संस्थान प्रमुख नियुक्ति प्रावधान मिच्दै सरकार

संस्थान प्रमुख नियुक्ति प्रावधान मिच्दै सरकार

काठमाडौं : सार्वजनिक संस्थान निर्देशन बोर्डको प्रावधान विपरीत मन्त्रीका नजिकका व्यक्तिलाई संस्थानको प्रमुख बनाउने प्रकृया थालिएको छ । केही सार्वजनिक संस्थानमा अहिले महाप्रबन्धकको पद खाली छ ।

२०६८ सालमा सरकारले सार्वजनिक संस्थानमा कार्यकारी प्रमुखको नियुक्ति, नीति निर्धारण, पुनःसंरचना, अनुगमन तथा मूल्यांकन गर्न अधिकारसम्पन्न ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन आदेश’ जारी गरेको थियो । यस्तो आदेशले सबै संस्थान बोर्डमा सदस्य हुनुपर्ने व्यवस्था थियो ।

नेपाल खाद्य संस्थानमा रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि सरकारले संस्थान निर्देशन बोर्ड गठन आदेशको सूूचीबाट यो संस्थानलाई हटाउन थालेको छ । जेठ २५ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य संस्थानलाई आदेशको सूचीबाट हटाउन सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

आदेशअनुसार बोर्ड, संस्थानका कार्यकारी प्रमुखको नियुक्तिको सिफारिस गर्ने समिति, संस्थानका कार्यकारी प्रमुख, सञ्चालक समितिको अध्यक्ष र सदस्य कुनै राजनीतिक दलको सदस्य नभएको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । तर, वोर्डको सदस्यवाट हटेपछि यस्तो प्रावधान पालन गर्नु पर्दैन ।

खुला प्रतिस्पर्धाबाट छनोट हुने पदमा दलको सदस्य भएको व्यक्ति योग्यता पुगे पनि उम्मेदवार हुन नपाउने व्यवस्था छ । संस्थानमा तत्कालका लागि प्रमुख नियुक्ति गर्न यस्तो प्रयास गरिएको मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । उनले भने, ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड हाल आफै पदाधिकारी विहीन हुँदा निष्क्रिय छ । बोर्डका अनुसार प्रक्रियामा जाँदा ढिला हुने भएकाले सरल उपाय खोजिएको हो ।’ यसअघि मन्त्रालयले नेपाल आयल निगमलाई पनि बोर्डको सूचीबाट हटाएको थियो ।

संस्थानमा राजनीतिक हस्तक्षेप

बोर्डले सार्वजनिक संस्थानमा तालुकवाला मन्त्रालयका मन्त्री, सचिवलगायत हस्तक्षेपबाट मुक्त गर्ने व्यवस्था थियो । संस्थान पूर्णतः आफ्नो तालुकवाला मन्त्रालयको नभई बोर्डको नीतिनिर्देशनमा चल्ने र तालुकवाला मन्त्रालय सम्पर्क मन्त्रालयका रूपमा मात्र सीमित थियो ।

गठन आदेशमा सार्वजनिक संस्थानका कार्यकारी प्रमुखको योग्यता कम्तीमा स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्र प्रशासन, व्यवस्थापन, व्यापार, वित्त, उत्पादन, इन्जिनियरिङ वा कानुनको क्षेत्रमा अधिकृतस्तरमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । नयाँ मापदण्डमा यसलाई घटाएर पाँच वर्ष पु¥याइएको छ । ‘सही पनि गर्न नसकी ल्याप्चे लगाउनुपर्ने मन्त्री या नेताका नातेदार, कार्यकर्ता, चन्दादाता संस्थानको कार्यकारी प्रमुख हुने व्यवस्थालाई अन्त्य गरी सक्षम व्यक्तिलाई नियुक्त गर्न गठन आदेशमा योग्यता र अनुभवलाई अनिवार्य गरेको थियो । तर राजनीतिक नियुक्ति र मन्त्रीका नातेदार भर्तीका लागि यस्तो प्रावधान हटाइएको छ’, एक सरकारी अधिकारीले भने ।

