पूर्वविजेताविरुद्ध युरो च्याम्पियन

पूर्वविजेताविरुद्ध युरो च्याम्पियन

मस्को : रुस विश्वकपको समूह ‘बी’अन्तर्गत महत्वपूर्ण खेलमा शुक्रबार राति सन् २०१० को विजेता स्पेन र सन् २०१६ को युरोकप विजेता पोर्चुगल भिड्दै छन् । यी दुई युरोपेली टोलीबीचको प्रतिस्पर्धा रुस विश्वकपमा समूहगत चरणको बहुप्रतीक्षित खेल हो । स्पेन र पोर्चुगल दुवै रुस विश्वकप फुटबलका सशक्त टोली हुन् । स्पेनसँग युरोपकै उत्कृष्ट मानिएको घरेलु स्पेनिस ला लिगामा स्थापित खेलाडीको साथ छ ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकप फुटबलको उपाधि जितेको पोर्चुगलको टोली पनि निकै सशक्त देखिएको छ । पोर्चुगलले आफू स्टार खेलाडी रोनाल्डोमाथि मात्र निर्भर नरहेको सन्देश युरोकपको उपाधि जितेर दिइसकेको छ । पोर्चुगलले रोनाल्डोबिना नै फाइनलमा आयोजक फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यही समयबाट राष्ट्रिय टोलीमा उदाएका पोर्चुगलका युवा खेलाडी रुस विश्वकपसम्म आइपुग्दा अझ खारिएका छन् ।

यी दुवै टोली आफ्नो पहिलो खेलमा जितसहित २१औं विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छन् । स्पेनलाई अघिल्लो संस्करणमा समूहगत चरणबाटै बाहिरिनु परेको पीडा पनि छ । सन् २०१० मा उपाधि जितेको स्पेन त्यसको चार वर्षपछि ब्राजिलमा भएको विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो । पोर्चुगललाई रोनाल्डोको नेतृत्वमा विश्वकपको पहिलो उपाधि जित्ने लालसा पनि छ।

त्यसबाहेक यी दुई टोलीबीच समूह ‘बी’बाट विजेता बन्दै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने दबाबपूर्ण अवस्था पनि छ । त्यही कारण यी दुई टोलीबीचको खेल राम्रा खेलाडीका कारणले मात्रै होइन, अन्य कारणले पनि रोमाञ्चक हुने पक्का छ । स्पेन र पोर्चुगलले रुस विश्वकपको तयारीस्वरूप खेलेका खेलमा आफूलाई उच्च लयमा राखेका छन् ।

स्पेन पछिल्लो २० महिनायता आफ्नो कुनै पनि खेलमा पराजित भएको छैन । यो अवधिमा खेलिएका २० खेलमध्ये स्पेनले १४ खेलमा जित हात पारेको छ । यसैगरी पोर्चुगलले पनि पछिल्लो २० महिनायता खेलेको २५ खेलमध्ये केवल चार खेलमा पराजय बेहोरेको छ । पोर्चुगलले १७ खेलमा जित हात पारेको छ ।

 यी दुई टोलीबीच विश्वकप फुटबलमा भने सन् २०१० मा एकपटक मात्र प्रतिस्पर्धा भएको छ । उक्त खेलमा स्पेन १-० गोलले विजयी भएको थियो । त्यसबाहेक समग्रमा भने यी दुई टोलीबीच ३६ पटक प्रतिस्पर्धा हुँदा स्पेनले सर्वाधिक १८ पटक जितेको छ । पोर्चुगलले भने ६ पटक मात्र जित हात पारेको छ । पोर्चुगल युरोपेली छनोट प्रतियोगिताको समूह ‘बी’ र स्पेन समूह ‘जी’को विजेता बन्दै रुस विश्वकपका लागि छनोट भएका टोली हुन् ।

विगतमा यी दुई

कुल खेल :३६

स्पेन विजयी :१८

पोर्चुगल विजयी :६

बराबरी :१२

स्पेन

विश्वकप सहभागिता :१५औं पटक

उपलब्धि :उपाधि (सन् २०१०)

फिफा वरीयता :१०

पोर्चुगल

विश्वकप सहभागिता :सातौंपटक

उपलब्धि :तेस्रो स्थान (सन् १९६६)

