प्रहरी बढुवा : भन्ने ट्र्याक रेकर्ड, चल्ने भनसुन
काठमाडौं : नेपाल प्रहरीको हालै भएको एसपी बढुवामा डीएसपी भीम दाहाल छुटे । दाहाल ती प्रहरी अधिकृत हुन्, जसले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा हुँदा चर्चित रानीबारी हत्याकाण्ड सुल्झाएका थिए।
तत्कालीन गृहमन्त्री वामदेव गौतमले मन्त्रालयमै पुरस्कृत गरेका थिए दाहाललाई । उनको बढुवा किन भएन ? अहिले प्रहरी वृत्तमा चर्चाको विषय बनेको छ । बढुवाका लागि उनले कतै भनसुन नगरेर हो वा प्रहरीमा उनको ट्र्याक रेकर्ड खराब थियो ?
२८ एसपीको दरबन्दीमा ४८ जना दाबेदार भएकाले एसपी बढुवा पेचिलो बनेको प्रहरी अधिकारी नै बताउँछन् । सिरियल नं १ देखि ५ सम्म रहेकालाई तल पारेर अरूलाई बढुवा गरिएको यो घटना प्रहरी संगठनमा पहिलो हो । यसअघिका बढुवामा सिरियल नम्बर तलमाथि परे पनि माथिल्ला पाँचमा रहेका प्रहरी अधिकारीलाई सूचीमा धेरै तल पारिएको थिएन ।
गत साता बढुवा भएकामध्ये सिरियल नम्बर १ देखि ५ सम्म क्रमशः गंगा पन्त, सविन प्रधान, विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर र दीपकराज खरेल एसपीमा बढुवा हुँदा अधिकारी ३ नम्बरमै बढुवा भए पनि पन्त १५, प्रधान ११, राठौर ९ र खरेल २४औं नम्बरमा परे । यीमध्ये राठौरले एक करोडभन्दा बढी भारतीय रूपैयाँ बरामद गरेको रेकर्ड गृह मन्त्रालयमै छ ।
शक्ति केन्द्रलाई प्रभावमा पारेर करिअर बन्छ भन्ने प्रवृत्ति प्रहरीमा मौलाएकाले ‘ट्र्याक रेकर्ड’ औचित्यमा प्रश्न उठेको छ ।
-हेमन्त मल्ल ठकुरी, पूर्वडीआईजी
प्रहरीकै रेकर्डमा रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याकाण्डका आरोपी समात्नसमेत राठौरको भूमिका उल्लेखनीय थियो । काठमाडौंमा हुने अरू ठूला आपराधिक घटना अनुसन्धानमा पनि प्रहरी रेकर्डले उनको भूमिका महŒवपूर्ण देखाउँछ ।
डीएसपी हुँदा १८ औं नम्बरमा रहेका वसन्त रजौरे एसपी बढुवामा २६औं नम्बरमा परे । उनले संविधानसभा र स्थानीय तहको चुनावमा प्रहरी खटनपटन र व्यवस्थापनमा उल्लेखनीय काम गरेको रेकर्ड अहिले पनि महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा छ । उनी बढुवा सूचीमा माथि आउने उनकै प्रतिस्पर्धीहरूको अनुमान थियो । तर उनको राम्रो रेकर्डले बढुवामा कुनै काम गरेन ।
एसपी बढुवा सूचीको चार नम्बरमा रहेका सानुराम भट्टराईले भने धेरै छलाङ मारे । कारण उनी प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक हुन् । प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २६ औं (डीएसपी छँदा) नम्बरमा रहेका भट्टराईलाई चार नम्बरमा बढुवा सिफारिस गरे । इलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत रहँदा भट्टराईको रेकर्ड खराब रहेको अभिलेख अहिले पनि प्रहरी मुख्यालयमा सुरक्षित छ ।
प्रहरी मुख्यालयमै लामो समय कर्मचारी प्रशासन शाखामा बसेका पूर्वएसपी रवीन्द्रनाथ रेग्मी भन्छन्, ‘बढुवाको मूल्यांकन नम्बर दिने क्रममा जहिल्यै पनि ट्र्याक रेकर्डको कुरा गरिन्छ । तर प्रहरी मुख्यालयमा कुनै पनि प्रहरी अधिकृतको ट्र्याक रेकर्ड सुरक्षित छैन । तत्कालको भनसुन र केहीले राम्रा भनिएकाकै राम्रो र खराब भनिदिएकै भरमा खराब भनेर विश्लेषण गरिन्छ, जुन गलत परम्परा हो ।’
