‘आइसल्यान्डले सक्छ भने नेपालले किन सक्दैन ?’

‘आइसल्यान्डले सक्छ भने नेपालले किन सक्दैन ?’

जनक न्यौपाने खेलकुद असाध्यै रुचाउने युवा उद्यमी हुन्। उनले सञ्चालन गरिरहेको व्यवसायपनि खेलकुदसँग सम्बन्धित छ। स्कुल जीवनमा उनी फुटबल, भलिबल र क्रिकेट सरोबरी खेल्थे। यी तीनटै खेलका औसत खेलाडी न्यौपाने झण्डै दुई दशकदेखि यिनै खेलका खेलाडीले प्रयोग गर्ने ‘गेम ड्रेस’ तयार पार्ने तथा यी खेलका लागि चाहिने सामग्री आयात गरेर बिक्री–वितरण गर्ने काम गर्छन्। बिहीबारबाट सुरु हुने फुटबलको विश्वमेला ‘वर्ल्डकप २०१८’ को मेसो पारेर उद्यमी न्यौपानेले आफ्नो खेलकुद प्रेम र नेपालीको ‘विश्वकप क्रेज’बारे आफ्ना अनुभव ‘सम्पूर्ण’सँग बाँडेका छन्।


खेलकुदप्रति सानैदेखि रुचि थियो। दरबार हाइस्कुल पढ्दा मैले आफ्नो रुचिलाई देखाउने मौका पाएँ। त्यतिखेर स्कुलनजिक रहेको टुँडिखेलमा गएर फुटबल खेल्न पाउनु मेरो लागि सबथोक थियो। कतिबेला कक्षाबाट बाहिर निस्केर टुँडिखेल जाउँला र फुटबल खेलुँला भन्ने लाग्थ्यो। स्कुलका साथीहरूसँग दिनहुँ टुँडिखेलमा फुटबल खेल्दाखेल्दै खेलकुदप्रति मेरो प्रेम गाढा हुँदै गयो।

स्कुल पढ्दाताका नै मसँग गट्टी भएको कालो रङको फुटबल बुट थियो। किताब राख्ने ठूलो झोलामा किताबसँग फुटबल बुट पनि कोचेर राख्थेँ र फुटबल खेल्दा लगाउथेँ। काठमाडौँ, कलंकीमा घर नजिकैको राँगो बजार जो केही फराकिलो थियो, त्यो स्थान खाली हुनेबित्तिकै साथीहरू जम्मा पारेर फुटबल खेल्ने गर्थें। साथै, स्युचाटारमा रहेको पुरानो एयरपोर्ट जसलाई हामी ‘गरन्डा’ भन्थ्यौँ। घरनजिकै पर्ने भएकाले म साथीहरूसँग त्यहाँ पनि फुटबल खेल्थेँ। सानैदेखि फुटबलसँगसँगै भलिबल र क्रिकेट पनि खेल्थेँ। कलेज पढ्न थालेपछि पनि मैले फुटबल खेललाई निरन्तरता दिइरहेँ। कलेजस्तरीय प्रतियोगिता तथा स्थानीय क्लबहरूबीच हुने प्रतियोगितामा भाग लिन्थेँ। तीन थरीका गेम खेल्ने भएकाले म सबैमा एभरेज खेलाडी थिएँ। फुटबल, भलिबल र क्रिकेट खेल्दै हुर्किएकाले मलाई यी तीन वटै खेलप्रति उत्तिकै माया छ। 

मैले काम पनि खेलसँगै जोडिने खालको रोजेँ। मलाई आफ्नो कामप्रति गर्वछ। नेपाली खेलकुद र खेलप्रेमीसँग जोडिएर वर्षौंदेखि काम गर्न पाउँदा मलाईमैदानमै उत्रिएर गेम खेल्दाजत्तिकै आत्मसन्तुष्टि मिल्छ। आफैँले तयार पारेका जर्सी खेलाडीले लगाएर अन्तर्राष्ट्रिय मैदानमा उत्रिँदा म आफू स्वयंमैदानमा ओर्लिएर गेम खेलिरहेको अनुभूति हुन्छ। हामीलेफुटबल, क्रिकेट, भलिबल, बास्केट बललगायत खेलका लागि ड्रेस उत्पादन गर्छौं। 