फिफा वरीयता :४

प्रभाव पार्नसक्ने खेलाडी 


क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)


पछिल्लो पुस्ताका महान् फुटबलरमध्येका एक हुन्, क्रिस्टियानो रोनाल्डो । स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । अग्रपंक्तिमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने रोनाल्डो बललाई आफ्नोे इच्छाअनुसार खेलाउन सक्ने क्षमता र छुट्टै खेल्ने शैलीका कारण निकै सफल र चर्चित छन् ।

मैदानमा सधैं आक्रामक रूपमा प्रस्तुत हुने उनी आफ्नो टोलीका लागि गोल मेसिनकै रूपमा प्रस्तुत हुने गर्छन् । रोनाल्डो खुट्टा र हेडिङ दुवैबाट गोल गर्न पनि उत्तिकै खप्पिस फुटबलर हुन् । युरोपेली क्लब फुटबलमा रियल म्याड्रिडको पछिल्लो सफलतामा मुख्य भूमिका निर्वाह गरेका रोनाल्डोले आफ्नो नेतृत्वमा पोर्चुगललाई अहिलेसम्मकै ठूलो उपाधिका रूपमा सन् २०१६ को युरोकप दिलाएका थिए ।

युरोकपमा चोटग्रस्त बनेपछि उनले फाइनल खेल पूरै समय खेल्न त सकेनन् तर टोलीलाई फाइनलसम्म पु¥याउन उनकै भूमिका महŒवपूर्ण रहेको थियो । पोर्चुगिज राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका रोनाल्डोले एक सय ५० खेलबाट ८१ गोल गरेका छन् । टोलीका कप्तानसमेत रहेका पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डो रुस विश्वकपमा पनि पोर्चुगलका मुख्य हतियार हुन् ।

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डोको विश्वकपमा यो चौथो सहभागिता हो । उनले यसअघि सन् २००६, सन् २०१० र सन् २०१४ को विश्वकपमा पनि राष्ट्रको प्रतिनिधित्व गरेका थिए । उनले विश्वकपमा हालसम्म तीन गोल गरेका छन् । ३३ वर्षीय रोनाल्डोकै प्रदर्शनले रुस विश्वकपमा पोर्चुगलको भविष्य निर्धारण गर्नेछ ।

आन्दे्रस इनिएस्टा (स्पेन)

आन्दे्रस इनिएस्टा स्पेनिस राष्ट्रिय टोलीको ‘गोल्डेन जेनेरेसन’का महŒवपूर्ण सदस्य हुन् । उनी टोलीको हरेक ठूला सफलतासँग अभिन्न रूपमा जोडिएका छन् । स्पेनले सन् २००८ देखि सन् २०१२ सम्म दुई युरोकप र एउटा विश्वकपको उपाधि जित्दा मिडफिल्डबाट उनै इनिएस्टाले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दा इनिएस्टाले नै निर्णायक गोल गरेका थिए ।

आफ्नो खेल जीवनको लगभग पूरा समय घरेलु टोली बार्सिलोनाबाट खेलेका उनले रुस विश्वकपपछि राष्ट्रिय टोलीसँगै बार्सिलोनाबाट पनि सन्न्यास लिने बताएका छन् । आफ्नो खेल जीवनकै अन्तिम विश्वकप खेलिरहेकाले पनि यति बेला इनिएस्टा सुखद बिदाइको योजनामा छन् । उनले कल्पना गरेको सुखद बिदाइ रुस विश्वकपको उपाधि जितेर मात्र सम्भव हुनेछ ।

मिडफिल्डबाट खेल्दै आफ्ना स्ट्राइकरलाई गोलका लागि राम्रा अवसर निकाल्न सक्ने क्षमता पनि उनमा छ । यसका अतिरिक्त आफैं पनि गोल गर्न सक्षम इनिएस्टाले उपाधिसहित आफ्नो सुखद बिदाइका लागि विश्वकपमा पूरै क्षमता खर्चनेछन् । उनको त्यही मेहनत रुस विश्वकपमा हेर्नलायक हुनेछ । सन् २००६ मा स्पेनको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका ३४ वर्षीय इनिएस्टाले त्यसयता एक सय २६ खेल खेल्दै १३ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.