डोरीमा झुन्डिएको जीवन

डोरीमा झुन्डिएको जीवन

दश तलाको भवनको सबैभन्दा माथिल्लो तल्लामा दुई व्यक्ति डोरीमा तुर्लुंग झुन्डिएका छन्। त्यो बाटो ओहोरदोहोर गर्ने सबैको नजर डोरीमा झुन्डिनेहरूमाथि छ। उनीहरूको कम्मरमा बाल्टिन झुन्ड्याइएको छ। बीचबीचमा बाल्टिनमा हात चोबल्दै उनीहरू एकानासले सिसैसिसा भएको घर सफा गर्दैछन्। हातको छेको लगाएर एक अधबैंसे महिला एक टकले हेर्दैछिन्। उनी अनायास भन्छिन्, 'आम्मामा... कस्तो बाँदरझैं झुन्डिएर काम गर्न सकेको। मलाई त एक लाखै दिए पनि त्यस्तो काम गर्दिनँ।'

भवनको क्लिनिङमा खटिरहेका पात्र हुन् प्रकाश, विमल र साजन। अर्को दिन पनि उनीहरू काममा उसैगरी खटिए। रातो रङको ड्रेस लगाएका प्रकाश र विमलले शरीरमा हार्नेसको ‐काम गर्दा सुरक्षाका लागि लगाउने सामग्री) सेट भिरेका छन्।

विभिन्न नट, हेन्जुमर र ग्लास फिकजस्ता सामान साथमै बोकेका छन्। साथमा कामका लागि चाहिने बाल्टिन र ब्रसहरू पनि छन्। भर्खरै मात्र बिहानको काम सकेर खाना खाने समयमा उनीहरू छतमा उक्लिए। तीनजना नै निकै थकित गलित देखिएका छन्। घामले तातेर अनुहार पनि रातो न रातो देखिएको छ। त्यसै बेला गरियो, उनीहरूसँग भलाकुसारी।

रामेछापका प्रकाश कार्की आठ वर्षसम्म नेपाली सेनामा जागिर खाएर छाडे। सरकारी जागिरको सिस्टम र कमाइमा चित्त नबुझेपछि उनी राजीनामा गरेर कतार गए। कतारमा दुई वर्ष बस्दा उनले जोखिमपूर्ण काम 'रोप एक्सेस' सिक्ने मौका पाए। सँगै बस्ने साथीहरू त्यस्तै काम गर्थे। मान्छे नहुँदा उनलाई पनि काम सिक्न मन लाग्यो। अरू काममा भन्दा पैसा पनि राम्रो हुने भएकाले उनलाई ठीक लाग्यो।

विदेशमा दुई वर्ष जोखिमपूर्ण काम 'रोप एक्सेस' विधिबाट काम गरेर बसे, प्रकाश। नेपालमा आएर पनि उनलाई यही काम गर्न रुचि जाग्यो। कतारमा हुँदा ८०÷ ९० तलासम्म काम गरेको उनको अनुभव छ। त्यसैले यहाँको ८-१० तलामा झुन्डिएर बिल्डिङ टल्काउन उनलाई कुनै महाभारत लाग्दैन।

बायाँबाट क्रमश : विमल केसी,प्रकाश कार्की र साजन भुजेल।

डोरीमा झुन्डिएर पेन्टिङ गर्ने, सिसा सफा गर्ने, स्टिकर टाँस्ने, उप्काउने, कार्पेट, मार्बल वास गर्ने, सिलिकन हाल्ने तथा क्लिनिङसम्बन्धी गरिने सबै काम रोप एक्सेसमा काम गर्नेहरूले गर्नुपर्छ। यसरी गरिने सबै प्रकारको काम सानो डोरीमा झुन्डिएरै गर्ने हो।

पहिले ससानो बिल्डिङमा डोरीबाट काम गर्दागर्दै बिस्तारै सिकेर अग्ला भवनहरूमा काम गरिन्छ। रोप एक्सेस काममा ग्रेड छुट्याइन्छ। पहिले केही समय सेप्ठीमा काम गर्नुपर्छ। त्यसपछि विस्तारै डोरीको काममा बानी पर्दै जान्छ।

परिवारसँगै काठमाडौं बस्दै आएका सिरहाका विमल केसी पनि करिब दुई वर्षदेखि यही जोखिमपूर्ण काममै भविष्य खोजिरहेका छन्। उनका बुवा सेक्युरिटी गार्ड छन् भने दाजु पनि सामान्य जागिरे। १२ कक्षा पढेर परीक्षा दिएपछि केही काम गर्नुपर्‍ यो भन्दा रमाइलो लागेर नै यो पेसामा आएको उनले बताए।

