ईपीएस भाषा परीक्षामा दुई सय ४७ नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं : कोरियन रोजगार अनुमती प्रणाली (ईपीएस) भाषा परीक्षामा संलग्न दुई सय ४७ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार र आइतबार सञ्चालित चार सिफ्टको परीक्षाबाट ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
ईपीएस शाखा नेपालका प्रवक्ता शोभाकर भण्डारीका अनुसार पहिलो दिन ५८ जना पक्राउ परेका थिए भने दोस्रो दिन एक सय ८९ पक्राउ परेका हुन्।
भाषा परीक्षामा ७४ हजार आठ सय ६६ सहभागी भएका छन्। नवौं भाषा परीक्षा पोखरा र काठमाडौंमा सञ्चालन भएको छ। परीक्षा दिनका लागि ८२ हजार दुई सय ६४ जनाले अनलाइन आवेदन दिएका थिए।
सन् २००८ देखि दक्षिण कोरियाको रोजगारीमा ५४ हजार बढी नेपाली कामदार पुगिसकेका छन्। प्रतिकामदार एक लाख रुपैयाँ खर्चमा डेढलाख बढी आम्दानी हुने भएकाले नेपालका शिक्षित युवाको रोजाइमा कोरिया परेको छ।
भाषा परीक्षाका लागि शाखाले चैत ८ देखि १८ गतेसम्म अनलाइन आवेदन लिएको थियो। सन् २०१९ का लागि कोरियाले नेपालबाट झण्डै ७१ सय कामदार लानेछ। जसमा कृषिमा ४८ सय र उत्पादनमुलक क्षेत्रमा २३ सय कामदार कोरिया जानेछन्।