माछा मारेर गुजरा चलाउँछन् कमलखोंचका दनुवार
दुधौली (सिन्धुली) : दूधौली नगरपालिका ११ का ४२ वर्षीया कन्जनलाल अधिकारीका हातमा माछा मार्ने जाल र माछा हाल्न बाँसको गेद्रा दैनिक देख्न पाइन्छ। जीवनका झण्डै चार दसक परिवारको गुजार टार्नै दैनिक बनिबुतो गर्दै बिताएका अधिकारीको दैनिकी जाल र गेद्रमा बित्ने गरेको हो।
अन्य पेसा र व्यवसायभन्दा राम्रो आम्दानी हुने भएपछि अधिकारीले कमला र चदाहा नदीमा माछा मार्दै जीविको चलाउन थालेपछि यस्तो देखिन थालेको हो। अन्य पेसाभन्दा सजिलो, लगानी गर्न नपर्ने र राम्रो मूल्यमा बिक्री हुने भएपछि बिगत चार वर्षदेखि माछा मारेरै परिवारको गुजारा चलाउन थालेको अधिकारीको भनाइ छ। हिजो आज पेसा र व्यवसाय भनेकै माछा मार्ने भएको छ।
‘बिहान घामको झुल्कोसँगै हातमा जाल र कम्बरमा गेद्रा लिएर कमला र चदाहा नदीमा पस्ने गरेको छु। बाउ बाजेको पेसा पनि पहिला यस्तै थियो। अहिले लोकल माछाको माग पनि बढ्न थालेको र राम्रो मूल्यमा बिक्री हुने भएपछि मैले पनि यही व्यवसाय थालेको हुँ’, उनले भने।
कमलाखोंच क्षेत्रका दनुवार समुदाय माछा खान अति मनपराउने भएकाले पनि उनीहरू माछा मार्ने पेसा रोज्छन्। अधिकारी जस्तै कमलाखोंचका अन्य सयौं दनुवार दैनिक माछा मारेर राम्रो आम्दानी लिइरहेका छन्। उनीहरू धेरै जसोले मारेको माछा बिक्री गरेर नगद आर्जन गर्ने गरेका छन् भने केहीले तरकारीका रूपमा प्रयोग गर्ने गरेका छन्।
‘एक सयले एक छाक तरकारी पनि आउँदैन माछा मारे खान त पाइन्छ’, बिगत ३० वर्षदेखि कमलामा माछा मार्दै आएका दूधौली नगरपालिका ११ कै अर्का ४८ वर्षीया कुम्ना धामीले भने। ‘आफूले नखाई बिक्री गरेको माछाबाट दैनिक पाँच सयदेखि १५ सय सम्म आम्दानी हुने गरेको छ। त्यही आम्दानीले नुन भुटुनको जोगो गर्ने गरेको छु। छोराछोरीको पढाइ खर्च र औषधोपचार पनि टर्ने गरेको छ’, उनले थपे।
कमलाखोंच क्षेत्रका दनुवार समुदाय माछा खान अति मनपराउने भएकाले पनि उनीहरू माछा मार्ने पेसा रोज्छन्।
दूधौली नगरपालिकामा दनुवार समुदायको बाक्लो बसोबास छ। पुस्तौंदेखि दनुवार समुदाय माछा मारेर बाँसका मान्द्रा, डोकाडालोलगायत सामग्री बुनेर बिक्री गर्दै जीविका चलाउने गर्छन्। ‘म सानो छँदादेखिनै माछा मार्न जान्थेँ बुबासगँ, वडा नं. ९ का गरुजी भनिने ४६ वर्षीय सञ्जीव अधिकारीले भने, ‘हामी दनुवार समुदायका मानिस असारदेखि जेठसम्मै माछा मार्ने गर्छौं। यसबाटै मैले पनि सात जनाको परिवार माछाले नै पालेको छु। माछाबाट मासिक ४५देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ। ’
पहिला जस्तो माछा भने नभएको कन्जन लालले बताए। उनका अनुसार करेन्ट लगाएर माछा मार्न थालेपछि यस्तो अवस्था आएको हो। ‘पहिले दुईदेखि चार किलोसम्म माछा मार्न सकिन्थ्यो तर अचेल एकदेखि दुई किलोसम्म मार्ने गरेका छौं’, उनीहरूले भने। उनका अनुसार लोकल माछा आठ सयदेखि एक हजार रुपैयाँ किलोसम्म बिक्री हुने गरेको छ।
व्यावसायिक माछा मार्नेले जाल प्रयोग गरेरै माछा मार्ने गरेको भए पनि कहिलेकाँही मात्र माछा मार्नेले करेन्ट लगाएर र विषादी प्रयोग गरेर माछा मार्ने गरेकाले माछामा कमी हुँदै आएको उनीहरूको गुनासो छ।
६५ हजार दुई सय तीन जनसंख्या रहेको सिन्धुलीको दूधौली नगरपालिकामा लगभग २० हजार दनुवार समुदायको जनसंख्या छ। दनुवार समुदायको जनसंख्यमा ८५ प्रतिशतले अझै माछा मार्ने र मान्दो बुनेर बिक्री गर्ने पेर्सा अँगाल्दै आएका छन्।