‘मोेटिभेसनल’ कक्षा लिएर विश्व रेकर्ड राख्ने लक्ष्य
जाजरकोट : गुल्मीका विकास शाह विद्यालयमा मोटिभेसन कक्षा लिएरै विश्व रेकर्ड राख्न चाहन्छन् । चार वर्ष अघि चितवनबाट थालेको उनको अभियान निरन्तर जारी छ । अहिलेसम्म उनले १ हजार ८ सय विद्यालयमा पुगेर हजारौ विद्यार्थीलाई जीवन परिवर्तन र सकारात्मक सोच विषयमा प्रशिक्षण गरिसकेका छन् ।
विद्यालय जान्छन आफ्नो अभियानको बारेमा प्रधानाध्यापकसँग कुरा गर्छन अनि अनुमति लिएर विद्यार्थीसँग साक्षात्कार हुन्छन् । उनको कक्षा लिन चाहने विद्यार्थीले दुई सय रुपैया शुल्क तिर्नुपर्छ । ‘मैले छोटो समयमा गरेको कुराकानीबाट प्रभावित भएर विद्यार्थी शुल्क तिरेर कक्षा लिन राजी हुन्छन’ उनले भने ‘सकारात्मक सोच, जीवन परिवर्तन र कसरी सफल हुने भन्ने विषयमा मेरो तीन घण्टाको कक्षा हुन्छ ।
सवै विद्यार्थी सन्तुष्ट भएर फर्कने गरेका छन् । बेकारमा पैसा खेर गयो कुनै पनि विद्यार्थीले अहिलेसम्म भनेको छैन ।’ अभियानको सिलसिलामा जाजरकोट पुगेका उनले बिहीबार त्रिभुवन माध्यामिक विद्यालय खलंगामा करिब डेढ सय विद्यार्थीलाई प्रशिक्षण दिए । उनको कक्षामा सहभागी विद्यार्थी सन्तुष्ट भएर सवैले प्रण गरे आजैदेखि म सक्छु र म गर्छु ।
७७ ओटै जिल्ला पुग्ने लक्ष्य लिएका उनले अहिलेसम्म १४ जिल्लाका विभिन्न विद्यालय पुगेर प्रशिक्षण गरिसकेका छन् । उनले १ हजार ८ सय बढी विद्यालयको लेटरप्याडमा कक्षा लिएको चिठी संकलन गरेर राखेका छन् । उनले तथ्य र प्रमाण जुटाएर मोटिभेसनल कक्षामा विश्व कृतिमानका लागि आफूले आवेदन दिने बताए ।
केही नयाँ काम गरेर विश्व रेकर्ड कायम गर्ने सोचेका शाहले नेपाली सेनाको जागिर छोडेर यस अभियानमा होमिएका हुन् । विभिन्न पुस्तकको अध्ययनका साथै जीवन परिवर्तन सम्बन्धी विभिन्न तालिम लिएका उनले आफूलाई मोटिभेसनल स्पीकरकोरुपमा चिनाउने गरेका छन् ।
आफुलाई कमजोर महसुस गर्ने, समयलाई चिन्न नसकेर भौतारिने र पढाईमा ध्यान नदिने विद्यार्थीका लागि उनको कक्षा फलदायी रहेको त्रिभुवन माविका शिक्षक सत्यनारायण मण्डलको भनाइ छ । कक्षा लिए बापत विद्यार्थीले दिने रुपैयाँले खानेबस्ने खर्च धान्ने गरेका छन् ।
उनले भने ‘आजका विद्यार्थी भविष्यका कर्णधार हुन् त्यसैले उनीहरुलाई सत्मार्गमा लगाउनु मेरो प्रमुख लक्ष्य हो ।’ उनले तथ्य र प्रमाण जुटाएर मोटिभेसनल कक्षामा विश्व कृतिमानका लागि आफूले आवेदन दिने बताए ।