विश्वकपमा सफलता पछ्याउन नसकेको पोल्यान्ड

विश्वकपमा सफलता पछ्याउन नसकेको पोल्यान्ड

वार्सा : पछिल्लो दुई संस्करणको अनुपस्थितिपछि पोल्यान्ड फेरि फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा फर्किएको छ । पोल्यान्ड यसबीचमा १२ वर्ष विश्वकपको फाइनल चरणको खेल खेल्नबाट बञ्चित रह्यो । तर, यसपटक निक्कै सशक्त प्रदर्शनसहित पोल्यान्डले आफूलाई विश्वकप फुटबलमा फर्काएको छ । युरोपेली छनोट प्रतियोगिताको समूह ‘ई’ मा शीर्ष स्थान हात पार्दै रुस विश्वकपमा स्थान सुरक्षित गर्दा पोल्यान्डले आफ्नो पुरानै छविलाई पछ्याएको संकेत गरेको छ ।

पोल्यान्ड यस्तो टोली हो, जोसँग विश्वकपमा ठूला सफलता हात पारेको इतिहास पनि छ । पोल्यान्डले यसअघि दुईपटक विश्वकपमा तेस्रो स्थान हात पारेको छ । यद्यपि त्यो धेरै पहिलेको कुरो हो । सन् १९७४ र सन् १९८२ मा दुई पटक पोल्यान्डले विश्वकपमा तेस्रो स्थान हात पारेको हो । दु:खको कुरा पोल्यान्डले त्यसपछि यो सफलतालाई अघि बढाउन सकेन ।

विश्वकप २१औं संस्करणसम्म आइपुग्दा पोल्यान्ड केवल आठौं पटक सहभागिता जनाउने तयारीमा छ । त्यसमध्ये पछिल्लो ३२ वर्षयता पोल्यान्डले विश्वकपको समूहगत चरण पनि पार गर्न सकेको छैन । सन् १९८६ मा प्रिक्वार्टरफाइनलसम्म पुगेर ब्राजिलसँग ४–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएयता पोल्यान्डले फेरि समूहगत चरण पार गर्न सकेको छैन । त्यसयता पोल्यान्डले सन् २००२ र सन् २००६ मा दुईपटक विश्वकप खेल्यो । यी दुवै अवसरमा पोल्यान्ड समूहगत चरणभन्दा माथि उक्लन सकेन ।

त्यसैले रुस विश्वकपमा पोल्यान्डमाथि सन् १९७४ र सन् १९८२ मा हात पारेको तेस्रो स्थानको सफलतालाई अघि बढाउने मात्रै होइन, समूहगत चरण पार गर्ने चुनौती पनि थपिएको छ । पोल्यान्ड यसपटक कोलम्बिया, सेनेगल र जापान रहेको समूह ‘एच’ मा परेको छ । यो समूह महादेशीय हिसाबले पनि निकै नै समावेशी देखिएको छ । पोल्यान्डले युरोपको प्रतिनिधित्व गर्दा कोलम्बियाले दक्षिण अमेरिका, सेनेगलले अफ्रिका र जापानले एसियाको प्रतिनिधित्व गर्नेछन् ।

यसको चुनौती यी सबै टोलीको फुटबल सिद्धान्त र खेल्ने शैली नै फरक हुने गर्छ । त्यसैले पनि पोल्यान्डमाथि समूहगत चरणमै ठूलो चुनौती देखिएको हो । पोल्यान्डले आफूले खेलेको पछिल्ला खेलमा पनि त्यस्तै नतिजा निकालेको छ । सन् २०१८ सुरु भएपछि पोल्यान्डले खेलेको तीन मैत्रीपूर्ण खेलमध्ये एकमा जित, एकमा पराजय र एकमा बराबरीको नतिजा निकालेको छ ।

गत मार्चमा भएको खेलमा नाइजेरियासँग १–० गोलले पराजित भएको पोल्यान्डले त्यसपछि भएको खेलमा भने दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको थियो । गत शनिबार भएको अभ्यास खेलमा पोल्यान्डलाई चिलीले २–२ गोलको बराबरीमा रोकेको थियो ।

पोल्यान्डको टोली

गोलरक्षक : वचसिइच सिजेस्नी (युभेन्टस), बार्ताेस्ज बियल्कोस्की (इप्सविच टाउन) र लुकास्ज फाबियन्स्की (स्वान्सी सिटी) ।

रक्षक : मिचाल पाज्दान (लेगिया वार्सा), अर्तुर जर्जिस्जिक (लेगिया वार्सा), थिएगो क्लोनेक (स्पाल), जान बेड्नारेक (साउथएम्टन), कामिल ग्लिक (मोनाको), बार्ताेस्ज बेरेस्जिन्स्की (साम्पडोरिया) र लुकास्ज पिस्जेक (बोरुसिया डर्टमन्ड) ।

मिडफिल्डर : किर्जिस्तोफ माक्जिन्स्की (लेगिया वार्सा), जासेक गोराल्सकी (पीएफसी लुडोगोरेट्स राजग्रेड), कारोल लिनेट्टी (साम्पडोरिया), ग्रिजेगोर्ज क्रिचोविक (वेस्ट ब्रोमविच), कामिल ग्रोसिस्की (हल सिटी), मासिज रिबस (लोकोमोतिभ मस्को), जाकुब ब्लेसजिकोस्की (उल्फसबर्ग), स्लवमिर पेस्ज्को (लेचिया जिदान्स्क), पियोटर जिलिन्स्की (नाप्लेस) र राफल कुर्जावा (गोर्निक जाबर्जी) ।

स्ट्राइकर : लुकास्ज टियोडोर्कजिक (एन्डरलेच), आर्कडिउज मिलिक (नाप्लेस), रोबर्ट लेवान्डोवस्की (बायर्न म्युनिख) र डाविड कोवनास्की (साम्पडोरिया) ।

प्रशिक्षक : एडम नावल्का ।

पोल्यान्डको खेल

समूह ‘एच’

जुन १९ : सेनेगलविरुद्ध

जुन २४ कोलम्बियाविरुद्ध

जुन २८ : जापानविरुद्ध

पोल्यान्ड

विश्वकप सहभागिता : आठौं पटक

उपलब्धि : तेस्रो स्थान

फिफा वरीयता : ८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.