रुस विश्वकपका ८ प्रभावशाली युवा खेलाडी

रुस विश्वकपका ८  प्रभावशाली युवा खेलाडी

मस्को : कम उमेरमै राष्ट्रिय टोलीमा पर्ने मौका पाउनु खेलाडीका लागि खुसीको कुरा हो। अझ विश्वकप फुटबलजस्तो महाकुम्भमा देशको प्रतिनिधित्व गर्न पाउँदा जो कुनै खेलाडीको खुसीको सीमा रहन्न। बिहीबारदेखि रुसमा आयोजना हुने २१औं विश्वकपमा कम उमेरमा देशको प्रतिनिधित्व गर्ने भाग्यमानी केही खेलाडीको चर्चा यहाँ गरिएको छ।

काइलिन एमबाप्पे (फ्रान्स)

फ्रान्स राष्ट्रिय टोलीबाट रुस विश्वकप खेल्न लागेका एमबाप्पे भर्खर १९ वर्षका भए। पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका एमबाप्पेको प्रदर्शन रुस विश्वकपमा फ्रान्सका लागि हतियार हुने आकलन गरिएको छ। सन् २०१७ देखि सिनियर टोलीबाट खेलिरहेका एमबाप्पेको ‘स्ट्राइकिङ पावर’ बेजोडको छ। मैदानमा बल छलाउन र पोस्ट्मा लैजाने क्षमताले उनी चर्चित छन्। क्लबका लागि मात्र दुई सिजनमा ४४ गोल गरिसकेका एमबाप्पेले फ्रान्सका लागि खेलेको १५ खेलमा चार गोल गरेका छन्।

ग्याब्रियल जिसस (ब्राजिल)

विश्व फुटबलमा राजाको छवि बनाएको ब्राजिलको चर्चा सधैं उत्तिकै हुन्छ। रुस विश्वकपमा पनि ब्राजिलको चर्चा उस्तै छ। विभिन्न सर्वेक्षणले समेत ब्राजिलले यस पटकको विश्वकप चुम्ने भविष्य बाँडिरहेका छन्। ब्राजिल टोलीको हतियारका रूपका अहिले युवा खेलाडी ग्याब्रियल जिससलाई हेरिएको छ। इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका २१ वर्षीय जिससले क्लबका लागि खेलेको २९ खेलेमा १३ गोल गरेका छन्। सन् २०१६ बाट ब्राजिलको सिनियर टोलीमा डेब्यु गरेका जिससले खेलेको १७ खेलमा १० गोल गरेका छन्। उनको जादुमयी प्रदर्शन विपक्षीका लागि ठूलै चुनौती हुनेछ।

टिमो वेर्नर (जर्मनी)

साबिक विजेता जर्मनीले यसपटक पनि उपाधि उचाल्ने दाबी धेरैको छ। यस अभियानमा टोलीका युवा स्ट्राइकर टिमो वेर्नरको भूमिका झनै प्रभावकारी हुनेछ। वेर्नर जर्मनका लाग्ने हतियार जस्तै हुन्। रक्षापंक्तिमा पाएको बललाई समेत एक्लै पोस्ट्मा लगेर गोल गर्ने उनको क्षमता अद्भुत छ। आरपी लेइपिजिङबाट व्यावसायिक खेल खेलिरहेका वेर्नरले एक वर्षअघि सिनियर टोलीमा डेब्यु गरेका हुन्। सिनियर टोलीमा १४ खेल खेलेका उनले व्यक्तिगत आठ गोल गरिसकेका छन्।

मार्कस रासफोर्ड (इङ्ल्यान्ड)

इङ्ल्यान्ड टोलीका युवा खेलाडी मार्कस रासफोर्ड रुस विश्वकपका प्रभावशाली खेलाडी हुन्। २० वर्षीय स्ट्राइकर रासफोर्डले दुई वर्षअघि प्रिमियर लिगमा सनसनी मच्चाएका थिए। म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक खेल खेलिरहेका उनले दुई वर्षअघि क्लबका लागि खेलेको पाँच खेलमा ११ गोल गरेर सनसनी मच्चाएका थिए। उनको बल हान्ने र छलाउने क्षमता बेजोडको छ। रासफोर्डको सशक्त प्रहारलाई विफल पार्न अनुभवी गोलरक्षकलाई समेत हम्मे पर्छ। सन् २०१६ देखि सिनियर टोलीमा परेका रासफोर्डले तीन गोल गरेका छन्। रुसमा पनि उनको जादु विपक्षीको टाउको दुखाइ बन्नेछ।

