सनम शाक्य हत्या र सुन काण्ड : फोन रेकर्डले प्रहरीबीच बढायो शंका
काठमाडौं : सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोली धरान जानुअघि तत्कालीन प्रहरीका निमित्त महानिरीक्षक बमहादुर भण्डारीसँग एसएसपी दिवेश लोहनीले दोहोरो वार्तालाप गरेका थिए । ‘आवश्यक परे गोली नै चलाउन निर्देशन दिएको छु’ भनेर भण्डारीसँग आदेश लिएका लोहनीले वार्तालापको फोन रेकर्ड गरेका थिए ।
अपरेसनमा टोली पठाउँदा फस्न सक्ने आकलन गरेरै प्रमाण जुटाउने उद्देश्यले फोन रेकर्ड गरेका थिए वा नियोजित रूपमा भन्ने विषय अनुसन्धानकै क्रममा छ । ‘कसको आदेशमा प्रहरी पठाएको ? ’ भनेर खोजीनिति भए लोहनीका लागि त्यो वार्तालापको टेप प्रमाण बन्न सक्थ्यो । लोहनीको यो कार्यले उनले संगठन प्रमुखलाई विश्वास नगरे जस्तो पनि देखिन्छ ।
अपरेसनमा खटिएका डीएसपी प्रजित केसी र लोहनीबीच पनि पटकपटक वार्तालाप भएका थिए । केसीले पनि लोहनीसँग भएका वार्तालाप फोनमा रेकर्ड गरेका थिए । आदेश दिने हाकिमले भोलि अप्ठ्यारो पर्दा आफ्नो पक्षमा बोलिदिएनन् भने फसिन्छ भन्ने डरले केसीले फोन रेकर्ड गरेका हुन् वा नियोजित ? यो विषय पनि अनुसन्धानकै दायरामा छ । तर अहिले दुवै फोन रेकर्ड लोहनी र केसीका लागि हानिकारक बनेका छन् ।
गोप्य वार्तालापका रेकर्ड सार्वजनिक भएका छन् । गोरेलाई जंगलमा लगेर इन्काउन्टर गर्ने योजना एकातिर बनेको र अर्कोतिर शाक्यको शव व्यवस्थापनको नाममा गोरेसँगै दुई करोड रुपैयाँको डिल भएको छ । रेकर्ड सार्वजनिक भएसँगै दुई विरोधाभास योजना अहिले सतहमा आएका छन् । तत्कालीन निमित्त महानिरीक्षक भण्डारीलाई गोरे इन्काउन्टरको विषय फोनमा उल्लेख गरेका छैनन् लोहनीले ।
गोरेलाई जंगलमा लगेर इन्काउन्टर गर्ने योजना एकातिर बनेको र अर्कोतिर शाक्यको शव व्यवस्थापनको नाममा गोरेसँगै दुई करोड रुपैयाँको डिल भएको छ ।
उनले यति मात्रै भनेका छन्, ‘त्यो गोेरे नोटोरियस हो । २०÷२२ किलो सुन लुटिएको कुरा छ । शवको फोटो पठाएको छ । हामीले दुई करोडको बार्गेनिङ गरेर समात्ने योजना बनाएका छौं । आवश्यक पर्यो भने मैले टोलीलाई गोली हान्न पछि नपर्नू भनेर पठाएको छु ।’ तर लोहनी र केसीबीच भएको वार्तालापमा गोरेलाई दोहोरो फायरिङको नाटक गरेर ‘सिध्याउने’ कुरा भएको छ ।
एकातिर हाकिमलाई एउटा रिपोर्टिङ गरेर लोहनीले टोली पठाउनु तर फिल्डमा पुगेको टोलीलाई अर्को निर्देशन दिनुले अहिले उनी शंकाको घेरामा छन् । फोन रेकर्ड गर्दैमा अविश्वास उत्पन्न भयो भन्न नमिल्ने पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले बताए । ‘प्रविधिको प्रयोग गर्नु राम्रै हो । तर गलत प्रयोजनका लागि गर्नु राम्रो होइन’, उनले भने । सुरक्षा निकायमा अहिले मात्रै नभएर पहिलेदेखि नै अविश्वास हाबी भएको बताए । ‘राम्रो उद्देश्यका लागि काम गर्दा फोन रेकर्ड गर्नु आवश्यक छैन । तर पछि कुनै स्थितिले अप्ठ्यारो पर्न सक्छ भन्ने शंका लाग्यो भने रेकर्ड गर्छन्’, उनले भने, ‘तर संवेदनशील विषयका कुराकानी बाहिर ल्याउनु राम्रो होइन ।’
यता प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले भने सुन तस्करी प्रकरणमा भएको फोन रेकर्ड अनैतिक कार्य भएको बताएका छन् । यस्ता गतिविधिले निश्चित वर्गमा अविश्वास पैदा हुने उनको भनाइ छ । ‘यो टेप प्रकरणपछि हामीले एउटा नीति नै तय गरेर मातहतलाई सूचित गराउने योजना बनाएका छौं । यस्ता गतिविधि कदापि सह्य हुँदैनन् । यसले संगठनलाई मजबुत बनाउँदैन पनि’, उनले भने ।