कलंकी मन्दिरदेखि भद्रकाली मन्दिरसम्म 

पहिला फुर्सद हुँदा प्रायः कलंकी मन्दिर वरिपरि टहलिने गर्थें। कलेज पढ्दा साथीहरू जम्मा भई गेम खेल्ने र दिन कटाउनेबाहेक अरू केही काम गरिएन। म खाली बसिरहेको देखेपछि मामाको छोरा रमेश रूपाखेतीले मलाई कलंकी मन्दिरबाट भद्रकाली मन्दिर जहाँ उनको स्पोर्ट्स पसल थियो, त्यहाँ लिएर गए। मलाई खेलकुदसँगै व्यापारमा पनि रुचि थियो। तरकारी पसल, स्टेसनरी तथा होलसेल पसलमा काम गरिसकेकाले मलाई पसलमा बस्ने र व्यापार गर्ने काममा रुचि थियो। भद्रकालीमा रहेको स्पोर्ट्स पसल त्यतिबेला निकै चर्चित थियो। आर्मीका लागि चाहिने गेम ड्रेस,ट्र्याक सुट तथा अन्य टिसर्ट बिक्री गर्दागर्दै खेलाडीका लागि चाहिने ड्रेस आफैँले बनाउन पाए केही नयाँ काम हुने थियो भन्ने लाग्यो।

मैले रमेशसामु स्पोर्ट्स कम्पनी खोल्ने प्रस्ताव राखेँ। लामो छलफलपछि‘आरजे स्पोर्ट्स’ कम्पनी खोलेका थियौँ। रमेशको नामबाट ‘आर’ र मेरो नामबाट ‘जे’जोडेर ‘आरजे’ जन्मिएको थियो। चार वटा मेसिन राखेर खोलिएको कम्पनीले पछि स्पोर्ट्स ड्रेस उत्पादन तथा बिक्री–वितरणमारेकर्ड नै कायम गरेको थियो। फुटबल, क्रिकेट तथा भलिबलको राष्ट्रिय टिमका लागि गुणस्तरीय ड्रेस उत्पादन गरेर आरजे बजारमा स्थापित भयो। १४ वर्षसम्म हामीले एकसाथ काम गर्‍यौँ। पछि नयाँ तरिकाले आफ्नो काम अगाडि बढाउने निधो गरेर हामीले छुट्टिने निर्णय गर्‍यौँ। आरजे छोडेर मैले‘साहस स्पोर्ट्स’ सञ्चालन गर्न थालेँ। जुन बल्ल एक वर्ष पुगेको छ। 

एक वर्ष पुग्दा नपुग्दै साहस स्पोर्ट्स, खेलाडी तथा खेलकुद प्रेमीमाझ निकै ‘पपुलर’ भएको छ।यसको श्रेय रमेशजी, जसले मलाई यो क्षेत्रमा ल्याउनुभयो र मेरा गुरु पनि हुन् उनलाई दिन चाहन्छु। गेम ड्रेस उत्पादन गरेर बिक्री–वितरण गर्ने काम कुनै फेन्सी पसल सञ्चालन गरेजस्तो होइन। खेल र खेलाडीसँग जोडिएकाले गेम ड्रेसको व्यापार ‘सिजनेवल’ हुन्छ। गेम भएका बेला व्यापार बढी भएपनि बाह्रैमास एकै रफ्तारमा बिक्री हुँदैन। तर, साहस स्पोर्ट्सले उत्पादन गर्न थालेको केही महिनामा नै हामीले धान्न सक्नेभन्दा पनि धेरै अर्डर आइरहेको छ। 

‘फुटबलको विश्व वरीयतामा निकै पछाडि रहेको नेपालमा विश्वकपलाई लिएर जुन उत्साह देखिन्छ, त्यसले हाम्रो खेलकुदप्रतिको प्रेमलाई प्रकट गर्छ।’

