अपत्यारिलो पेरु

अपत्यारिलो पेरु

लिमा : दक्षिण अमेरिका महादेशबाट विश्वकप यात्रा तय गरेको पेरु यसपटक नयाँ इतिहास बनाउने दाउमा छ । विश्वकपको पहिलो संस्करणमै सहभागी भएको पेरुले अहिलेसम्म आसलाग्दो सफलता भने हात पार्न सकेको छैन । यसअघि चारपटक विश्वकप खेल्ने अवसर पाएको पेरुको क्वार्टरफाइनलभन्दा अगाडि भने बढ्न सकेको छैन । त्यसैले आफ्नो पाँचौं सहभागितालाई पेरु अविस्मरणीय बनाउने धुनमा छ ।

पेरुले यसअघि सन् १९३०, सन् १९७०, सन् १९७८ र सन् १९८२ मा विश्वकप खेलेको थियो । पेरु पहिलो र पछिल्लो संस्करणमा समूह चरणबाटै बाहिरियो । पेरुका लागि सन् १९७० को संस्करण भने केही उपलब्धिमूलक बनेको थियो । त्यतिबेला क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको पेरु अन्तिम आठमा ब्राजिलसँग ४-२ गोलले पराजित भएको थियो । सन् १९७८ को संस्करणमा पेरु दोस्रो चरणमै रोकियो । ३६ वर्षपछि फेरि विश्वकपमा छनोट भएको पेरुमा अहिले युवा र अनुभवी खेलाडीको उत्कृष्ट तालमेल देख्न सकिन्छ । विश्वकप टोलीमा परेका अधिकांश खेलाडी घरेलु लिगमै सक्रिय छन् ।

विश्वकप छनोट चरणका सुरुवाती खेलमा पेरु त्यति जम्न सकेको थिएन । छनोट चरणको सात खेलसम्म चार अंकमा समेटिएको पेरु विस्तारै लय समाउँदै प्ले अफमा पुगेको थियो । समूहमा पाँचौं हुँदै अन्तरमहादेशीय प्ले अफमा छनोट भएको पेरुले प्ले अफमा न्युजिल्यान्डलाई नाटकीय रूपमा २-० गोलले हरायो । पहिलो लेगमा गोलरहित बराबरीका रोकिएको पेरुले दोस्रो लेगमा २-० को नतिजा निकालेको थियो ।

त्यसपछि पेरुले आफ्नो खेलमा निखार ल्याएको छ । प्रशिक्षक रिकार्डो गार्सियाले टोलीलाई मजबुत बनाएका छन् । प्लेअफपछि १५ वटा तयारी खेल खेलेको पेरु सबै खेलमा अपराजित रह्यो । विश्वकप तयारीका लागि स्विडेनसँग खेलिएको मैत्रीपूर्ण खेलमा भने पेरु गोलरहित बराबरीमा रोकिएको थियो । ‘अहिले हाम्रो टोलीमा जस्तोसुकै बलिया प्रतिद्वन्द्वीलाई पनि पाखा लगाउन सक्ने खेलाडी छन् । पेरुका लागि रुस यात्रा वास्तवमै यादगर हुनेछ,’ प्रशिक्षक रिकार्डो भन्छन् ।

रिकार्डोले सन् २०१५ देखि पेरुको राष्ट्रिय टोली सम्हालेका हुन् । उनको प्रशिक्षणमा पेरु कोपा अमेरिकाको सेमिफाइनलसम्म पुगेको थियो । पछिल्लो समय राम्रो लयमा देखिएको पेरु फिफा वरीयतामा समेत सुधार गर्दै ११औं स्थानमा छ । पेरुका कप्तान पाओलो ग्वेरेरो हालै डोपिङको आरोपमा ६ महिना प्रतिबन्धमा परेका थिए । तर, उनले विश्वकप खेल्नका लागि विश्व फुटबल महासंघ (फिफा) मा अपिल गरेपछि उनलाई विश्वकप खेल्न छुट दिइएको छ ।

पेरु ३४ वर्षीय अनुभवी स्ट्राइकर पाओलो र आन्द्रे क्यारिल्लो तथा मिडफिल्डर एडिसन फ्लोरेजको प्रदर्शन विपक्षीका लागि पक्कै पनि टाउको दुखाइको विषय बन्नेछ । रक्षापंक्तिमा पनि पेरु अब्बल छ । विश्वकपको समूह ‘सी’ मा रहेको पेरुका लागि बलियो प्रतिद्वन्द्वी फ्रान्स हो । पेरु समूहमा डेनमार्क र अस्ट्रेलियालाई समेत पन्छाएर अगाडि बढ्ने प्रयासमा छ । विश्वकप छनोट खेलमा दुई पटक अर्जेन्टिनाजस्तो बलियो प्रतिद्वन्द्वीलाई बराबरीमा रोक्न सफल पेरुले छनोट खेलमै उरुग्वेलाई समेत हराएर आफ्नो क्षमताको परिचय पनि दिइसकेको छ ।

पेरुको टोली

गोलरक्षक : पेड्रो गालेसी (भेराक्रुज), कार्लोस कासेडा (डेपोर्टिभो म्युनिसिपल) र जोसे कार्भाल्लो (यूटीसी) ।

रक्षक : एल्डो कोर्जो (युनिभर्सिटारियो), लुइस एड्भिनकुला (लोबोस बुयाप), क्रिस्टियन रामोस (भेराक्रुज), मिगुएल आरुजो (एलियन्जा लिमा), अल्बर्टो रोड्रिग्वेज (एट्लेटिको जुनियर), एन्डर्सन सान्तामारिया (पुएब्ला), मिगुएल ट्राउको (फ्लामिङ्गो) र निल्सन लोयोला (मेल्जर) ।

मिडफिल्डर : रेनाटो टापिया (फेयनुर्ड), पेड्रो एक्विनो (लोबोस बुयपा), योसिमार योतुन (ओल्र्यान्डो सिटी), पाओलो हुर्टाडो (भिक्टोरिया ग्विमारेज), क्रिस्टियन कुएभा (साओ पाउलो), एडिसन फ्लोरेज (अलब्रोग), एन्डी पोलो (पोर्टल्यान्ड टिम्बर्स) र विल्डर कार्टागेना (भेराक्रुज) ।

स्ट्राइकर : आन्द्रे क्यारिल्लो (वाट्फोर्ड), राउल रुइडियाज (मोरेलिया), जेफर्सन फारफन (लोकोमोेतिभ मस्को) र पाओलो ग्वेरेरो (फ्लामिङ्गो) ।

प्रशिक्षक : रिकार्डो गार्सिया

पेरुको खेल

समूह ‘सी’

जुन १६ : डेनमार्कविरुद्ध

जुन २१ : फ्रान्सविरुद्ध

जुन २६ : अस्ट्रेलियाविरुद्घ

पेरु

सहभागिता : पाँचौं पटक

उपलब्धि : क्वार्टरफाइनल

फिफा वरीयता : ११


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.