'गोल्डेन बुट' का हकदार

'गोल्डेन बुट' का हकदार

रुसका विभिन्न सहरमा बिहीबारबाट सुरु भएको विश्वकप फुटबलको २१ औं संस्करणले यतिबेला संसारलाई तरंगित बनाइरहेको छ। विश्व नै फुटबलमय बनेको बेला विश्वकपमा अहिलेसम्म 'गोल्डेन बुट' (सुनको जुत्ता) पाउने खेलाडीको यहाँ चर्चा गरिएको छ।

जेम्स रोड्रिगेज (कोलम्बिया)

सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकपको गोल्डेन बुट कोलम्बियाका जेम्स रोड्रिगेजले पाएका थिए। आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गरेका रोड्रिगेजले सर्वाधिक ६ गोल गरेका थिए। उनले समूह चरणका सबै खेलमा गोल गरेका थिए। कोलम्बियाले समूह चरणको पहिलो खेलमा ग्रिसलाई ३-० गोलले पराजित गर्दा रोड्रिगेजले गोलको खाता खोलेका थिए। त्यसपछि आइभरिकोस्ट र जापानलाई पराजित गर्दा रोड्रिगेजले एकएक गोल गरेका थिए। यसैगरी प्रिक्वार्टरफाइनलमा उरुग्वेलाई पराजित गर्दा उनले दुई गोल गरेका थिए। यसैगरी क्वार्टरफाइनलमा आयोजक ब्राजिलसँग पराजित हुँदा पनि उनले एक गोल गरेका थिए।

थोमस मुलर (जर्मनी)

सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपमा पाँच गोल गरेका जर्मनीका थोमस मुलरले गोल्डेन बुट जित्न सफल भए। उनले उरुग्वेका डियगो फोर्लान, नेदरल्यान्ड्सका वेस्ली स्नाइडर र स्पेनका डेभिड भिल्लाको पनि समान पाँच÷पाँच गोल भए पनि मुलरले उनीहरूलाई पछि पारेका थिए। मुलरले सुनको जुत्ता पाउँदा फोर्लानले 'गोल्डेन बल' पाएका थिए।

मुलरले समूह चरणमा अस्ट्रेलियाविरुद्ध एक गोल, प्रिक्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध दुई गोल, क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध पनि एक गोल गरेका थिए। यस्तै तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेविरुद्ध एक गोल गरे।

मिगोस्लाभ क्लोज (जर्मनी)

सन् २००६ को विश्वकपमा जर्मनीले उपाधि उचाल्न नसके पनि गोल्डेन बुट भने जर्मनीकै स्टार खेलाडी मिगोस्लाभ क्लोजले जिते। दोस्रो पटक आफैंले आयोजना गरेको विश्वकपमा जर्मनी तेस्रो स्थानमै सीमित भएको थियो। उनले विश्वकपमा पाँच गोल गर्दै सुनको जुत्ता पाएका थिए। समूह चरणको खेलमा कोस्टारिका र इक्वेडरविरुद्ध २÷२ गोल गरेका उनले क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध एक गोल गरे। उनले विश्वकप फुटबलमा १६ गोलको कीर्तिमान कायम गरेका छन्।

रोनाल्डो (ब्राजिल)

सन् २००२ को विश्वकप पहिलो पटक एसियाली भूमिमा आयोजना भयो। जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा ब्राजिलका स्टार फुटबलर रोनाल्डोले आठ गोल गरेर कीर्तिमान बनाए। उनकै प्रेरणामा ब्राजिलले पाँचौं पटक विश्वकपको उपाधि जितेको थियो।

फ्रान्सेली स्ट्राइकर फन्टाइनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेर इतिहास रचे।

आठ गोल गरेर सुनको जुत्ता जितेका रोनाल्डोले समूह चरणमा टर्कीविरुद्ध एक गोल गरे। त्यस्तै, चीनविरुद्ध एक, कोस्टारिकाविरुद्ध दुई, प्रिक्वार्टरफाइनलमा बेल्जियमविरुद्ध एक गोल गरेका रोनाल्डोले सेमिफाइनलमा टर्कीविरुद्ध एक र फाइनलमा जर्मनीविरुद्ध दुई गोल गरेका थिए।

डेभोर सुकर (क्रोयसिया)

सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकप फुटबलको गोल्डेन बुट क्रोयसियाका डेभोर सुकरले जिते। उनले विश्वकप फुटबलमा ६ गोल गर्दै गोल्डेन बुट पाएका थिए। उनले समूह चरणमा दुई गोल गरेका थिए। त्यस्तै, प्रिक्वार्टरफाइनलमा उनकै एक गोलको मद्दतमा रोमानियालाई पराजित गर्दै क्रोसिया क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा जर्मनीविरुद्ध डेभोरले एक गोल गरे। सेमिफाइनलमा फ्रान्ससँग पराजित हुँदा र तेस्रो स्थान प्राप्त गर्दा पनि डेभोरले एक एक गोल गरे।

ओलेग सालेंको (रुस), हृस्टो स्टोइक्कोभ (बुल्गेरिया)

सन् १९९४ मा भएको विश्वकप फुटबलको गोल्डेन बुट भने दुई जना खेलाडीले पाएका थिए। विश्वकपमा ६–६ गोल गरेका रुसका सालंको र बुल्गेरियाका हृस्टो स्टोइकोभले गोल्डेन बुट जितेका थिए।

सालेंकोले क्यामरुनविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए। त्यस्तै उनले स्विडेनविरुद्ध पनि एक गोल गरे। स्टोइक्कोभले समूह चरणमा तीन, प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल र सेमिफाइनलमा एक एक गोल गरे।

साल्भाटोर स्चिलाची (इटाली)

सन् १९९० को विश्वकप फुटबल जर्मनीले जित्दा सर्वाधिक गोलकर्ता भने इटालीका साल्भाटोर स्चिलाची बने। उनले ६ गोल गर्दै सुनको जुत्ता हात पारे। उनले अस्ट्रिया, चेकोस्लोभाकिया, उरुग्वे, रिपब्लिक अफ आयरल्यान्ड, इङ्ल्यान्ड र अर्जेन्टिनाविरुद्ध एक एक गोल गरेका थिए।

ग्यारी लिनकर (इङ्ल्यान्ड)

ग्यारी लिनकरले सन् १९८६ को विश्वकप फुटबलमा सुनको जुत्ता जितेका थिए। उनले मेक्सिकोमा भएको विश्वकपमा ६ गोल गरे। समूह चरणको अन्तिम खेलमा पोल्यान्डविरुद्ध ह्याट्रिक गरेका उनले पाराग्वेविरुद्ध दुई र अर्जेन्टिनाविरुद्ध एक गोल गरे।

पाओलो रोसी (इटाली)

सन् १९८२ मा स्पेनमा सम्पन्न विश्वकप फुटबलको उपाधि इटालीले उचाल्दा इटालीकै पाओलो रोसीले ६ गोल गर्दै सुनको जुत्ता जिते। ब्राजिलविरुद्ध ह्याट्रिक गरेका उनले पोल्यान्डको पोस्टमा पनि दुई गोल ठोके। अर्को एक गोल जर्मनीविरुद्धको फाइनलमा गरे।

मारियो क्याम्पेस (अर्जेन्टिना)

सन् १९७८ मा अर्जेन्टिनाले आफ्नै भूमिमा आयोजना भएको विश्वकप फुटबलको उपाधि उचाल्यो। जसमा महŒवपूर्ण भूमिका खेलेका थिए, मारियो क्याम्पेसले। प्रतियोगिताभर ६ गोल गरेका उनले उनले पोल्यान्ड, पेरु र नेदरल्यान्डविरुद्ध दुई दुई गोल गरे।

ग्रेजगर्ज लाटो (पोल्यान्ड)

ग्रेजगर्ज लाटोले सन् १९७४ को विश्वकपमा आफ्नो गोल संख्या सात पुर्‍याए। उनले पोल्यान्डलाई विश्वकपको तेस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका खेले। समूह चरणमा अर्जेन्टिना र हाइटीविरुद्ध दुई दुई गोल गरेका उनले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिलविरुद्ध एक गोल गरेका थिए।

गेर्ड मुलर (जर्मनी)

गेर्ड मुलरले सन् १९७० को विश्वकप फुटबलमा दुई ह्याट्रिक गोल गरे। उनले यो विश्वकपमा १० गोल गर्दै गोल्डेन बुट जितेका थिए। मेक्सिकोमा भएको विश्वकप ब्राजिलले तेस्रो पटक जिते पनि जर्मनीका मुलरको चर्चा सर्वत्र छाएको थियो। उनले बुल्गेरिया र पेरुविरुद्ध ह्याट्रिक गरेका थिए। त्यस्तै, समूह चरणमा मोरक्को, क्वार्टरफाइनलमा इङ्ल्यान्डसँग एक एक तथा सेमिफाइनलमा इटालीविरुद्ध दुई गोल गरेका थिए।