साहसले दृष्टिविहीन क्रिकेट टोलीका लागि तीनवर्षका लागि मुख्य प्रायोजक, भलिबलमा न्यू डाइमन्ड क्लबलाई एक वर्षको सह–प्रायोजक र सोही क्लबकी नेपालकी नम्बर वान भलिबल खेलाडी प्रतिभा मालीलाई ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरेर आफ्नो यात्रा थालनी गरेको थियो। मेरो यो निर्णयलाई खेलप्रेमीले प्रशंसा गरिरहनुभएको छ। व्यापारसँगै खेलकुदका लागि च्यारिटी पनि गर्ने भएकाले सबैतिरबाट माया पाइरहेको छु। खेलकुद क्षेत्रमा केही योगदान गर्न पाउनुलाई म पैसासँग मात्र तुलना गरेर हेर्दिनँ। आफ्नो खेलप्रेम र आत्मसन्तुष्टिका लागि कतिपय अवस्थामा व्यवसायको हिसाबखाताबाट बाहिर गएर पनि सहयोग गर्ने गर्छु। 

बढ्दो जर्सी क्रेज 

विश्वकप नजिकिँदै गर्दा आफूलाई मन पर्ने टिम तथा तिनले लगाउने जर्सी लगाएर फुटबल हेरेर रमाउनेहरू हरेक विश्वकपमा बढ्दै गएका छन्। मैले चार वटा विश्वकपकालागि जर्सीको व्यापार गरिसकेँ। नेपालमा अर्जेन्टिनाको करिब ६० प्रतिशत प्रशंसक छन् जस्तो लाग्छ। त्यसपछि ब्राजिल, जर्मनी, इंग्ल्यान्ड, इटलीलगायत देशका फ्यान पनि छन्। सन् २०१० मा भएको विश्वकपपछि जर्सीप्रति क्रेज असाध्यै बढेको हो। सन् २००६ मा भएको विश्वकपमा जर्सी लगाएर फुटबलको महाकुम्भमेला सेलिब्रेट गर्नेहरू कम थिए। जर्सीको व्यापार त हुन्थ्यो तर सीमित मात्रामा।सन् २०१० सम्म आइपुग्दा पनि लेडिजका लागि जर्सी आउँदैनथ्यो। बच्चाका लागि त झनै थिएन। वयस्क पुरुषका लागि हुने साइजका मात्रै जर्सी नेपाली बजारमा भित्रिने गर्थे। नेपालमा अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पर्चुगल, इंग्ल्याण्ड, फ्रान्स, इटलीका जर्सी बढी बिक्छन्। हाम्रो बजार सानो भएकाले जर्सी धेरै आउँदैनथे। सेतो टिसर्टमा झण्डा र देशको नाम प्रिन्ट गरेर बेच्ने गरिएको थियो। 

सन् २०१४ सम्म आइपुग्दा फुटबल तथा विश्वकपको क्रेज यसरी बढ्यो कि यसले बजारमा धेरै सामानको माग बढाउने काम गर्‍यो। विश्वकप आएसँगै हामी सबैको ध्यान मानिसले लगाएको जर्सी र पसलमा झुण्डिएका जर्सीमा मात्रै ध्यान जान्छ। तर, विश्वकपसँगै टेलिभिजनको व्यापार, अन्य वस्तु तथा सेवाले दिने अफर पनि बढ्दै गएका छन्। सुत्ने कोठालाई स्पोर्ट्स थिममा सजाउन रुचाउनेले तन्नादेखि पर्दासम्ममा फुटबलको थिम दिनेपनि छन्,यहाँ। 

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै यसले जर्सीको क्रेजलाई ह्वातै बढाएको छ। सन् २०१० सम्म घरमा एक जनाले जर्सी लगाएर फुटबल हेर्थे भने अहिले एक वर्ष नपुगेको बच्चालाई पनि आफूलाई मनपर्ने टिमको जर्सी लगाइदिएर फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्नेहरू बढेका छन्। सपरिवार आफूलाई मनपर्ने देशको जर्सीमा सजिने र सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरिएका कारणपनि अहिले जर्र्सीको क्रेज तथा व्यापार निकै बढेको हो। अहिले क्याप, मफलर, किरिङ, पर्स, सेन्डो, ट्राउजर, ज्याकेटलगायत थुप्रै सामान विश्वकपसँग सम्बन्धित चिन्ह प्रयोग गरेर बनाउने र बिक्री गर्ने गरिएको छ। 

