चितवनमा माइक्रो बस र ट्रक ठोक्किँदा तीन यात्रुको ज्यान गयो
चितवन: यहाँको इच्छाकामना गाउँपालिका- चुम्लिङटारमा शुक्रबार बिहानै माइक्रो बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको घटनास्थलमै ज्यान गएको छ। यो दुर्घटनामा अन्य सातजना घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं गइरहेको ग१ख ७६९२ नम्बरको माइक्रो बस बिहान सवा सात बजे एकापसमा जुध्दा ती यात्रुको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । घाइते सातजनालाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार माइक्रोसँग ठोक्किएपछि ट्रक सडकबाट ५० मिटर तल खोचमा खसेको छ । दुर्घटनामा ट्रक र माइक्रो बसका चालक पनि घाइते भएका छन् । घाइते भएकै अवस्थामा प्रहरीले दुवैजनालाई हिरासतमा लिएको छ ।