अत्यास लाग्दो अमेरिका मोह, नाइजेरियामा २३ युवा बन्धक
बेनी: पैदल र हवाईमार्ग हुँदै अमेरिका जान मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।
दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनका युवाले दिएको जानकारी अनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपालीलाई बन्धक बनाएका थिए ।
नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् । करिब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ ।
बन्धक बनाइएका युवामध्ये भागेर बाहिर आएकाले दिएको सम्पर्क नम्बरमा जेम्स भन्ने नाम गरेका व्यक्तिले फोन उठाएर कुनै समस्या नभएको बताउने गरेको आफन्तको भनाइ छ ।
बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् । म्याग्दीबाट गएकामा अर्मनका युवा धेरै छन् ।
बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडाका युवाको नाम पहिचान हुन सकेको छैन । अवैध मार्गबाट करीब ३५ लाख खर्च गरी अमेरिका पुग्ने युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौताअनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राख्ने गरिएको छ ।
नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली एजेण्टलाई पक्राउ गरेपछि थप जानकारी लिने प्रयास भइरहेको परिवार स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका एक म्याग्देलीले जानकारी दिए । उनले आफू पनि हिँडेर आएको बताउँदै बाटो जोखिमपूर्ण भए पनि नेपालीको आकर्षण नघटेको बताए ।
नेपालबाट ठाउँ ठाउँमा युवालाई मोलतोल गरी बिक्री गरेजस्तै गरी पैसा बुझाउनुपर्छ । नेपाल, भारत, थाइल्याण्डलगायतका देशमा नेपाली दलाल रहेका उनीहरुले बताएका छन् । पछिल्लो समय, बोलिभिया, पानामा र मेक्सिकोमा समेत नेपाली दलालले होटललगायतमा काम गर्ने गरी त्यहाँ पुगेर सेटिङ मिलाउने गरेका छन् ।
बन्धक बनाइएका युवाले विभिन्न अन्तर्राष्ट्रियस्तरका रेमिट् कम्पनीमार्फत परिवारबाट रकम मगाइरहेका छन् । भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुँदै करिब १२ देशका समुद्र र जंगलको कठोर यात्रा पार गरी मेक्सिकोमा पुगेपछि तस्करले अन्तिम सेटिङ गरेबापत रकम माग्ने गर्छन् । हरेक वर्ष म्याग्दीबाट ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जाने युवाको संख्या अत्यधिक रहेको छ ।