२१ औँ विश्वकप आजदेखि : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

२१ औँ विश्वकप आजदेखि : ३२ देश, ६४ खेल र ७३६ खेलाडी

मस्को : विश्व फुटबलको महाकुम्भ बिहीबार रसियाको मस्कोमा सुरु हुँदैछ। विश्वकप फुटबलको २१औं संस्करणमा ३२ देश सहभागी छन्। सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन्। विश्वकपमा युरोपबाट आयोजक रसियासहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन्।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन्। उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन्। तीमध्ये युरोपेली फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने खेलाडी ५ सय ४४ जना छन्। यो कुल खेलाडी संख्याको ७४ प्रतिशत हो।

बेलायती फुटबल क्लबहरूबाट व्यावसायिक फुटबल खेल्ने १ सय ३२ जना खेलाडी आ–आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपमा सहभागी हुँदैछन्। विश्वकप २१औं संस्करणमा आइपुग्दा जम्मा ८ देशले मात्र उपाधि जितेका छन्। ती देशमध्ये सर्वाधिक पाँच पटकको विजेता ब्राजिल, साविक विजेता जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ल्यान्डलाई उपाधिको प्रमुख दावेदार मानिएको छ।

विश्वकपको उपाधि होडसँगै पुरस्कार राशिको चर्चा समेत चुलिएको छ। कुल पुरस्कार राशि ४० करोड अमेरिकी डलरमध्ये विश्वकप विजेताले ३ करोड ८० लाख डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) पुरस्कार पाउनेछ। यो पुरस्कार राशि ४ वर्षअघि ब्राजिलमा भएको २०औं संस्करणभन्दा १२ प्रतिशत बढी हो। उपविजेताले २ करोड ८० लाख अमेरिकी डलर हात पार्नेछ।

तेस्रो हुने टोलीले २ करोड ४० लाख र चौथो हुनेले २ करोड २० लाख अमेरिकी डलर पाउनेछन्। क्वार्टरफाइनल अर्थात् अन्तिम ८ मा पराजित हुने ४ टोली प्रत्येकले १ करोड ६० लाख डलर, अन्तिम १६ मा पराजित हुने ८ टोली प्रत्येकले १ करोड २० लाख र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०/८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि तयारीका लागि पाउने रकमसमेत जोडिएको छ।

आगामी विश्वकप रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलाइनेछ। प्रतियोगितामा सहभागी हुन ३२ वटै टोलीका खेलाडी र खेल पदाधिकारी रसिया पुगिसकेका छन्। उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका पाहुना र पूर्वखेलाडी पनि रसिया पुग्ने क्रम जारी छ। ब्राजिलका पूर्वखेलाडी पेले बिरामी भएकाले यसपटक विश्वकपमा उपस्थित नहुने भएका छन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक रसिया र एसियाली राष्ट्र साउदी अरेबियाबीच हुनेछ।

विश्वकपको उद्घाटन खेल : कमजोर टोलीबीचको प्रतिस्पर्धा

मस्को : विश्वकप फुटबलको २१औं संस्करण बिहीबारदेखि रुसमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुस र एसियाली टोली साउदी अरेबिया भिड्दै छन्। राजधानी मस्कोस्थित लुझनिकी स्टेडियममा हुने खेल नेपाली समयअनुसार ८:४५ बजे सुरु हुनेछ। यस खेलपछि साउदी विश्वकप फुटबलको उद्घाटन खेल खेल्ने पहिलो एसियाली टोली बन्नेछ।

रुस आयोजकको हैसियतमा सीधै छनोट भएको हो भने साउदीले एसियाली छनोट प्रतियोगिताको समूह बी’ बाट उपविजेता टोली बन्दै रुसको यात्रा तय गरेको हो।

यद्यपि यो उद्घाटन खेललाई ‘अन्डर डग’ टोलीबीचको प्रतिस्पर्धा मानिएको छ। कमजोर प्रदर्शन र पछिल्लो फिफा वरीयताले यी दुवै टोलीसँग अन्डर डगको ‘ट्याग’ झुन्डिएको हो।

यसपटक विश्वकपमा सहभागी ३२ टोलीमध्ये साउदी र आयोजक रुस फिफा वरीयतामा सबैभन्दा तल रहेका टोली हुन्। अघिल्लो साता मात्रै फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा रुस सबैभन्दा तल ७०औं स्थानमा र साउदी ६७औं स्थानमा छन्। पछिल्लो समय यी दुई टोलीको प्रदर्शन पनि निकै खस्किएको छ। रुसले सन् २०१७ को अक्टोबरयता कुनै पनि खेलमा जित हात पार्न सकेको छैन।

