मात्रै एआईजी, सशस्त्रमा दुर्इ
काठमाडौँ: सरकारले नेपाल प्रहरीमा तीनजना मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा तीनजना एआईजी राख्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
गृहमन्त्रालयले प्रहरीको ऐन मस्यौदा निर्माण गर्दा पाँचजना एआईजी राख्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैकठले सशस्त्र प्रहरी बलमा केबल दुर्इ मात्रै एआईजी राख्ने पनि निर्णय गरेको छ।
सरकारले नेपाल प्रहरीलाई प्रादेशिक तहमा रुपान्तरण गर्नका लागि आवश्यक दरबन्दी सिर्जना गर्ने पनि निर्णय गरेको छ। त्यसका लागि आवश्यक जनशक्ति पूर्ति प्रक्रिया पनि अगाडि बढाउने निर्णय भएको छ।
सरकारले ३१ सय नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गर्दै आगामी वर्ष १६ सय दरबन्दीमा पदपूर्ति गर्ने पनि निर्णय गरेको छ । बाँकी दरबन्दीमा अर्को वर्षक क्रममा पदपूर्ति गरिने बाँस्कोटाले बताए ।