चीनको जहाजमा चढेर सिंगापुर पुगे किम जोङ्ग उन
वासिंगटन: सिंगापुरको एक रिसोरंटमा १२ जुनमा डोनाल्ड ट्रम्प र किम जोङ्ग उनबीच ऐतिहासिक शिखरवार्ता हुँदैछ । किम एयर चाइनाको जहाजमा चढेर सिंगापुर पुगिसेकका छन् ।
किम पहिलो पटक जहाजमा चढेर विदेश यात्रामा निस्केका हुन् । अर्कातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका लागि शान्ति स्थापित गर्नका लागि सिंगापुरको वार्ता अन्तिम मौका भएको प्रतिक्रिया दिएका छन् ।
ट्रम्पले ट्वीट गर्दै भनेका छन्, 'हामीसँग उत्तर कोरिया र विश्वलाई उत्कृष्ट नतिजा दिन गतिलो मौका छ । निश्चितरूपमा वार्ताको दिन मेरा लागि खास हुनेछ । मलाई थाहा छ यसका लागि किमले पनि धेरै मेहनत गरेका छन् । यस्तो उनले पहिले कहिलै गरेका थिएनन् । म वार्तालाई लिएर धेरै सकारात्मक छु । यस अवसरलाई हामी बिग्रन दिँदैनौँ ।'
सन् २०११ मा सत्तामा आएपछि किमको यो तेस्रो र सबैभन्दा लामो विदेश यात्रा हो । प्योङ्गयाङ्गबाट सिंगापुरको दुरी करिब ४,७४३ किलोमिटर छ । यसभन्दा पहिले किम दुई पटक चीन गएका थिए । २४ घण्टाको रेल यात्राबाट उनी बेइजिङ पुगेका थिए ।
उनी यसअघि दुई पटक दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग भेटिसकेका छन् । तर यो भेटवार्ता सीमामा रहेको असैन्य क्षेत्रमा भएको हो ।
ट्रम्पले हालै मात्र उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गरेको जनाएका थिए । यदि उत्तर कोरियाले परमाणु भट्टी नष्ट नगरे वार्ता नहुने ट्रम्पले भनेका थिए । ट्रम्पले भट्टी नहटाएसम्म उत्तर कोरियामाथि प्रतिबन्ध पनि नहटाउने चेतावनी दिएका थिए । अमेरिकाले उन तथा उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अत्यन्तै कडा थियो ।
ट्रम्पले सिंगापुर भेट फोटो खिचाउने भन्दा धेरै फरक हुने पनि बताए । 'यो एउटा भेट मात्रै होइन, यो सम्झौता मात्रै होइन, यो भेट धेरै शानदार हुनेछ', ट्रम्पले भनेका छन् ।