मार्को असेन्सियो (स्पेन)

स्पेनिस पावर हाउस रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका २२ वर्षीय मार्को असेन्सियो रुस विश्वकपमा स्पेनको हतियार हुन्। एट्याकिङ मिडफिल्डरमा माहिर असेन्सियोको आवश्यकताअनुसार स्ट्राइकरलाई बल उपलब्ध गराउने क्षमता बेजोडको छ। मध्यभागमा उनको बल खोस्न विपक्षीलाई सधैं चुनौती हुन्छ। रियलका लागि खेलेका ३२ खेलमा ६ गोल गरिसकेका असेन्सियोको लामो सुटमा गोल गर्ने क्षमतासमेत अद्भुत छ। दुई वर्षदेखि स्पेनको सिनियर टोलीका नियमित खेलाडी उनले सिनियर टोलीका लागि गोल भने गर्न सकेका छैनन्।

डाभिन्सन सान्चेज (कोलम्बिया)

कोलम्बिया टोलीका युवा रक्षक डाभिन्सन सान्चेजको प्रदर्शन माथिल्लो स्तरको छ। इङ्लिस टोली टोट्टहामलाई जीवन्त राख्न प्रभावशाली प्रदर्शन गरिरहेका सान्चेजले कोलम्बियालाई रुस विश्वकपमा लैजान उत्तिकै मेहनत गरेका थिए। मै हुँ भन्ने बलिया स्ट्राइकरलाई क्षणभरका निस्तेज पार्ने क्षमता भएका २१ वर्षीय सान्चेज मैदानमा निकै मेहनत गर्छन्। उनको रक्षापंक्ति र पास दिने कला उच्च स्तरको छ। सान्चेजको रक्षापंक्तिको यही क्षमतामा कोलम्बियाले रुसयात्रा सफल बनाउने आशा गरेको छ। उनले सन् २०१६ बाट सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।

लुकास टोरेइरा (उरुग्वे)

मिडफिल्डमा जादुमय प्रदर्शन गर्ने क्षमता भएका युवा खेलाडी हुन्, लुकास टोरेइरा। इटालियन क्लब साम्पडोरियाबाट व्यावसायिक खेल खेलिरहेका २२ वर्षीय टोरेइराको बल छलाउने, खोस्ने, पास दिने र ट्याकल गर्ने क्षमता बेजोडको छ। साम्पडोरियाले सिजनमा खेलेका सबै खेलमा उनले केवल दुई खेल मात्र गुमाए। सदाबहार एउटै लयमा देखिने टोरेइरालाई छक्याउन रुस विश्वकपमा जुनसुकै टोलीलाई कठिन हुनेछ। उनले यसै वर्ष सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

ओसमान डेम्बेल (फ्रान्स)

रुस विश्वकपमा सहभागी फ्रान्सेली टोलीमा २१ वर्षीय युवा स्ट्राइकर ओसमान डेम्बेल पनि छन्। स्पेनिल ला लिगा टोली बार्सिलोनाबाट व्यावसायिक खेल खेलेका डेम्बेललाई बार्साले अघिल्लो सिजन नेमारको स्थानमा क्लबमा भित्र्याएको थियो। दुई वर्षअघि ह्यामस्ट्रिङ इन्जुरीका कारण बाहिर रहेका डेम्बेल कमब्याक पछि झनै उत्कृष्ट लयमा देखिएका छन्। उनको बल पाउनासाथ पोस्ट्तर्फ लगि हाल्ने क्षमताले विपक्षीलाई सधैं अत्याउने गर्छ। दुई वर्षअघि फ्रान्सको सिनियर टोलीमा डेब्यु गरेका डेम्बेललाई रुस विश्वकपमा फ्रान्सको मुख्य हतियारका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.