रुकुममा तेस्रो ट्रायथलन च्याम्पियनसिप
रुकुमकोट : प्रदेश ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व)को सदरमुकाम रुकुमकोटमा तेस्रो रुकुम ट्रायथलन च्याम्पियनसिप शुक्रबार सम्पन्न भएको छ।प्रतियोगिताबाट ओखलढुङ्गाका हेम सागर सुवेदी प्रथम, काठमाडौंका नितेश मानन्धर दोस्रो र रुकुम पूर्वका पवन केसी तेस्रो भएका छन्।
रुकुमकोटमा रहेको कमल दहमा पौडी, मध्यपहाडी लोकमार्गमा साइकलिङ र तालको वरिपरी दौड गरेर ट्रायथलनको स्प्रिन्डअन्तर्गत विभिन्न पाँच जिल्लाका जम्मा १३ जना खेलाडीले यस प्रतियोगितामा भाग लिएको रुकुम जिल्ला ट्रायथलन संघका अध्यक्ष नरेन्द्र शाहीले बताए।
पर्यटनका हिसाबले ५ प्रदेश कै अग्रनी जिल्ला मानिएको यस रुकुम पूर्व नेपालको कान्छो जिल्ला पनि हो। र यहाँको पर्यटन प्रवर्द्धन तथा प्रचार-प्रसारका साथै यस खेलप्रति स्थानीय युवाहरुको सहभागिता बढाउन खेलको आयोजना गरिएको ट्रायथलन च्याम्पियनसिप संयोजक सुनिल रोकाले बताए।
'देशभका विभिन्न ठाउँका खेलाडीलाई खेलमा जोड्ने र यस ठाउँको प्रचार-प्रसार गर्दै जिल्लाको पहिचानलाई स्थापित गर्ने उदेश्यले खेलको आयोजना गरिएको हो।' संयोजक रोकाले भने, ' यो खेललाई निरन्तरता दिएर यसबाटै स्थानीय खोलाडी उत्पादन गर्नेछौं।'
यसअघि रुकुमममा ट्रायथलन च्याम्पियनसिप पहिलोपल्ट २०७० सालमा र दोस्रोपल्ट २०७२ सालमा आयोजना गरिएको थियो।सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला ट्रायथलनन संघ रुकुम पूर्वले आयोजना गरेको यस प्रतियोगितामा नेपाल ट्रायथलनन एसोसियसनको प्राविधिक सहयोग रहेको थियो।
प्रतिनिधीसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री कमला रोकाले उद्घाटन गरिएको यस प्रतियोगितामा बिजेता खेलाडीलाई मेडलसहित प्रमाण पत्र र नगदले सम्मान गरिएको थियो भने अन्य सहभागी खेलाडीलाई पनि सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा संसद कमला रोकाले खेलकुदलाई पर्यटनसँग जोडेर समृद्धीको यात्रामा लाग्न सबैलाई अनुरोध गरिन्।