सिक्लेसमा केबलकारको प्रारम्भिक अध्ययन पूरा
पोखरा : कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट अन्नपूर्ण हिमशृंखलाको फेदी कोरीसम्म केबलकार निर्माण गर्ने योजनाको प्रारम्भिक अध्ययन पूरा भएको छ । जनप्रतिनिधि निर्वाचित हुनासाथै मादी गाउँपालिकाको पहिलो बैठकले केबलकार निर्माणको निर्णय गरेको थियो ।
उक्त योजनाको सम्भावनाबारे क्युबिक इन्जिनियरिङ कन्सल्टेन्सीले प्रारम्भिक अध्ययन गरेको हो । अध्ययनको प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरियो । कन्सल्टेन्सीका इन्जिनियर दण्डराज पौडेलले साढे ६ किलोमिटर दूरीको केबलकार निर्माण गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी चाहिने जानकारी दिए । ‘विस्तृत विवरणका लागिचाहिँ डीपीआर नै तयार गर्नुपर्छ’, पौडेलले भने, ‘सम्भाव्यता अध्ययन र डीपीआरका लागि विदेशी विज्ञ बोलाउनुपर्छ ।’
गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले चिनियाँहरूले केबलकार निर्माणका लागि छुट्टै अध्ययन गरिरहेको जानकारी दिए । उनले विदेशी र स्वदेशी लगानीमा केबलकार निर्माण गर्ने बताए । प्रदेश सरकार र पोखरा महानगरपालिकासँग पनि सहकार्य गरी निजी क्षेत्रसँग मिलेर केबलकार निर्माण गर्ने उनले सुनाए ।
कन्सल्टेन्सीले तीन महिना अध्ययन गरी प्रारम्भिक प्रतिवेदन गाउँपालिकालाई बुझाएको छ । सिक्लेसको भुलुचुदेखि हिमालफेदीको कोरी भन्ने ठाउँसम्म केबलकार सञ्चालन गर्ने गाउँपालिकाको योजना हो । केबलकार चढाएर पर्यटकलाई हिमाली स्वाद चखाउने, हिउँमा चिप्लेटी खेलाउनेलगायत योजना छन् ।
पाँच वर्षमा लगानी उठाउन दैनिक १२ सय यात्रु केबलकारमा चाहिने पौडेलले बताए । ‘केबलकारको एउटा डिब्बामा एकपटकमा ६ जना बस्न मिल्ने हुन्छ’, उनले भने, ‘५ थरीका २१ वटा टावर निर्माण गर्नुपर्ने देखिन्छ ।’ उनले स्थलगत अध्ययनमा वातावरण, भूगोल र इन्जिनियरिङ विज्ञको टोली गएको जानकारी पनि दिए ।
केबलकारको प्रवेश टर्मिनल भवन निर्माण हुने ठाउँसम्म पिचबाटो बन्ने प्रक्षेपणका आधारमा लगानी साढे एक अर्ब अनुमान गरिएको जानकारी इन्जिनियर पौडेलले दिए । उनले साढे ६ किलोमिटर दूरीको केबलकारबाट जाँदाभन्दा फर्कंदा बढी समय लाग्ने उनले सुनाए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रदेश ४ का आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सिक्लेसमा बन्ने केबलकारका कारण पर्यटक आकर्षित हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकार आउँदो ४ वर्षमा २२ लाख पर्यटक भिœयाउने लक्ष्यमा केबलकारले सहयोग पु¥याउने पनि बताए ।
मादी गाउँपालिकाले आधुनिक प्रविधिबाट अल्लो उद्योग सञ्चालन गर्न पनि विज्ञहरूको सुझाव लिएको छ । सिस्नो धेरै हुने सिक्लेसजस्ता गाउँमा अल्लोबाट कपडा बनाउने उद्योग सञ्चालन गर्न गाउँपालिकाले अध्ययन सुरु गरी विज्ञको सुझाव लिएको हो । पोखरा विश्वविद्यालयका प्राध्यापकले अन्तको अनुभवसहितको अध्ययन गाउँपालिकालाई दिएका छन् ।