फेवा फाँटमा रोपाइँको चटारो (फोटो फिचर)
पोखरा: फेवातालको सिरान फेवा फाँटका किसान रोपाइको चटारोमा छन् । फेवा फाँट ढाभ र मुल खेतमै पलाउने भएकोले जेठको पहिलो हप्तादेखि नै किसान रोपाइँमा ब्यस्त हुन्छन् ।
यतिबेला फेवा फाँटमा रोपाहा, बाउसे र हली दाई आआफ्नो जिम्मेवारीको काममा ब्यस्त छन् । रोपाहारहरु असारे गीत गाउँदै धान रोप्न ब्यस्त छन् । ‘हली दाई हो हो माले हो हो’ भन्दै खेत जोत्न र हिल्याउन ब्यस्त छन् । बाउसे दाइलाई कान्ला खन्न भ्याइ नभ्याइ छ ।
फेवा फाँट पोखरेली जेठोबुढो धान उत्पादनका लागि प्रख्यात छ । यहाँ उत्पादित धान बाहिरी जिल्लामा पनि पुग्छ । पछिल्लो समय तालको मुहान क्षेत्रबाट आउने बाढीले रोपो पुर्ने र सिमसार क्षेत्रमा फैलिएका कुर्मा चराले रोपोको गुवो नै खाइदिदा उत्पादन कम भएको स्थानीय किसान मित्रमणि तिमिल्सिना बताउँछन् ।
पोखराका कुँडहर फाँट, बिरौंटा फाँट, सेदी, गैरि खेत, चाउँथे फाँट लगाएतका फाँटमा प्लटिङ गरि बस्ती बसेकोले कास्कीमा धानको उत्दान बर्षेनी घट्दो छ । जिल्ला कृषि विकास कार्याल संग भने पोखराका फाँटमा बस्ती बसेपछि कति धान उत्पादन घट्यो भन्ने एकीन तथ्याङ्क छैन् ।
पछिल्लो समयमा फेवा फाँटमा पनि प्लटिङ हुन थालेको छ । सिमसार क्षेत्रमा थुपारिएको माटो बर्षायाममा तालको पानीको सतह बढेर तालमा पु¥याउँदा फेवाको आयु पनि घट्दो छ । तालको आयुसँग प्रत्यक्ष जोडिएको फेवा फाँट संरक्षण गर्न पोखरा महानगरपालिकाले बेवास्ता गर्दा उर्वर भूमि मासिनुका साथै ताल पनि संकटमा पर्दै गएको छ ।