प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनल सोमबार
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब आमनेसामने हुने भएका छन्।
विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र भेट्रान बलर वसन्त रेग्मीको नेतृत्वको एपीएफबीचको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान हुनेछ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा आर्मी एक मात्र अपराजित टोली हो। युवा खेलाडीहरूको वर्चस्व रहेको आर्मी ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित देखिएको छ।
यसैगरी एपीएफले पनि उत्कृष्ट ब्याटिङ गर्दै आएको छ। ब्याटिङको तुलनामा बलिङ प्रभावकारी बन्न सकेको छैन। समूह चरणमा एपीएफ आर्मीसँग ७० रनले पराजित भएको थियो।
सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई एक सय ५४ रन र एपीएफले नेपाल पुलिस क्लबलाई नौ रनले हराउँदै फाइनल भिडन्त पक्का गरेको थियो।
प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसैगरी उपविजेताले १० लाख पुरस्कार पाउनेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार पाउनेछन्।
पहिलो पटक संघीय संरचनाअनुसार आयोजना गरिएको एकदिवसीय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ।