मेसीका ‘फ्यान’ कप्तान सुवास नेम्वाङ
किपर कस्तो-चुम्बक जस्तो।
ब्याक कस्तो- खम्बा जस्तो।
खेलाडी कस्ता- खरायो जस्ता।
संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङलाई आफ्नै कप्तानीमा इलाम क्याम्पसको तर्फबाट २०२६/२७ सालतिर फुटबल खेल्दा माथि उल्लेखित दर्शकको हुटिङले खुबै हौस्याउँथ्यो। 'इलाममा उहिल्यैदेखि फुटबल हेर्न गाउँलेहरू गुन्द्री, पिरा र खानेकुरा बोकेर आउने चलन थियो। अहिले पनि गाउँ नै उल्टेर खेल हेर्न आउने चलन छँदैछ,' उनी सम्झिन्छन्।
नगरपालिका र जिल्लास्तरका खेलहरू खेलेको सम्झँदै नेम्बाङका भन्छन्, 'मैले एकै साल इलाम क्याम्पस र मालापथ टोलको तर्फबाट खेल्ने अवसर पाएँ। म त्यसबेला निकै पातलो थिएँ। मलाई धेरैले हावाजस्तो कुद्छस्, भन्थे।'
धीरेन्द्र प्रधान, मोहन भट्टराई, गणेश थुलुङ, देवकुमार राई, धु्रव भक्तराज, कमल सापकोटालगायत नेम्बाङका फुटबल खेल्ने साथी थिए। उनीसँगै खेल्ने साथीहरूले पनि फुटबललाई खासै निरन्तरता दिएनन्। सुरुमा उनीहरूले रबरको बल खेल्थे। पछि छालाको बल आयो। 'छालाभित्र ब्लाडर हुन्थ्यो। पानीले भिजेर छाला कडा हुन्थ्यो, टुटी भुक्क फुल्थ्यो।
बल हान्दा असाध्यै दुख्थ्यो। हामीलाई त्यसबेला बलमा हावा भर्न पनि समस्या थियो।' विस्तारै फुटबलको क्षेत्रमा आएको विकास देखेर उनी दंग पर्छन्। खेल्दाखेल्दै दुई खुट्टामा बल च्यापिएर प्याट्ट फुटेको सम्झना उनको स्मृतिमा आज पर्यन्त ताजै छ। फुटबल बुट लगाएर खेल्न पाउँदाको खुसी उनी बयान गर्नै सक्दैनन्। दार्जिलिङको नजिक भएर पनि होला, उनले झुम्राको बल खेल्नु परेन। बल नहुँदा भोगटेसम्म खेलेको याद भने उनीसँग ताजै छ।
'फुटबलको सिजन सुरु हुनुभन्दा करिब १५ दिन अघिदेखि क्याम्पसले खेलाडीलाई डाइट खुवाउन थाल्थ्यो। यसमा दूध, जेरी, चना, तरकारी, बम्बैसनलगायत हुन्थ्यो। डाइट राम्रो नहुँदा खेलको वातावरण नै बन्दैन भन्ने मनोविज्ञान हामीमा थियो,' नेम्बाङ हाँस्दै सुनाउँछन्। 'क्याम्पसका खेलाडीलाई ड्रेसको व्यवस्था गर्न गाह्रो थिएन। बाहिरका कुनै-कुनै टिमलाई अभिभावकहरूले ड्रेसको व्यवस्था गरिदिन्थे।
इलाम क्याम्पसमा २०२९–३० सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अनेरास्ववियुको तर्फबाट लडेका नेम्बाङले दुई तिहाइ बहुमतले जिते। त्यसबेलादेखि उनी राजनीतिमा सक्रिय भए। पार्टीको सम्पर्कमा आए। नेम्बाङले नियमित र झलनाथ खनालले प्राइभेटबाट एकै वर्ष स्नातक गरे।
'मैले एकै साल इलाम क्याम्पस र मालापथ टोलको तर्फबाट खेल्ने अवसर पाएँ। त्यतिबेला निकै पातलो थिएँ। मलाई धेरैले हावाजस्तो कुद्छस्, भन्थे।'
राजधानी बसेर आईएस्सी पढ्दाताका पनि नेम्बाङले फुटबल खेल्न नखोजेका होइनन्। तर त्यसबेला उनी राजधानीका टिमको सम्पर्कमा आउनै सकेनन्। सायद उनको पहुँचले पनि भ्याएन। काठमाडौं बस्दा उनी फुटबल खुब हेर्थे। ठमेल–११, महावीर-११ लगायत टिमको प्रतिस्पर्धामा रमाउथे।
भारतको मोहन बगानले असाध्यै राम्रो खेलेको पनि उनी सम्झिन्छन्। 'श्याम थापा, बेनु सुब्बाहरू राम्रो खेल खेल्थे। त्यस्तै स्व.रूपक शर्मा, अनुपशमशेर राणाको खेल पनि याद आइरहन्छ।' भारतका अन्य टिम, भुटान, चीनबाट आएर राम्राराम्रा खेल प्रदर्शन गर्दा उनी लोभिन्थे।
विश्वकप फुटबलसँग नेम्बाङ कहिलेबाट जोडिए भन्ने ठ्याक्कै बताउन सक्दैनन्। सुरुमा पेलेको कथा पढेर उनी ज्यादै प्रभावित भए। पछि पेलेका खेलहरू हेरेपछि दंग परे। त्यसपछि उनको समर्थन ब्राजिलकै पक्षमा रह्यो। रोनाल्डो र रोनाल्डिनो उनका प्रिय भए।
पछि जब फुटबलमा मेसी उदाए, उनको समर्थनमा परिवर्तन आयो। उनी अर्जेन्टिनाका फ्यान भए। हाल उनको पहिलो समर्थन अर्जेन्टिना, दोस्रो ब्राजिल र तेस्रो स्पेनलाई छ। 'मेरी श्रीमतीको रोजाइमा ब्राजिल र नेमार पर्छन्। मेरो झुकाव देखेर मेसीलाई पनि उत्तिकै समर्थन गर्छिन्। मेरो छोराको इङ्लिस प्रिमियर लिग लिभर पुललाई निरन्तरको समर्थन छ।'
मेसी नै किन ?
