मार्सल लगाएर विधेयक पेस

मार्सल लगाएर विधेयक पेस

पोखरा : असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताबीच प्रमुख प्रतिपक्ष दल कांग्रेसले आइतबार पटकपटक सदन अवरुद्ध गरेपछि मार्सल लगाएर सरकारले २ विधेयक पेस गरेको छ । बजेटअघि ल्याउनै पर्ने विधेयक पेस गर्ने समय नपुग्ने भएपछि नेकपा नेतृत्वको प्रदेश सरकारले सदनमा प्रतिपक्ष सांसदमाथि मार्सल लगाएको हो ।

प्रादेशिक संसद्मा मार्सल प्रयोगको यो नै पहिलो घटना भएको छ । प्रदेश कर र गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको र प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आइतबार सरकारले सदनमा पेस गरेको छ । कांग्रेसले बजेटअघि प्रदेश नामकरण माग गरेको हो । सभामुख सिर्जना शर्माले भने असार १० गते त्यसबारेको छलफलको मिति तोकेकी थिइन् ।

विधेयक पेस गरेको ७२ घण्टा नपुगी पारित गर्न नमिल्ने कानुनी व्यवस्था छ । आइतबार उक्त प्रस्ताव पेस नभएको भए ३१ गतेसम्म ७२ घण्टा पुग्दैनथ्यो । त्यसपछि १ असारमा बजेट ल्याउन नसक्ने अवस्थामा सरकार पुग्थ्यो । संविधानले असार १ मै बजेट ल्याउन गरेको व्यवस्था कार्यान्वयनका लागि संसद् अन्त्य गरी अध्यादेशको बाटो रोज्नुपर्ने बाध्यता सरकारलाई हुन्थ्यो । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संवैधानिक बाध्यता नबुझी कांग्रेसले सदन अवरुद्ध गरेर दुर्घटना निम्त्याउन खोजेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मार्सल लगाएर सदन त्यसरी नचलाएको भए दुर्घटना हुन्थ्यो ।’

आइतबार तेस्रोपटक ८ बजे बसेको प्रदेशसभा बैठकमा मर्यादापालक प्रहरीलाई परिचालन गरी कांग्रेस सांसदलाई रोस्टमबाट अघि बढ्न रोकिएको थियो । त्यही बेला आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले ती २ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । कार्यवाहक सभामुख सिर्जना शर्माले प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिन् । सत्तारुढ दल नेकपाका सांसदहरूको बहुमतले प्रस्ताव पारित गर्‍यो ।

मार्सल नलगाएको भए संविधान मिचिने खतरा हुन्थ्यो

प्रदेशसभाको आइतबारको पहिलो बैठक साढे ४ बजेट सुरु हुनासाथ तोकिएको कार्यसूचीअनुसारको कार्यारम्भ नहुँदै कांग्रेस सांसद उठेर संसद् चल्न रोकेका थिए । प्रतिपक्ष सांसद उठेपछि सदनको कारबाही अगाडि नबढाउने संसदीय परम्परा छ । सभामुखको कार्यभार सम्हालेकी उपसभामुख शर्माले पटकपटक बस्न गरेको अनुरोध प्रतिपक्ष कांग्रेस सांसदले मानेका थिएनन् । त्यसपछि उनले प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई बोल्न समय दिइन् । नेपालीले प्रदेश राजधानी र नामकरणसम्बन्धी प्रस्तावबारे छलफल अघि बढाउन माग गरे ।

प्रदेश नामकरणको प्रक्रिया अघि बढाउन माग गर्दै प्रतिपक्ष कांग्रेसले प्रदेश संसद् अवरुद्ध गरे । फेरि बैठक साढे ७ बजे बसेको थियो । त्यसबेला पनि सदन अवरुद्ध भयो । तेस्रोपटक ८ बजे बसेको बैठकमा पनि कांग्रेस सांसदले अवरोध गरेपछि मर्यादापालकका रूपमा खटिएका प्रहरीले उनीहरूलाई रोकेका थिए ।

