कांग्रेसले अवरोध गरेपछि प्रदेश सभामा पहिलो पटक मार्सल
पोखरा: असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार पटकपटक सदन अवरुद्ध गरेपछि मार्सल लगाएर प्रदेश सरकारले २ विधेयक पेस गरेको छ ।
बजेटअघि ल्याउनै पर्ने विधेयक पेस गर्ने समय नपुग्ने भएपछि नेकपा नेतृत्वको प्रदेश सरकारले सदनमा प्रतिपक्ष सांसदमाथि मार्सल लगाएको हो ।
प्रादेशिक संसदमा मार्सल प्रयोगको यो नै पहिलो घटना भएको छ । प्रदेश कर र गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको र प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबार सरकारले सदनमा पेस गरेको छ । कांग्रेसले बजेटअघि प्रदेश नामकरण माग गरेको हो । सभामुख सिर्जना शर्माले भने असार १० गते त्यसबारेको छलफलको मिति तोकेकी थिइन् ।
विधेयक पेस गरेको ७२ घन्टा नपुगी पारित गर्न नमिल्ने कानुनी व्यवस्था छ । आइतबार उक्त प्रस्ताव पेस नभएको भए ३१ गतेसम्म ७२ घन्टा पुग्दैनथ्यो । त्यसपछि १ असारमा बजेट ल्याउन नसक्ने अवस्थामा सरकार पुग्थ्यो ।
संविधानले असार १ मै बजेट ल्याउन गरेको व्यवस्था कार्यान्वयनका लागि संसद अन्त्य गरी अध्यादेशको बाटो रोज्नुपर्ने बाध्यता सरकारलाई हुन्थ्यो । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संवैधानिक बाध्यता नबुझी कांग्रेसले सदन अवरुद्ध गरेर दुर्घटना निम्त्याउन खोजेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मार्सल लगाएर सदन त्यसरी नचलाएको भए दुर्घटना हुन्थ्यो ।’
आइतबार तेस्रोपटक ८ बजे बसेको प्रदेश सभा बैठकमा मर्यादापालक प्रहरीहरुलाई परिचालित गरी कांग्रेस सांसदलाई रोस्टमबाट अघि बढ्न रोकिएको थियो । त्यही बेला आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले ती २ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । कार्यबाहक सभामुख सिर्जना शर्माले प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिन् । सत्तारुढ दल नेकपाका सांसदहरुको बहुमतले प्रस्ताव पारित गर्यो
प्रदेश सभाको आइतबारको पहिलो बैठक साढे ४ बजेट सुरु हुनासाथ तोकिएको कार्यसूचीअनुसारको कार्यारम्भ नहुँदै कांग्रेस सांसद उठेर संसद चल्न रोकेका थिए । प्रतिपक्ष सांसद उठेपछि सदनको कारबाही अगाडि नबढाउने संसदीय परम्परा छ ।
सभामुखको कार्यभार सम्हालेकी उपसभामुख शर्माले पटकपटक बस्न गरेको अनुरोध प्रतिपक्ष कांग्रेस सांसदले मानेका थिएनन् । त्यसपछि उनले प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई बोल्न समय दिइन् । नेपालीले प्रदेश राजधानी र नामकरणसम्बन्धी प्रस्तावबारे छलफल अघि बढाउन माग गरे ।
किन कांग्रेसको अवरोध ?
