दुर्घटना होइन हत्या
बुधबार राजधानीको व्यस्त र चापयुक्त चोकमा एक महिलाको निधन भएसँगै सडक दुर्घटना फेरि एकपटक बहसमा आएको छ । बहसमा टिपर र ट्रक पनि जोडिन पुगेका छन् । खासगरी टिपरको भूमिका बहसको केन्द्रमा छ । जेठ महिनामा मात्र टिपरकै कारण काठमाडौं उपत्यकाभित्र मात्र चारजनाको मृत्यु भएको छ । त्यसैले प्रश्न उठेको छ- जसलाई दुर्घटना भनिएको छ, के त्यो वास्तवमै दुर्घटना हो ? दुर्घटनाको साधारण अर्थ हो, भवितव्यवश हुने दुःखदायी घटना जसमा नियत जोडिएको हुँदैन ।
कसैले नियमहरूको उल्लंघन गरी सवारी साधन हाँक्छ र त्यसैका कारण कसैले जीवन नै गुमाउनुपर्छ भने त्यो कसरी भवितव्य हुन पुग्छ ? कसैलाई हत्या गर्ने योजना मात्र नियत हुँदैन । नियम उल्लंघनको अन्तिम परिणाम कोही कसैको निधन हुन सक्छ भन्ने जान्दाजान्दै पनि उल्लंघन गर्नु नियत नै हो । नियतवश भएका उल्लंघन र त्यसका कारण भएको मृत्युलाई त्यसैले भवितव्य वा दुर्घटनाभित्र राख्न मिल्दैन । त्यो हत्या नै हो । हत्यामा ज्यान मुद्दाको अभियोग लाग्छ । त्यसैअनुरूप सजाय हुन्छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी साधन दुर्घटनामा ज्यान गएमा सर्वस्वसहित जन्मकैदसम्मको सजाय हुने व्यवस्था गरेको छ ।
उक्त ऐनको दफा १६१(२) मा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने जानीजानी वा लापरबाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई मानिसको मृत्यु भएमा दुई वर्षदेखि दस वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । लापरबाही मापनका लागि तीन अवस्थाको अध्ययन गरिन्छ ः सम्भावित परिणामको पूर्वानुमान, स्वेच्छिक कार्य, चालकको अनुचित खतरा मोल्ने वा जोखिम लिने प्रयास ।
ट्राफिक प्रहरीका अधिकृतहरूले जनाएअनुसार टिपर चालकले ट्राफिक नियम पालना नगर्ने, लेन अनुशासन नमान्ने र धेरै ट्रिपका लागि होडबाजी गर्ने गरेका छन् । के यी प्रवृत्ति उल्लिखित तीन अवस्थाभित्र पर्दैनन् ?
ट्राफिक प्रहरीले उपलब्ध गराएका तथ्यांकहरूकै आधारमा पनि अधिकांश दुर्घटना लापरबाहीका कारण हुने गरेका छन् । तीमध्ये सबैभन्दा बढी लापरबाह टिपर र ट्रकचालक हुने गरेका छन् । तर अधिकांश घटनामा चालकहरू भवितव्यबराबरको सजाय भुक्तान गरेर छुट्ने गरेका छन् । के राज्यले अपराधलाई पनि भवितव्य बनाएर छुट दिन मिल्छ ? विडम्बना टिपरकै कारण पटकपटक मानिसको ज्यान जाँदा पनि राज्यतहमा सामान्य अनुसन्धान गर्ने सचेतना पनि पलाएको छैन । जनमानसमा भने टिपर कालको प्रतिबिम्ब बनिसकेको छ । सडकमा टिपर गुडेको देख्नासाथ साधारण सवारी चालकले डर मान्नपुर्ने अवस्था उत्पन्न भएको छ । यसको कारणको खोजी नगर्नु पनि टिपरचालकको जत्तिकै लापरबाही हो ।
टिपरचालककै कारण किन बढी दुर्घटना वा हत्या भइरहेको छ भन्नेबारे केही तर्क गर्न सकिन्छ । ट्राफिक प्रहरीका अधिकारीकै अनुसार पनि यसको मुख्य कारण हो, लापरबाहीपूर्वक टिपर हाँक्नु । आखिर किन टिपर चालकहरू लापरबाही गर्छन् ? यसको मुख्य कारण हो, अधिकांश टिपरचालक परिपक्व छैनन् । यसबारे महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत गठित रमादेवी पराजुली नेतृत्वको ‘सवारी ज्यानसम्बन्धी मुद्दाको फैसला कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन कार्यदल’ ले बुझाएको प्रतिवेदनमा प्रशस्त अध्ययन-विश्लेषण गरिएको छ ।
२०७२ सालमा बुझाइएको प्रतिवेदनको सुझाव खण्डमा प्रस्ट लेखिएको छ, ‘१८-२५ वर्षको उमेर समूहका सार्वजनिक सवारी चलाउने चालकबाट बढी दुर्घटना गराएको देखिएकाले व्यावसायिक वा ठूला सवारी चलाउन निश्चित उमेर समूह, शैक्षिक योग्यता, निश्चित अनुभव तालिम हासिल गरेकालाई मात्र सवारीचालक अनुमतिपत्र प्रदान गर्ने कानुनी व्यवस्था गर्नु उपयुक्त देखिन्छ ।’
सरकारले आपूmले सुझाव पाएको दुई वर्षसम्म पनि त्यसको कार्यान्वयन गर्न कुनै प्रयास गरेको पाइँदैन । फलस्वरूप सडकमा दुर्घटना नाममा हत्या निरन्तर छ ।