यो विश्वकपसम्म आइपुग्दा जर्सीको व्यापारले गुणात्मक फड्को मारेको छ। जति बेला हामीले जर्सीको व्यापार सुरु गरेका थियौँ, काठमाडौँ उपत्यकामा औँलामा गन्न सकिने स्पोर्ट्स पसल थिए। जर्सी खोज्दै काठमाडौँका काँठक्षेत्रदेखि  उपत्यका बाहिरबाट समेत खेलकुदप्रेमी आउने गर्थे।तर,अहिले हरेक चोक तथा गल्लीमा आफूले चाहेको देशको जर्सी पाउन सकिन्छ।जसले गर्दा स्पोर्ट्स पसलसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ। अनलाइन सपिङमार्फत जर्सी खरिद गर्नेले घरको कोठामा बसी–बसी जर्सी प्राप्त गर्नसक्ने अवस्था छ। प्रायः सबै फेन्सी पसलले यो बेला जर्सीको व्यापार गरिरहेका छन्। व्यापारका लागि यो नयाँ मौका बनिरहेको छ।

सबैलाई जोड्ने माध्यम खेलकुद

प्रविधिका हिसाबले विश्व एउटा गाउँमा परिणत भइसकेको छ। विश्वको कुनैपनि कुनाको जानकारी क्षणभरमै प्राप्त गर्न सकिने प्रविधिको उच्चतम विकासका कारण संसार एउटा गाउँमा परिणत हुन सकेको हो। यसैगरी खेलकुदले पनि विश्वभरका मानिसलाई एकैपटक जोडिदिनसक्छ भन्ने पुष्टि खेलकुदलाई लिएर विश्वभर सिर्जना हुने उत्सुकताले दिन्छ। फुटबल खेलको विश्व वरीयतामा निकै पछाडि रहेको नेपालमा विश्वकपलाई लिएर जुन उत्साह देखिन्छ, त्यसले पक्कैपनि हाम्रो खेलकुदप्रतिको प्रेमलाई प्रकट गर्छ।

चार लाख मात्र जनसंख्या भएको सानो देश आइसल्यान्डले पनि विश्वकप खेल्ने हैसियत बनाउनसक्छ भने तीन करोड जनसंख्या भएको नेपाल पनि कुनै बेला विश्वकप खेल्ने हैसियतमा पुग्यो भने नेपालीले अहिले गरिरहेको ‘सेलब्रेसन’लाई कति गुणाले बढाउलान् ? कल्पना गर्दा पनि उत्साहित भइन्छ।खेलप्रतिको यो उत्साहले हामीपनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आफूलाई अघि बढाउन लालायित छौँ भन्ने पुष्टि हुन्छ। फुटबलकै कारण अरू बेला चासो र सरोकारभन्दा बाहिर पर्ने देशको झण्डा धुरीमा फरफराएर हामीले खेलप्रति उच्चस्तरको सम्मान प्रकट गर्ने गरेका छौँ। 

विश्वकपमा जर्सीप्रति हामीले देखाएको क्रेज जस्तै हामीले हाम्रा विभिन्न खेलका राष्ट्रिय टिमले प्रयोग गर्ने जर्सी लगाएर हाम्रा खेलाडीलाई प्रोत्साहित गर्नसक्छौँ। कुनै अन्तर्राष्टिय प्रतियोगिता जितेर फर्किएका खेलाडीको सम्मानका लागि स्वतः स्फूर्त सडकमा ओर्लिने सर्वसाधारणले खेलकुदप्रति आफ्नो सम्मान पटक–पटक प्रकट गरिसकेका छन्। अब हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्रेज प्रकट गर्न जर्सी लगाएर रमाइलो मात्र गर्ने होइन हाम्रा खेलाडी तथा खेलकुद क्षेत्रले भोग्ने समस्याका विरुद्ध पनि आफ्नै देशका खेलाडीले लगाउने जर्सी लगाएर सडकमा उत्रिनुपर्ने छ। खेलकुद क्षेत्रभित्रको राजनीतिलाई सदाका लागि अन्त्य गरेर राज्यले यो क्षेत्रलाई जसरी पनि माथि उठाउँछु भनेर लागि पर्‍यो भने हाम्रो वर्ल्डकप सपना कसो पूरा नहोला ?

(कुराकानीमा अधारित) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.