बढुवा प्रयोजनका लागि भरिने फारममा शैक्षिक योग्यता, तक्मा र बढुवा समितिले दिइने नम्बर नै राम्रा प्रहरी अधिकृतका लागि बाधक बनेको ठहर रेग्मीको छ । तक्माबापतको अंक बढीमा दुई नम्बर, शैक्षिक योग्यताबापतको अंक बढीमा १० नम्बर र बढुवा समितिले दिने नम्बर बढीमा सात दशमलव पाँच नम्बरमा बढी चलखेल हुने जानकारी रेग्मीले दिए । ‘अहिले प्रहरीमा तक्मा शक्ति केन्द्रकै भरमा पाउँछन्, शैक्षिक योग्यता विषयगत छैनन् र बढुवा समितिले दिने नम्बर पनि शक्तिकेन्द्रकै भरमा जान्छ यसले गर्दा यो पद्धतिलाई सुधार्नुपर्ने देखिन्छ’, उनले भने ।
प्रहरीकै पूर्वडीआईजी एवं प्रहरी विज्ञ हेमन्त मल्ल ठकुरी शक्ति केन्द्रलाई प्रभावमा पारेर करिअर बन्छ भन्ने प्रवृत्ति प्रहरीमा मौलाएकाले ‘ट्र्याक रेकर्ड’ औचित्यमा प्रश्न उठ्ने गरेको बताउँछन् । उनले प्रहरीको मूल्यांकन गोप्य रहनुपर्ने भएपनि भनसुनमा चल्ने भएपछि आरोपित कुरालाई नै ट्रयाक रेकर्ड बनाउन थालिए त्यसले राम्रा प्रहरी अधिकृतमाथि ठूलो धक्का लाग्ने बताए ।
‘बढुवा समितिमा रहेका एक जना एआईजीले कति जनाको रेकर्ड हेर्न भ्याउँछ । कतिलाई त उसले चिनेको पनि हुँदैन । अनि बाहिर आएको सतही कुरालाई आधार बनाएर नम्बर दिन थालियो भने के होला ? ’, ठकुरी प्रश्न गर्छन्, ‘दबाब र प्रभावले नराम्रा माथि आउने र राम्रा तल झर्ने प्रवृत्ति मौलायो भने यसले शान्ति सुरक्षामा समेत असर गर्छ ।’
प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीका अनुसार प्रत्येक प्रहरी कर्मचारीको व्यक्तिगत विवरण फाइल मुख्यालयसँग सुरक्षित रहेको र त्यसलाई नै अहिले नेपाल प्रहरीमा चलनचल्तीको भाषामा ‘ट्र्याक रेकर्ड’ नाम दिइएको हो । ‘बढुवामा पुरस्कार, दण्ड सजाय, कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक कार्यक्षेत्रको मापदण्डलाई आधार बनाइएको हुन्छ’, क्षेत्रीले भने, ‘मापदण्डलाई आधार बनाएर बढुवा गरिएको हो । कसैलाई चित्त बुझ्दैन भने संगठनको नीति नियमभित्र बसेर गुनासो गर्न पाउँछन् ।’
उजुरी दियो कि नम्बर घट्यो
बढुवामा चित्त नबुझेपछि उजुरी सुन्ने समितिमा सम्बन्धित प्रहरी अधिकारीले उजुरी दिन पाउने व्यवस्था छ । यो प्रक्रिया दुई वर्षदेखि चलेको छ । तर अहिलेसम्म उजुरी दिनेको नम्बर माथि पुगेको छैन, बरु दुई नम्बर घटेरै आएको छ ।
खासगरी यो समिति स्थापनाको औचित्य एकातिर र काम अर्कोतिर भएको देखिन्छ । ‘समितिले उजुरी दिने प्रहरी अधिकारी र बढुवामा परेका प्रहरीको रेकर्ड भिडाएर हेर्ने र अंक तलमाथि परे सच्याएर बढुवा गर्न बढुवा समितिलाई निर्देशन दिनुपर्ने हो’, रेग्मी भन्छन्, ‘तर ठ्याक्कै उल्टो गरी मापदण्ड बनाइएको छ । उजुरी जस्ले दियो, उसको दुई नम्बर घट्छ र उस्तै परे उसको बढुवा अनिश्चित हुन्छ ।’
प्रहरी प्रवक्ता क्षेत्रीले उजुरी सुन्ने समितिको स्थापना औचित्य ठीक भए पनि उजुरी दिने प्रहरी कर्मचारीको प्रवृत्ति गलत भएको दाबी गरे । ‘अहिले बढुवामा धेरै असन्तुष्टि जनाउँछन् । अनि मूल्यांकन पद्धतिलाई नै असर पर्ने गरी पटकपटक उजुरी दिएर बढुवा प्रक्रिया नै रोक्ने दाउपेच हुन्छ’, क्षेत्रीले भने, ‘पुछारमा रहेकालाई एक नम्बरमा बढुवा चाहिन्छ । सतही रूपमा उजुरी हालेपछि कसरी फेरबदल हुन्छ ? समितिले उजुरवालाकै विरुद्ध निर्णय गर्नुपर्छ भनेर मापदण्ड बनेको पनि छैन । डकुमेन्टका आधारमा निर्णय भइरहेका छन्