विश्वकपका विशेष पाहुना पेले रुस नजाने

विश्वकपका विशेष पाहुना पेले रुस नजाने

मस्को : ब्राजिलका सर्वकालीन महान् फुटबलर पेलेको चर्चा सधैं हुने गर्छ । हरेक विश्वकपमा आयोजक राष्ट्रको पाहुनाको सूचीमा पेलेको नाम प्रायः छुटेको हुन्न । रुसको मस्कोमा बिहीबारदेखि सुरु हुने विश्वकपको २१औं संस्करणमा पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष पाहुनाका रूपमा पेलेलाई निम्त्याइएको छ । तर, पेलेले भने स्वास्थ्य ठीक नभएको भन्दै आफू रुस नजाने बताएका छन् ।

विश्वकपको उद्घाटनका अवसरमा विशेष पाहुनाका रूपमा निम्ता पाएका पेले अहिले खुट्टाको समस्याबाट पीडित रहेकाले उनको रुसयात्रा रद्द गरिएको जानकारी पेलेका प्रवक्ताले दिए । ‘पेलेले भित्रैदेखि रुस जाने इच्छा गर्नुभएको थियो । तर, स्टेडियममै बसेर आयोजक टोली रुस र साउदी अरेबियाको खेल हेर्ने उहाँको इच्छा स्वास्थ्यका कारण पूरा हुन सकेन,’ पेलेका प्रवक्ताले भनेका छन् ।

७७ वर्षीय पेलेको पछिल्लो समय घुँडा, तिघ्रा र हड्डीको शल्यक्रिया गरिएको छ । त्यसैले पनि उनी त्यति हिँडडुल गर्न सक्दैनन् र घरमै आराम गरेर बसेका छन् । पेले विश्वकप फुटबलको फाइनल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् १९५८ मा स्विडेनमा भएको विश्वकपको फाइनल खेल्दा पेलेको उमेर केवल १७ वर्ष दुई सय ४९ दिन थियो । उक्त विश्वकपको फाइनलमा ब्राजिलले आयोजक स्विडेनलाई ५-२ गोलले हराउँदै उपाधि चुमेको थियो । फाइनल खेलमा पेलेले पनि दुई गोल गरेका थिए । उक्त विश्वकपमा पेलेले कुल ६ गोल गरेका थिए ।

यसैगरी ७७ वर्षीय पेले विश्वकप फुटबलको इतिहासमा तीन पटक उपाधि जित्ने एकमात्र खेलाडी पनि हुन् । ब्राजिलले सन् १९५८, सन् १९६२ र सन् १९७० मा विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । चिलीमा सन् १९६२ मा भएको विश्वकपको फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३-१ गोलले हराएको थियो । उक्त विश्वकपमा पेलेले केवल एक गोल गरेका थिए ।

सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४-१ गोलले हराएको थियो । फाइनलमा पहिलो गोल १८औं मिनेटमा पेलेले नै गरेका थिए । उक्त विश्वकपमा पेलेले कुल चार गोल गरेका थिए । यसदेखि बाहेक पेलेले सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप पनि खेलेका थिए । ब्राजिल पहिलो चरणबाटै बाहिरिएको उक्त विश्वकपमा पेलेले एक गोल गरेका थिए । यसैगरी पेले विश्वकपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् । सन् १९५८ को विश्वकपमा वेल्सविरुद्घको खेलमा गोल गर्दा उनको उमेर केवल १७ वर्ष दुई सय ३९ दिन थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.