मेसी साह्रै दुःख गरेर खेलकुदमा आएका हुन्। 'उनले सधैं देशको भलाइलाई केन्द्रमा राखेका छन्। उनको खेल स्वाभाविक जस्तो लाग्छ। उनले खेलेको, झुक्याएको, छक्याएको, बल गरेको सामान्य लाग्छ। उनमा कृत्रिमता र जबर्जस्ती पटक्कै छैन। उनी हरेक समय अब्बल लाग्छन्। उनको नम्र बानी व्यवहार उत्तिकै गज्जब छन्', नेम्बाङ भन्छन्।
परिवारका सदस्यसँगै बसेर विश्वकप हेर्छन् नेम्बाङ, खुब रमाइलो गर्छन्। खेल हेर्दा अलिअलि हल्लाखल्ला हुने पनि उनले बताए। आफूले समर्थन गरेको टिम र खेलाडीले गोल गर्दा उनी आफैं पनि कराउँछन्, खुसीले जुरुक्कै उठ्छन्।
कहिलेकाहीँ पार्टीका बैठकहरूमा पनि फुटबलबारे कुरा हुने गरेको उनले सुनाए। 'एक पटक राष्ट्रपतिज्यूूकहाँ भेटघाट र खानपानको सन्दर्भमा १५–२० जना भेला भएका थियौं। फुटबल चलिरहेको थियो। मैले आज ९ बजे घर पुग्नु छ भन्दा कतिपय साथीहरू कुरा बुझेर हाँस्नुभयो।'
'एक पटक राष्ट्रपतिज्यूूकहाँ भेटघाट र खानपानको सन्दर्भमा १५–२० जना भेला भएका थियौं। फुटबल चलिरहेको थियो। मैले आज ९ बजे घर पुग्नु छ भन्दा कतिपय साथीहरू कुरा बुझेर हाँस्नुभयो।'
पहिलो दक्षिण एसियाली खेलकुदमा नेपाल र भारतका बीचको प्रतिस्पर्धामा नेपालले सानदार जित हात पारेको थियो। नेम्बाङले साथीहरूसँग रंगशालामा बसेर हेरेका थिए। 'साहै्र खुसी भइयो। त्यसलाई बताउने मसँग कुनै शब्द नै छैन। ठूलो पानी पनि परेको थियो। भारतीय टिमले एक छेउ पनि भेटेन।' नेम्बाङ खुसी हुँदै सम्झिन्छन्।
हाल राज्यको तर्फबाट खेलकुदको क्षेत्रमा ध्यान नगएकै कारण नेपाल पछि परेको उनको ठम्याइँ छ। खेलकुद क्षेत्रमा क्रियाशील संस्थाहरूले एकीकृत भएर काम नगर्नु पनि कमजोरी रहेको उनी बताउँछन्। जे जति काम भएको यस क्षेत्रमा लागेका साथीहरूको देन भन्न पनि उनी हिच्किचाउँदैनन्।
पछिल्लो समय विभागीय टीमहरूको विकास भएसँगै खेलाडीलाई भरथेग भएको उनको बुझाइ छ। 'मौकामा हाम्रा खेलाडीले विदेशमा पनि योग्यता, दक्षता प्रदर्शन गरेका छन्। तर राज्यले व्यवस्थित हिसाबले काम गर्न सकेको छैन।'
पछिल्लो समय फिफाको चुनाव सम्पन्न भएसँगै उनी आशावादी छन्। अन्य क्षेत्रमा जस्तै खेलकुदको क्षेत्रमा पनि राजनीति हाबी भएको उनको ठहर छ। 'जबसम्म राज्यले हाम्रो जिम्मेवारी भनेर महसुस गर्दैन, काम हुन गाह्रो हुन्छ। पैसा मात्र दिएर राज्य पन्छिनु हुँदैन। देशव्यापी रूपमा अभियान नै चलाएर खेलाडी छनोट गर्नुपर्छ।'
नेम्बाङ एकपटक इलामको पश्चिमी गाउँ एकतप्पामा फुटबलको समापन कार्यक्रममा सहभागी थिए। त्यहाँ खेल मैदानको सेन्टरमा भाले पेरुङ्गोमा राखेर दुई तर्फबाट खेलाडीहरू कुदाइयो। अहिले थाहा पाउँदा उक्त ठूलो भाले नवयुग श्रेष्ठको टिमले जितेको रहेछ।