कतारमा हुँदा ८०/९० तलाका घरसम्म डोरीमा झुन्डिएर काम गरेको अनुभव प्रकाशसँग छ। नेपालका ८/१० तलाका घरमा झुन्डिएर बिल्डिङ टल्काउन उनलाई कुनै महाभारत छैन।

विमल भन्छन्, 'दाइहरूले गरेको देख्दा मलाई पनि एकदम रमाइलो लाग्थ्यो। सुरुमा त डर पनि लागेको थियो तर सिक्दै गएर गर्दै गएपछि अहिले यही काममा आदत बस्यो।'

विमललाई उनका आमाबुवा यस्तो डरलाग्दो काम नगर्न भन्छन्। यो पेसा सुरक्षित नभएको हुँदा अरू काम सिक्न भन्छन् तर उनलाई यही काममा नै रुचि बढ्यो। भन्छन्, 'समय आएको रहेछ भने बाटोमा हिँड्दाहिँड्दै पनि मरिन्छ।' सावधानीवश काम गर्ने गरेकाले कामको सिलसिलामा अहिलेसम्म कुनै दुर्घटनामा नपरेको जानकारी उनले दिए। सामान्य क्लिनिङको काम गर्दागर्दै उनी 'रोप एक्सेस'मार्फत गरिने काममा आएका हुन्।

क्लिनिङमा काम गर्दागर्दै सिन्धुलीका साजन भुजेल अन्य पेसामा भन्दा पैसा राम्रो रहेकाले यो पेसामा आएको बताउँछन्। ८ कक्षा पढेका भुजेल केही कमाउन र काम खोज्न दुई वर्षअघि काठमाडौं छिरेका थिए।

रोपमा काम गर्नेहरूलाई सामान पुर्‍याउने र अन्य सहयोग गर्दै सेप्ठीमा काम गर्दै आएका छन्, साजन। दिनभरि साथीहरूसँगै काममा सहयोग गर्छन्। उनलाई चाँडै नै रोपमा काम गर्ने चाहना छ। दुईतीन तलाको घरहरूमा काम गर्दा उनी पनि 'रोप एक्सेस' विधिबाट सिक्ने गर्छन्।

केही समय यही पेसामा काम गरेर केही पैसा जम्मा गरेपछि व्यापार व्यवसाय गर्ने सपना देखेका विमलले शरीरमा बल हुन्जेलको मात्र यो काम भएको बताए। अलि कमजोर हुँदै गएपछि डोरीमा उभिन र काम गर्न सम्भव नै छैन। उनी भन्छन्, 'खासमा यो काममा लामो भविष्यको लागि केही ग्यारेन्टी छैन।'

प्रकाश, विमल र साजन तीनजना नै बानेश्वरमा रहेको फेसिलिटी प्रालिमार्फत काम गर्छन्। क्लिनिङसम्बन्धी सम्पूर्ण काम गर्ने यो कम्पनी करिब डेढ दशक देखि सञ्चालनमा छ। डोरीमा काम गर्नुअघि यो पेसामा आउन चाहनेलाई आवश्यक तालिम दिइन्छ।

फेसिलिटी कम्पनीका प्रमुख कल्याण केसीका अनुसार नेपालमा रोप एक्सेसको काम २०६६ सालबाट सुरु गरिएको हो। उनले त्यसअघि क्लिनिङका औजार तथा केमिकलहरू बेच्ने व्यवसाय गर्दै आएका थिए। नेपालमा अग्ला भवन बनाउने क्रम बढेको र व्यावसायिक रूपमा सरसफाइको काम गर्ने कम्पनी नभएको हुँदा उनले यो कामको सुरुआत गरेको बताए।

नेपालीहरू विदेशमा गएर कुशलतापूर्वक रोपमा काम गरेर चर्चा कमाएको उनले सञ्चारमाध्यममा सुनेका थिए। त्यहाँ काम गरेर फर्केकासँग सहकार्य गरी सुरुमा आवश्यक तालिम लिएर काम गर्न थाले। अप्ठ्यारो काम पनि सजिलो तरिकाले गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ करिब एक दशकदेखि उनीहरूले यो काम गरिरहेका छन्।

केही वर्षअघिसम्म काम पाउन मुस्किल भएको तर पछिल्लो समयमा यस्तो काम गर्ने कामदारको माग बढ्दै गएको उनले जानकारी दिए। कामदारहरूको औषधोपचार, बिमा भत्ता, तलब सम्पूर्ण रूपमा कम्पनीले आकर्षक रूपमा व्यवस्था गरेकोसमेत दाबी गरे। उनका अनुसार रोप एक्सेसमा काम गर्ने र गराउने अन्य कम्पनी नेपालमा शून्यप्रायः छ।

कामदारको आवश्यकताअनुसार एक महिनादेखि तीन महिनासम्म तालिमको अवधि हुन्छ। कसरी धारिलो सिसामा काम गर्ने, डोरीमा सन्तुलन कसरी मिलाउनेजस्ता सबै प्रकारका सीप यो तालिमको अवधिमा दिइन्छ। लेभल एकदेखि तीनसम्मको तालिमको प्रक्रिया हुन्छ।