प्रदेश नामकरणको प्रक्रिया अघि बढाउन माग गर्दै प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश संसद अवरुद्ध गरे । फेरि बैठक साढे ७ बजे बसेको थियो । त्यसबेलामा पनि सदन अवरुद्ध भयो । तेस्रोपटक ८ बजे बसेको बैठकमा पनि कांग्रेस सांसदले अवरोध गरेपछि मर्यादापालकका रुपमा खटिएका प्रहरीले उनीहरुलाई रोकेका थिए ।
आइतबारको पहिलो बैठकमा बोल्न समय पाउनसाथ कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले बजेटअघि प्रदेश नामकरणबारेको प्रस्तावमाथि छलफल अगाडि बढाइयोस् भन्ने माग गरे । ‘बजेटको छलफलसँग राजधानी र प्रदेश नामकरण नजोडियोस्’, उनले भने, ‘पूरा प्रदेशले नामकरण हेरिरहेको छ । प्रदेशको नाममा लेटरप्याड छापिएको छैन, सदस्यहरुले लोगो लगाउन पाउनुभएको छैन ।’
गएको चैत १२ गते प्रदेश सभाले गठन गरेको प्रदेश राजधानी र नामांकन समितिको प्रस्तावमाथि छलफल गर्न प्रमुख प्रतिपक्ष कांग्रेसले माग गरेको हो । सांसद नेपालीले उक्त समितिको म्याद २ चोटि गरी ४० दिन थपिइसकेको पनि उल्लेख गरे ।
सांसद नेपालीले बोलेर सक्नासाथ कांग्रेस सांसदहरु अगाडि गएर रोस्ट्रम घेराउ गरेका थिए । उनीहरुले संसदीय परम्परा पालना गरियोस् भन्दै नाराबाजी गरेपछि सभामुखको जिम्मेवारी सम्हालेकी उपसभामुख शर्माले सदन स्थगित गरेकी थिइन् ।
नाममा हतार नगरौँ
अन्नपूर्णसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेश नामकरणमा हतार गरिहाल्नु नपर्ने बताए । उनले आफूहरुको पार्टी र कांग्रेसले नाम गण्डकी राख्ने भनेको र साविक एमालेले पनि सोही नाम भनेको हुँदा समस्या नआउने सुनाए । ‘१÷२ दिनअघि पछिले केही नहुने हो, सर्वसम्मतिबाटै जान सकिन्छ’, उनले भने ।
कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले भने पहिला संसदमा पेस भएको प्रतिवेदनमाथिको छलफललाई पहिला पालो दिनुपर्ने माग आफूहरुले राखेको प्रतिक्रिया दिए । कांग्रेसकै अर्का सांसद कुमार खड्काले प्रदेश नामकरणबारे जनतालाई सबैभन्दा धेरै चासो रहेको हुँदा टुंगो लगाउनुपर्ने बताए । ‘जातजातिलाई यसैका नाममा उफ्रन दिनु हुँदैन’, उनले अन्नपूर्णसँग भने ।
नयाँ शक्तिका सांसद हरिशरण आचार्यले पनि बजेटपछि नामकरण गर्न सकिने बताए । सत्तारुढ सांसदहरुले भने बजेट १ असारमै ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको हुँदा पहिला त्यही काम गर्नुपर्ने बताएका छन् ।
गण्डकी नाम पक्का पक्की
नामांकन समितिले प्रदेश ४ को राजधानी पोखरा सिफारिस गरिसकेको छ । प्रदेश राजधानी र नामांकन समितिले उक्त सिफारिससहितको प्रतिवेदन २१ जेठमा सभामा प्रस्तुत भइसकेको छ । सबै दलका प्रतिनिधि सामेल समितिले प्रदेशको नाम गण्डकी राख्न सिफारिस गरेको छ ।
प्राथमिकता क्रममा १ नम्बरमा गण्डकी र त्यसपछि क्रमशः तमुवान मगराँत, गोरखा, धौलागिरि, हिमाल, अन्नपूर्ण, माछापुच्छ«े सिफारिस समितिले गरेको छ । ११ जिल्लामा अन्तक्रिया गरी सहभागीको मत, दलहरुको धारणा, विज्ञका राय, इमेलमा आएका सल्लाह र ज्ञापनपत्रहरुलाई समितिले नाम सिफारिस गरेको हो ।
मगराँतका लागि र्याली
प्रदेश सभामा नामकरणबारे प्रक्रिया अघि नबढेकै दिन आइतबार क्षेत्री, ब्राह्मण, दशनामी लगायत समुदायले गण्डकी प्रदेश माग गर्दै जुलुश निकालेका थिए । केही दिनअघि आदिवासी जनजातिका संघसंस्थाले तमुवान मगराँत प्रदेश नामकरण माग गर्दै ¥याली गरेका थिए ।