राम्रो खेलाडीको रूपमा स्थापित नवयुग पछि नेपाली सेनासँग जोडिए। विमल घर्तीमगरलाई पनि नेम्बाङ निकै मन पराउँदा रहेछन्। राज्यले लागि पर्ने हो भने हरेक जिल्लामा राम्रा टिम उत्पादन गर्न सकिने उनको बुझाइ छ। नेपाल अहिले भारतको छेउछाउ पनि पुग्न नसकेकोमा उनी दुःखी छन्।
संविधानसभा र फुटबल
संविधानसभामा अति नै व्यस्त हुँदा पनि उनले राति घरमा आएर विश्वकपलगायत ठूला खेल हेर्न छुटाएनन्। त्यतिबेलै उनको स्वास्थ्य पनि बिग्रियो। डाक्टर कहाँ जानुपर्यो। उनलाई राति अबेरसम्म बसेर फुटबल हेर्दा स्वास्थ्य बिग्रिएको भन्नेमा विश्वास लाग्दैन।
तर यही कुरालाई लिएर उनले घर परिवार र आफन्तको गाली पनि खानुपर्यो। उनी हिजो–आज पनि बिहान उठेर खेल हेर्नुपर्ने भए बेलुका एक घन्टा अघि नै सुत्छन्। आगामी विश्वकप साथीभाइसँग बसेर हेर्ने मन भएको पनि उनले बताए।
सुरुमा पेलेको कथा पढेर उनी ज्यादै प्रभावित भए। पछि पेलेका खेलहरू हेरेपछि दंग परे। त्यसपछि उनको समर्थन ब्राजिलकै पक्षमा रह्यो। रोनाल्डो र रोनाल्डिनो उनका प्रिय भए।
फुटबललाई संविधानसभासँग जोड्दा उनी भन्छन्, 'संविधानसभामा पनि सबै राजनीतिक दल एकजुट भएर काम गर्दा मात्रै संविधान बन्छ। म त्यतिबेला सहमतिको कुरा गर्थें। कतिले कुरा मात्र गर्छ पनि भने।' २०७२, असोज २ मा संविधान जारी गर्दा अब दलहरू एक जुट भएरै संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। यसरी टिमवर्क भएमात्र सफलता हासिल गर्ने उनको भनाइ छ।
पहिलो संविधानसभाले ८० प्रतिशत उपलब्धि हासिल गर्दा पनि सफल नभएको नेम्बाङ बताउँछन्। उनी संविधानसभामा पनि ९० मिनेट राम्रो खेल प्रदर्शन गरेर मात्र पनि केही नहुने टिप्पणी गर्थे। प्रायः खेलको प्रसंग जोडिरहन्थे।
खेलमा पनि सत्ता जोडिएको भान हुन्छ नेम्बाङलाई। एकपल्ट महावीर-११ र ठमेल-११ बीचको प्रतिस्पर्धामा समर्थकहरू बीच झगडा भएछ। त्यसले उग्ररूप लिँदै गएपछि ढुंगा हानाहान हुँदा प्रहरीले हस्तक्षेप गरेछ।
एकैछिनमा महावीर र ठमेल एकातिर भएर पुलिससँग जुध्न थालेछन्। यस घटनामा प्रहरी प्रशासनविरुद्ध सबै एक भएर लडेको उनलाई याद छ। 'त्यसबेला प्रहरीले राम्रो खेल्दाखेल्दै पनि पुलिस क्लबलाई समर्थन गर्ने अत्यन्तै कम थिए,' उनले भने।
नेपालीको समर्थन अर्जेन्टिना, ब्राजिलजस्ता तेस्रो मुलुकका पछाडि हुनुमा पनि राजनीतिक सोचले काम हो कि भन्ने उनलाई लाग्छ। उनी आफैं भने त्यसमा विश्वास गर्दैनन्, 'खेलकुद आफ्नो मूल्यमान्यताका साथ अघि बढ्नुपर्छ। राजनीतिले प्रवेश पाउनु हुन्न। समर्थकले राजनीतिबाट उत्पे्ररित हुनु हुँदैन।
त्यति मात्र होइन खेलसँग सम्बद्ध सबैखाले निकायले राजनीतिबाट अलग रहनुपर्छ।' इलाममा खेलकुद व्यवस्थित ढंगले विस्तार हुन थालेकोमा नेम्बाङ गर्व गर्छन्। खास गरी माई भ्याली स्पोर्टिङ क्लबको प्रगति देखेर उनी निकै आशावादी छन्।