अक्टोबर ७ तारिखमा दक्षिण कोरियालाई ४–२ गोलले पराजित गरेयता खेलिएको सात खेलमा रुसले निरन्तर कमजोर प्रदर्शन गर्दै आएको छ। सात खेलमध्ये केवल दुई खेलमा बराबरीको नतिजा निकालेको रुसले बाँकी सबै खेलमा पराजय व्यहोरेको छ। यसैगरी साउदीको विश्वकप तयारीले पनि धेरै अवरोध बेहोरेको छ। विश्वकप छनोटदेखि अहिलेसम्म साउदीले तीनजना प्रशिक्षक परिवर्तन गरेको छ। यसले टोलीको प्रदर्शनमा निकै ठूलो असर परेको देखिन्छ।

साउदी पनि रुस विश्वकपको तयारीस्वरूप खेलिएको पछिल्लो तीनमध्ये सबै खेलमा पराजित भएको छ। त्यसमाथि विश्वकपमा साउदीको इतिहास पनि खासै गतिलो छैन। आफ्नो पहिलो सहभागितामै सन् १९९४ मा प्रिक्वार्टरफाइनलसम्म पुगेको साउदीले त्यसपछि विश्वकपको कुनै पनि खेलमा जित हात पार्न सकेको छैन। त्यसयता साउदीले खेलेको नौ विश्वकप खेलमध्ये सातमा पराजय व्यहोरेको छ भने दुई खेलमा बराबरीको नतिजा निकालेको छ।

त्यसैले पनि यी दुई टोलीबीचको प्रतिस्पर्धाले धेरैको ध्यान नतान्न सक्छ। यद्यपि उस्तै स्तरका टोलीबीचको खेलले प्रतिस्पर्धात्मक फुटबलको भरपुर मजा भने दिन सक्छ। किनभने यी दुवै टोली आफ्नो पहिलो खेलमा जितसहित समूहगत चरण पार गर्ने योजनामा हुनेछन्। आफ्नो समूहमा रहेका अन्य दुई टोली उरुग्वे र इजिप्ट तुलनात्मक रूपमा बलियो देखिएकाले पनि आफ्नै स्तरको टोलीविरुद्धको जितले रुस र साउदी दुवैको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ।

रुस र साउदीबीच हालसम्म कुनै पनि आधिकारिक प्रतियोगितामा भेट भएको छैन। यी दुई टोलीले एक मैत्रीपूर्ण खेलमा एकअर्कोविरुद्ध प्रतिस्पर्धा गरेका थिए। सन् १९९३ मा भएको उक्त मैत्रीपूर्ण खेलमा रुस ४–२ गोलले विजयी भएको थियो। यस पटक आधिकारिक प्रतियोगितामा पहिलो जित दर्ता गराउने दुवै टोलीसँग गतिलो अवसर पनि छ। आयोजक रुससँग भने घरेलु मैदान र दर्शकको साथ पनि रहनेछ।

विगतमा यी दुई टोली

  • मैत्रीपूर्ण खेल (सन् १९९३)
  • रुस ४ साउदी अरेबिया २

प्रभाव पार्न सक्ने खेलाडी

फहाद अल मुवाल्लद (साउदी अरेबिया)

साउदी अरेबियाका प्रतिभाशाली खेलाडी हुन्, फहाद अल मुवाल्लद। २३ वर्षीय विंगर मुवाल्लद साउदीको पछिल्लो महत्वपूर्ण खेलमा निर्णायक प्रदर्शन गर्दै आएका छन्। साउदीले यस पटक एसियाली छनोट प्रतियोगिताको समूह ‘बी’ बाट जापानपछि दोस्रो हुँदै रुस विश्वकपको छनोट पक्का बनाउँदा मुवाल्लदको निर्णायक भूमिका रह्यो। समूहगत चरणको अन्तिम खेलमा उनकै निर्णायक गोलमा जापानलाई पराजित गरेपछि मात्रै साउदी रुस विश्वकपका लागि छनोट भएको थियो।

मुवाल्लद यस्ता खेलाडी हुन्, जो सानै उमेरमा बार्सिलोनाले आफ्नो एकेडेमीका लागि लिन खोज्दा अस्वीकार गरेका थिए। बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेपछि मुवाल्लद ६ वर्षकै उमेरमा घरेलु टोली अल इत्तिहादसँग अनुबन्धित भएर फुटबल सिके। सन् २०१२ मा साउदीको राष्ट्रिय टोलीमा डेब्यु गरेका मुवाल्लदले ४५ खेल खेल्दै १० गोल पनि गरेका छन्।

पछिल्लो पटक साउदीले रुस विश्वकपको तयारीस्वरूप स्पेनी ला लिगासँग सम्झौता गरी आफ्ना महत्वपूर्ण खेलाडीलाई त्यहाँको क्लबबाट खेल्न पठाउँदा मुवाल्लद पनि परेका थिए। उनी लेभान्तेमा केही समय बिताएर राष्ट्रिय टोलीमा फर्किएका हुन्। डिफेन्स, मिडफिल्ड र गोल गर्नसमेत पुग्ने विङ्गर मुवाल्लदले बिहीबार साउदीले आयोजक रुसविरुद्ध उद्घाटन खेल खेल्दा टोलीलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.