कोरियन प्रहरी अधिकृत बनिन् नेपाली मूलकी सम्झना राई
सोल: दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् ।
२८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।
भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् ।
सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले यही महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।
परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको राईले बताइन् ।
राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै समस्यामा परेका बताएकी राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने बताइन् ।
उनले विविध कारणले प्रहरी चौकीमा ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफु तत्पर रहने पनि बताइन् । आगामी महिना अर्थात जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन् । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अधिकृतकोरुपमा उनले काम शुरु गर्ने छिन् ।