युसेवियो (पोर्चुगल)

सन् १९६६ को विश्वकपमा पोर्चुगिज खेलाडी युसेवियोले नौ गोल गरेका थिए। विश्वकपको उपाधि आयोजक राष्ट्र इङ्ल्यान्डले जिते पनि युसेवियो त्यसबेला सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। उनले समूह चरणमा तीन गोल गरेका थिए। त्यस्तै, क्वार्टरफाइनलमा उत्तर कोरियाविरुद्ध ह्याट्रिकसहित चार गोल गरेका थिए। त्यस्तै सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध एक गोल गरेका उनले तेस्रो स्थानका लागि भएको खेलमा सोभियत युनियनविरुद्ध एक गोल गरेका थिए।

६ खेलाडीलाई एकै पटक बुट

सन् १९६२ को विश्वकपमा ६ जना खेलाडीले समान चारचार गोल गरेका थिए। फ्लोरियन अल्बर्ट (हंगेरी), ग्यारिन्चा (ब्राजिल), भ्यालेन्टिन आइभानोभ (सोभियत युनियन) ड्राजन जेकोभिच (युगोस्लाभिया), लियोनल सान्चेज (चिली) र भाभा (ब्राजिल) ले समान गोल गरेपछि गोल्डेन बुट पनि ६ जनालाई नै दिइएको थियो।

जस्ट फन्टाइन (फ्रान्स)

फ्रान्सेली स्ट्राइकर फन्टाइनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेर इतिहास रचे। स्विडेनले पहिलो पटक आयोजना गरेको विश्वकपको उपाधि ब्राजिलले जितेको थियो। तर, सर्वाधिक गोलकर्ता फन्टाइन बने।

समूह चरणमा पाराग्वेविरुद्ध ह्याट्रिक गरेका उनले तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीविरुद्ध पनि ह्याट्रिकसहित चार गोल गरेका थिए।

सान्डोर कोक्सिस (हंगेरी)

हंगेरीका स्यान्डोर कोक्सिसले आफ्नो देशको नेतृत्व गर्दै सन् १९५४ को विश्वकपमा ११ गोल गरे। दक्षिण कोरियाविरुद्ध उनले समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गरेका थिए। उनले समूह चरणकै खेलमा जर्मनीविरुद्ध पनि ह्याट्रिकसहित चार गोल गरे। यस्तै क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध र सेमिफाइनलमा पाराग्वेविरुद्ध दुई दुई गोल गरे।

एडमिर (ब्राजिल)

सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा ब्राजिलियन फरवार्ड एडमिर सर्वाधिक गोलकर्ता बने। उनले विश्वकपमा आठ गोल गरे। उनले समूह चरणमा मेक्सिकोविरुद्ध दुई, युगोस्लाभियाविरुद्ध एक, स्विडेनविरुद्ध ह्याट्रिकसहित चार र स्पेनविरुद्ध एक गोल गरे।

लेओनिडास (ब्राजिल)

सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए, ब्राजिलका लेओनिडास। उनले यो विश्वकपमा सात गोल गर्दै सर्वोत्कृष्ट खेलाडी भए।

पोल्यान्डविरुद्धको खेलमा लओनिडासले ह्याट्रिक गरेका थिए। उनले चेकोस्लोभाकिया र स्विडेनविरुद्ध दुई दुई गोल गरे।

ओल्ड्रिच नेजेड्ली (चेकोस्लोभाकिया)

सन् १९३४ मा इटालीमा सम्पन्न विश्वकपमा चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेड्लीले पाँच गोल गर्दै गोल्डेन बुट जिते। दोस्रो विश्वकपमा उपविजेता हुँदा चेकोस्लोभाकियालाई महत्वपूर्ण योगदान दिएका उनले सेमिफाइनलमा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए। त्यस्तै, रोमानिया र स्विट्जरल्यान्डविरुद्ध दुई दुई गोल गरे।

गुइर्लिमो स्टेविल (अर्जेन्टिना)

पहिलो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने, अर्जेन्टिनाका स्ट्राइकर गुइर्लिमो स्टेविल। उनले सन् १९३० को पहिलो विश्वकपमा आठ गोल गरेका थिए।

समूह चरणको खेलमा मेक्सिकोविरुद्ध ह्याट्रिक गरेका उनले अर्को खेलमा चिलीविरुद्ध दुई गोल गरेका थिए। त्यस्तै, सेमिफाइनलमा अमेरिकाविरुद्ध दुई र फाइनलमा उरुग्वेविरुद्ध एक गोल गरेका थिए।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.