शिखर वार्ताका लागि ट्रम्प र किम सिंगापुरमा
सिंगापुर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन शिखर वार्तामा सहभागी हुन आइतवार सिंगापुर आइपुगेका छन्।
उनीहरूबीचको भेटवार्ता उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने विषय प्रमुख मुद्दा हुनेछ। यसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भनेका छन्। कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहेको छ।
सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिंगापुर अवतरण गरेका हुन्। किमले विमानस्थलमा उत्रिएपछि भने, ‘यदि सम्मेलन सफल भएमा दुई नेतालाई भेट गराउने सिंगापुरका प्रयास ऐतिहासिक बन्नेछ।’
यसैगरी अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी आइतबार नै सिंगापुर आइपुगेका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिंगापुर जाने कार्यक्रम रहेको यसअघि नै बताएका थिए। उनलाई स्वागत गर्न पुग्नुभएका सिंगापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महसुस गरेको बताएका छन्।
दुई नेताको सुरक्षाका लागि सिंगापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेको बताएका छन्। शिखर सम्मेलन जुन १२ मा शुरु हुनेछ। यसैबीच सम्मेलनका लागि सिंगापुरमा हुने खर्च १ करोड ५० लाख अमेरिकी डलर हुने अनुमान छ। खर्चबारे बोल्दै सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि सिंगापुरले १ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने स्पष्ट पारेका छन्।
खर्चको आधा भाग दुई नेताको सुरक्षा प्रबन्धका लागि हुने बताइएको छ। उनले सिंगापुरले एउटा अन्तर्राष्ट्रिय शान्ति प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित हुने चर्चा गरेका छन्। नेता किम जोङ उनले आइतवार सिंगापुरका प्रधानमन्त्री ली सीन लुसँग भेट गरेका छन्।
नेता किमले मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेता किमले लीसँग भने, ‘विश्वको ध्यान उत्तर कोरिया र अमेरिकाबीच हुने ऐतिहासिक शिखर सम्मेलनमा केन्द्रित छ। तपाईंको प्रयासले ऐतिहासिक शिखर सम्मेलनको तयारी पूरा भएको छ, त्यसका लागि बधाई दिन्छौं।’ यो वार्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषण आएका छन्।
विश्वका कैयौँ देशका पत्रकार पनि सिंगापुरमा जम्मा भएका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिकी छन्। यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ। कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ।
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो। उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको भेटवार्तापछि मंगलबारको शिखर वार्ताको वातावरण बनेको थियो। उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो। यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्गप्रशस्त गरेको थियो।