पारिश्रमिक ५० हजारसम्म

सेफ्ठीको ३० हजार रुपैयाँदेखि माथि र रोप एक्सेसमा काम गर्नेको ४० हजारदेखि माथि कमाइ हुन्छ। साथमा दैनिक ६ देखि सात सय भत्ता, खाजा पनि कम्पनीले नै दिन्छ उनीहरूलाई। अलि लामो समय काम गरेका अनुभवीहरूले साइट हेर्ने काम पनि पाउँछन्, उनीहरूको मासिक तलब ५० हजार रुपैयाँभन्दा माथि हुन्छ। कम्पनीले बिमा भने तीन लाख बराबरको मात्रै व्यवस्था गरेको छ।

विमल र साजन आफ्नो कमाइमा सन्तुष्ट छन्। तर, प्रकाश सन्तुष्ट छैनन्। रोपमा काम गर्नेहरूको विदेशमा राम्रो कमाइ हुन्छ। सेवासुविधा पनि अन्यको तुलनामा चित्तबुझ्दो हुन्छ। त्यसैले पनि प्रकाश फेरि यही कामका लागि विदेश जाने सोचिरहेका छन्। उनले दुबई जानका लागि प्रक्रिया पनि चालेको बताए। हुन त उनले कतारमै हुँदा सँगै काम गर्ने अर्को साथीको दुर्घटना भएको नदेखेका होइनन्। तर पनि किन हो किन, उनलाई अन्य काममा चित्त नै बुझ्दैन।

सेफ्ठीको ३० हजार रुपैयाँदेखि माथि र रोप एक्सेसमा काम गर्नेको ४० हजारदेखि माथि कमाइ हुन्छ। साथमा दैनिक ६ देखि सात सय भत्ता, खाजा पनि कम्पनीले नै दिन्छ उनीहरूलाई।

उनीहरूले प्रयोग गर्ने सुरक्षाका सामान र डोरी अन्तर्राष्ट्रिय स्तरमै गुणस्तर प्राप्त हुन्छन्। यसो हुँदा डोरी चुँडिने सम्भावना कम हुन्छ। तर, जोखिम त हरबखत भइरहन्छ। कहिलेकाहीँ कामदारहरू भित्तामै झुन्डिएको अवस्थामा बेहोश हुने तथा अचानक नटहरू खुस्कने, सिसाले काट्ने, डोरीमा अल्झेर खुट्टा भाँचिने जस्ता समस्या पनि भइरहन्छ।

यस्तो अवस्थामा उनीहरूलाई सुरक्षित तवरले बाहिर निकाल्नु र दुर्घटनाबाट बचाउनु पनि ठूलो रिस्कको काम हो। अप्ठ्यारो परेको बेला उद्धार गर्न रेस्क्यु टोली पनि कम्पनीसँग रहेको फेसिलिटीका केसी बताउँछन्।

मुख्य कुरा यो काममा आउनेमा आत्मविश्वास बढी हुनुपर्ने जरुरी ठान्छन्, काम गर्नेहरू। महिलाहरू त यो पेसामा आउनै सक्दैनन्। यस्तो जोखिमपूर्ण काम महिलाले गर्न नसक्ने उनीहरूको भनाइ छ।

बिहान उठेर ८ बजेभित्र काम गर्ने साइटमा पुग्नैपर्छ, उनीहरूलाई। हप्तामा एक दिन बिदा हुने भएकाले प्रकाश बिदाको दिन छोरा र श्रीमतीलाई समय दिन्छन्। घरको काममा सघाउँछन् पनि। प्रकाशकी श्रीमतीले उनलाई यो काम छोड्न रातदिन भनिरहन्छिन्। 'तर के गर्नु, जानेको काम नै यही हो। यसको विकल्प पनि त छैन नि', खुइय्य सुस्केरा हाल्छन् उनी।

अहिले काम गर्न रमाइलै लागे पनि यो क्षेत्रमा लामो करिअर नभएको विमल बताउँछन्। अलिअअि पैसा जम्मा गरेर अरू केही व्यवसायमा लगानी गर्ने उनको सोचाइ छ। विमलको कुरामा सहमति जनाउँदै साजन पनि दुईचार वर्ष यही काम गरेर अन्य व्यवसाय सुरु गर्ने सोच रहेको बताउँछन्। भन्छन्, 'उमेर बढ्दै गएपछि डोरीमा झुन्डिने आँट पनि त हराउँछ होला।' सहरमा दिन दुगुना रात चौगुना बढ्दै गइरहेको अग्ला घरहरूको चापले 'रोप एक्सेस'को कामदारको माग भने बढ्दै जाने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.