बोर्ड निष्क्रिय

सरकारी संस्थान एकपछि अर्को गरी धराशायी हुँदै गएको विश्लेषण गर्दै सरकारले आफनो मातहतका ३८ संस्थान र विशेष ऐनद्वारा गठित प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइ प्रतिस्पर्धी र व्यावसायिक ढंगले सञ्चालन गराउन निष्पक्ष व्यक्ति रहेको शक्तिशाली बोर्ड गठन भएको थियो । तर, तीन वर्षदेखि बोर्डको उच्च पद रिक्त छ । अहिले बोर्डको कार्यालयमा जम्मा दुई जना कर्मचारी कार्यरत छन् ।

२०७२ मा तत्कालीन अध्यक्षले अवकाश पाएपछि यो बोर्ड रिक्त बनेको हो । सरकारले यसलाई पूर्ति गर्न कुनै तत्परता देखाएको छैन । सरकारले आफू अनुकूलका कार्यकर्ता नियुक्ति गर्न बोर्ड निष्क्रिय बनाएको बोर्डका पूर्वअध्यक्ष विमल वाग्लेले बताए । उनले भने, ‘मन्त्रीहरूले आफ्ना मान्छे भर्ती गर्न बोर्डको पद रिक्त राखिएको हो । नत्र हालसम्म खारेज नै नगरिएको बोर्डको पद रिक्त राख्नुको औचित्य के हो ? ’

खारेजीको प्रयास

बाबुराम भट्टराई नेतृत्वको सरकार ढलेपछि विभिन्न राजनीतिक नेतृत्वका सरकारले बोर्ड खारेज गर्ने प्रयास गरेका थिए । २०७० सालमा सर्वाेच्च अदालतमा बोर्डको खारेजीका लागि विभिन्न आरोपमा आठवटा मुद्दा प¥यो । यसै विषयमा सर्वोच्च अदालतले तत्कालीन अवस्थामा बोर्डले गरेको नियुक्ति रोक्न अन्तरिम आदेश दिएको थियो । यसैबीचमा तत्कालीन आपूर्ति तथा वाणिज्य मन्त्री सुनिलबहादुर थापाले मौका छोप्दै नेपाल आयल निगमको जग्गा खरिद प्रकरणका विवादित बनेको गोपाल बहादुर खड्कालाई ठाडो रूपमा नियुक्ति गरेका थिए ।

मन्त्रीले आफ्नो इच्छाअनुसार कार्यकर्ता भर्ती गराउन मुद्दा हालेको वाग्लेले बताए । सर्वाेच्चले डेढ वर्षपछि सबै मुद्दा खारेज गर्दै बोर्ड खारेजीको प्रयास असफल बनाएको थियो । बोर्डले जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखानालगायत १२ वटा संस्थानमा महाप्रबन्धक नियुक्ति गरेको थियो । मन्त्रिपरिषद्द्वारा जारी गठन आदेशअनुसार सरकारले बोर्डको अध्यक्ष तथा सदस्यको नियुक्ति उच्चस्तरीय समितिको सिफारिसमा गर्ने व्यवस्था छ ।

पटकपटक विज्ञापन

खाद्य संस्थानले महाप्रबन्धक नियुक्तिका लागि तीन पटक विज्ञापन गरिसकेको छ । तर, हालसम्म महाप्रबन्धक नियुक्ति हुन सकेको छैन । सरकार परिवर्तन भएसँगै फरकफरक मितिमा संस्थानको विज्ञापन गरिएको छ । २०७३ भदौ ९ मा खाद्यको प्रमुख नियुक्तिका लागि पहिलो विज्ञापन गरेको थियो । त्यसको कुनै परीक्षा नगराई फेरि माघ ६ मा अर्काे विज्ञापन गरियो । हालसम्म तीनैपटकको विज्ञापनमा २४ जनाले आवेदन दिएको मन्त्रालयका उपसचिव उर्मिला केसीले जानकारी दिइन् । हाल आयल निगमको प्रमुखबाट गोपालबहादुर खड्काले राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.