नगरसभाअघि विज्ञसभा

नगरसभाअघि  विज्ञसभा

पालुङटार (गोरखा) : सरकारको स्मार्टसिटीको सूचीमा रहेको पालुङटार क्षेत्रको अल्पकालीन तथा दीर्घकालीन विकासको मार्गचित्र तयार गर्न नगरपालिकाले विज्ञसभा गरेको छ । असारमा हुने नगरसभामा अनुमोदन गर्नेगरी योजना तथा कार्यक्रम तय गर्न विज्ञसभा आयोजना गरिएको मेयर दीपकबाबुु कँडेलले जानकारी दिए ।

नगरपालिकाले शुक्रबार र शनिबार २ दिन विज्ञसभा आयोजना गरेको हो । सभामा पालुङटार घर भई विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका तथा राष्ट्रको नीति–निर्माण तहमा रहेकालाई निम्त्याएर छलफल गरिएको उपमेयर पम्फा बसेलले जानकारी दिइन् ।

विज्ञ सभामा राष्ट्रिय सभाका सांसद तथा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, सांसद तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, सांसद चूडामणि खड्का, हरिशरण आचार्य, पूर्व स्थानीय विकासमन्त्री हितराज पाण्डे, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति जीवनराज पोखरेल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वसचिव हरिराम कोइराला, स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनी, औद्योगिक क्षेत्र विकास लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतलगायतले विभिन्न अवधारणापत्र पेस गरेका थिए ।

त्यस्तै, भूकम्प र पुनर्निर्माणबारे अमेरिकाको एक विश्वविद्यालयका भूकम्प विभाग प्रमुख विनोद तिवारी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मोदनाथ मरहठ्ठा, सीटीईभीटीका पूर्वप्रमुख सरोज देवकोटा, अर्थविद् हरि रोका, जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले आगामी दिनमा योजना तर्जुमा गर्नुपर्दा ध्यान दिनुपर्ने विषयमा अवधारणा प्रस्तुत गरेका थिए ।

संगीतकार आलोक श्री, इन्जिनियरिङ काउन्सिलका विनोद न्यौपाने, कृषिविद् हरिकुमार श्रेष्ठ र पशुसेवा विभागका रामचन्द्र देवकोटा, शिक्षाविद् गुणप्रसाद न्यौपानेलगायतले पालुङटारमा योजना तर्जुमा गर्नुपूर्व तथा बजेट तथा कार्यक्रम विनियोजन गर्दा ध्यान दिनुपर्ने विविध पक्षमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

बाह्रै महिना गाडी चल्ने गरी नगरपालिकाभित्रको सडक स्तरोन्नति गर्न, अब बन्ने सडकलाई कम्तीमा पनि २ लेनको बनाउन सुझाव पेस गरिएको नगरपालिकाका मेयर दीपक कँडेलले जानकारी दिए । त्यस्तै, कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न र सिँचाइलाई जोड दिन कृषिविद् हरिकुमार श्रेष्ठले सुझाव दिएका थिए । अहिले ९९ दशमलव ९९ प्रतिशत उन्नत जातको बीउ विदेशबाट आयात हुने गरेकाले बीउमा परनिर्भरता रोक्ने खालको कार्यक्रम बनाउनुपर्नेमा कृषिविद् श्रेष्ठको सुझाव थियो । शीतभण्डारगृह निर्माण गर्नुपर्ने, विज्ञको रोस्टर तयार गर्नुपर्ने, प्रशोधनशाला बनाउनुपर्ने उनको सुझाव छ ।

साथै, ऐतिहासिक तथा पर्यटकीयस्थल लिगलिगकोट, तालदेवीथान प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो । प्रदेशस्तरको औद्योगिक क्षेत्र स्थापनाको काम अरू प्रदेशमा अघि बढिरहेकाले पालुङटारमा स्थापना हुने औद्योगिक क्षेत्रको काम पनि तत्काल अघि बढाइने औद्योगिक क्षेत्र विकास समितिका अध्यक्ष बस्नेतले बताए । औद्योगिक क्षेत्र स्थापना भएपछि १५ हजार जनाले रोजगारी पाउने भएकाले रोजगारमूलक शिक्षाको व्यवस्था गर्न तथा तालिम सञ्चालन गर्न उनले सुझाव दिए । एक घर एक रोजगार नभई एक घर एक व्यवसाय सञ्चालनको अवधारणा ल्याउन पनि उनले सुझाव दिए ।

शिक्षाविद्को तर्फबाट न्यौपानेले २० वर्ष सेवा गरेकालाई पेन्सनमा बस्ने नीति ल्याउने र पेन्सनवाला शिक्षकलाई स्वयंसेवकका रूपमा खटाउने नीति तर्जुमा गर्न सुझाव दिए ।

राजनीतिक दलका नेतालाई जनताले देशको भाग्य र भविष्यको रेखा कोर्न मसी भरेर कलम दिएर पठाएको तर नेताले कलम भाँचेको आरोप लगाउँदै पूर्वमुख्यसचिव विमल कोइरालाले अबका दिनमा त्यस्तो मौका गुमाउन नहुने तर्क गरे । न्यूनतम जनशक्ति प्रयोग गरेर अधिकतम उपलब्धि लिने खालको कार्यक्रम बनाउनुपर्नेमा नगरपालिकालाई उनले सुझाव दिए ।

स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीले आधारभूत स्वास्थ्य सेवा दिने दायित्व नगरपालिकाको भएकाले पालिकाभित्र गुणस्तरीय स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिए । आफ्नो पालिकाभित्र दिन नसकेको स्वास्थ्य सेवा नजिकको अर्को संस्थाबाट दिलाउने व्यवस्था मिलाउने र त्यसको भुक्तानी नगरपालिकाले दिनुपर्ने लोहनीको भनाइ छ । यसका लागि सरकारले नगरपालिकालाई बजेट दिइसकेको पनि उनले बताए । स्याटलाइट स्वास्थ्य सेवा सञ्चालन गर्न पनि उनले सुझाव दिए ।

विज्ञसभामा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, संघसंस्थाका प्रमुख, नगरपालिकाभरिका क्याम्पस तथा विद्यालयका प्रमुख, विषयगत कार्यालयका प्रमुख सहभागी थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.