आइतबारको पहिलो बैठकमा बोल्न समय पाउनासाथ कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले बजेटअघि प्रदेश नामकरणबारे प्रस्तावमाथि छलफल अगाडि बढाइयोस् भन्ने माग गरे । ‘बजेटको छलफलसँग राजधानी र प्रदेश नामकरण नजोडियोस्’, उनले भने, ‘पूरा प्रदेशले नामकरण हेरिरहेको छ । प्रदेशको नाममा लेटरप्याड छापिएको छैन, सदस्यहरूले लोगो लगाउन पाउनुभएको छैन ।’ चैत १२ गते प्रदेशसभाले गठन गरेको प्रदेश राजधानी र नामांकन समितिको प्रस्तावमाथि छलफल गर्न प्रमुख प्रतिपक्ष कांग्रेसले माग गरेको हो । सांसद नेपालीले उक्त समितिको म्याद २ चोटि गरी ४० दिन थपिइसकेको पनि उल्लेख गरे ।

सांसद नेपालीले बोलेर सक्नासाथ कांग्रेस सांसदहरू अगाडि गएर रोस्टम घेराउ गरेका थिए । उनीहरूले संसदीय परम्परा पालना गरियोस् भन्दै नाराबाजी गरेपछि सभामुखको जिम्मेवारी सम्हालेकी उपसभामुख शर्माले सदन स्थगन गरेकी थिइन् ।

अन्नपूर्णसँग राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेश नामकरणमा हतार गरिहाल्नु नपर्ने बताए । उनले आफूहरूको पार्टी र कांग्रेसले नाम गण्डकी राख्ने भनेको र साविक एमालेले पनि सोही नाम भनेको हुँदा समस्या नआउने सुनाए । ‘१÷२ दिनअघि पछिले केही नहुने हो, सर्वसम्मतिबाटै जान सकिन्छ’, उनले भने ।

कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले भने पहिला संसद्मा पेस भएको प्रतिवेदनमाथिको छलफललाई पहिला पालो दिनुपर्ने माग आफूहरूले राखेको प्रतिक्रिया दिए । कांग्रेसकै अर्का सांसद कुमार खड्काले प्रदेश नामकरणबारे जनतालाई सबैभन्दा धेरै चासो रहेको हुँदा टुंगो लगाउनुपर्ने बताए । ‘जातजातिलाई यसैका नाममा उफ्रन दिनु हुँदैन’, उनले अन्नपूर्णसँग भने । नयाँ शक्तिका सांसद हरिशरण आचार्यले पनि बजेटपछि नामकरण गर्न सकिने बताए । सत्तारुढ सांसदहरूले भने बजेट १ असारमै ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको हुँदा पहिला त्यही काम गर्नुपर्ने बताएका छन् ।

नामांकन समितिले प्रदेश ४ को राजधानी पोखरा सिफारिस गरिसकेको छ । प्रदेश राजधानी र नामांकन समितिले उक्त सिफारिससहितको प्रतिवेदन २१ जेठमा सभामा प्रस्तुत भइसकेको छ । सबै दलका प्रतिनिधि सामेल समितिले प्रदेशको नाम गण्डकी राख्न सिफारिस गरेको छ । प्राथमिकता क्रममा १ नम्बरमा गण्डकी र त्यसपछि क्रमशः तमुवान मगराँत, गोरखा, धौलागिरि, हिमाल, अन्नपूर्ण, माछापुच्छ«े सिफारिस समितिले गरेको छ । ११ जिल्लामा अन्तक्र्रिया गरी सहभागीको मत, दलहरूको धारणा, विज्ञका राय, इमेलमा आएका सल्लाह र ज्ञापनपत्रलाई समितिले नाम सिफारिस गरेको हो ।

प्रदेशसभामा नामकरणबारे प्रक्रिया अघि नबढेकै दिन आइतबार ब्राह्मण, क्षत्री, दशनामीलगायत समुदायले गण्डकी प्रदेश माग गर्दै जुलुस निकालेका थिए । केही दिनअघि आदिवासी जनजातिका संघसंस्थाले तमुवान मगराँत प्रदेश नामकरण माग गर्दै र्‍याली गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.