तिरहुतिया गाछीको अस्तित्व संकटमा
जनकपुरधाम : तिरहुत राज्य भएका बेला तिरहुत सेनाले वि श्राम गर्ने थलो भनेर चिनिएको जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीको अस्तित्व संकटमा परेको छ।
मैथिलीमा बगैंचालाई गाछी पनि भन्ने गरिएकाले वर्षौंअघि रूखै रूखले भरिएको वि श्रामस्थललाई तिरहुतिया गाछीको नाउँ दिइएको उल्लेख पाइन्छ। नाममा गाछी भए पनि अहिले तिरहुतिया गाछीमा रूख भेटाउन गाह्रो छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित यो ठाउँ संरक्षणको प्रयास भए पनि केही नेता र व्यापारीको दबाबका कारण साढे चार बिघा क्षेत्रफलमा फैलिएको उद्यानस्थल जनकपुर उपमहानगर कार्यालयको माटो र ग्राभेल थुपार्ने थलो बनेको छ।
जानकारका अनुसार यसको क्षेत्रफल मुरली चोक, कदम चोक, शुक्रबारी हटियाबाट राम चोकसम्म थियो। तर, सहर विस्तारका क्रममा जग्गा अतिक्रमण बढ्दै गई अहिले साढे चार बिघामा सीमित हुन पुगेको छ। जिल्ला अदालत, पुनरावेदन अदालत, जिल्ला प्रहरी, जिल्ला प्रशासन, राष्ट्र बैंक, महेन्द्रनारायण निधि सांस्कृतिक संग्रहालयलगायत विभिन्न कार्यालय यसै उद्यान क्षेत्रभित्र निर्माण गरिएका छन्।
जोगिएको क्षेत्रमा २०४६ सालसम्म रूख देखिन्थे तर बिस्तारै कटान बढेर ०७२ सालसम्म आउँदा नौवटा रूख थिए। तर, अहिले आएर ती रूख पनि काटिएका छन्। प्रदेश राजधानी जनकपुर बनाइए पनि पर्याप्त व्यवस्थित उद्यान वा मनोरञ्जन पार्क नभएको यहाँ ऐतिहासिक तिरहुतिया गाछीको संरक्षणमा सबै लाग्नुपर्ने देखिएको छ। तर, निजी स्वार्थका कारण यसलाई कुरूप र ग्राभेल थन्क्याउने थलोमा परिणत गरिएको छ। २०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल, प्रवेशद्वार निर्माण गरेको थियो। तर, प्रवेशद्वार खुला भएका कारण सर्वसाधारणले यसलाई दिसापिसाब गर्ने, फोहोर फाल्ने, गाईवस्तु चराउने थलो बनाएको स्थानीयवासीको भनाइ छ।
केही समाजसेवीको अगुवाइमा तीन वर्षअघि तिरहुतिया गाछी जोगाउने प्रयास गरिएको थियो। सर्वदलीय बैठक गरी अमरचन्द्र अनिलको संयोजकत्वमा तिरहुतिया गाछी उद्यान संरक्षण समिति गठन गरियो। समितिले फोहोर भइसकेको उद्यानलाई संरक्षणको प्रयास गर्यो। त्यस बेला जिल्ला वन कार्यालयबाट २ लाख र उपमहानगरबाट डेढ लाख रुपैयाँ उद्यान संरक्षण समितिलाई उपलब्ध गराइएको थियो। ‘सानो रकमबाट हामीले संरक्षणको काम सुरु गरेका थियौं’, समितिका संयोजक अनिलले भने, ‘दिसापिसाबले अति नै फोहोर भएको उद्यानलाई दिन–रात लगाएर सफा गर्यौं, विभिन्न व्यक्तिको सहयोगमा माटो हाल्ने कामका साथै बिरुवा पनि रोपियो।’
२०७३ मा पनि वन कार्यालयले उद्यान संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएको थियो। जसबाट उद्यानभित्र मर्निङ वाक गर्न, ट्र्याक तथा चौतारा निर्माण, सर्वसाधारणलाई बस्न थुप्रै सेड निर्माण र फोहोर सफाइको काम भएको जनाइएको छ। सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक रमेश सिंहको पहलमा उद्यान सौन्दर्यीकरणका लागि २ करोड रकमसमेत डिभिजन कार्यालयमार्फत विनियोजन गरिएको थियो। तर, ती काम विभिन्न दलका व्यक्ति र व्यापारीले दुई वर्षभित्रै समितिमा अवरोध सिर्जना गर्न थाले।
उद्यान निर्माण भयो भने समितिका पदाधिकारीले जस पाउने भन्दै केही व्यक्तिको दबाबमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा सर्वदलीय बैठक गरी ऐतिहासिक उद्यानलाई विभिन्न कार्यक्रम गर्ने थलो बनाइनुपर्नेमा दबाब दिइयो। दबाब बढेपछि समितिलाई उद्यान संरक्षण बन्द गर्न निर्देशन दिइयो।
‘हामीले उद्यानभित्र रोपेका बिरुवा अहिले मासिएका छन्’, वन कार्यालयका अधिकृत सुरेश शर्माले भने, ‘हामीले एउटा राम्रो र सुन्दर उद्यान बनाउन काम थाले पनि त्यसलाई निरन्तरता दिन सबैको सहयोग पाउन सकेनौं।’ हाल जनकपुर उपमहानगरको अधीनमा रहेको तिरहुतिया गाछीभित्र ग्राभल र माटो थुपारिने काम भएको छ। समितिले लगाएका बिरुवाहरू मासिएका छन्। होटलहरूले फोहोर थुपारिरहेका छन्।