प्रदेश २: कुन क्षेत्रलाई कति बजेट ? यातायात र कृषि प्राथमिकतामा
जनकपुर: प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि विभिन्न सामाजिक अभियानसहितको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले शुक्रबार प्रदेश संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।
कुन् क्षेत्रलाई कति बजेट ?
मन्त्री यादवले संसदमा प्रस्तुत गरेको बजेट अनुसार यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । १ अर्ब २६ करोड रुपैयाँ यातायात क्षेत्र बिस्तारका लागि बिनियोजना गरिएएको छ ।
त्यस्तै कृषि क्षेत्रका लागि मा १ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । निर्वाचन क्षेत्र विकासका लागि ३२ करोड रुपैयाँ छुट्याइएको छ । यो शीर्षकमा प्रदेश सांसदले जनही ५० लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।
बजेट प्रस्तुत गर्ने क्रममा सरकाले भ्रष्टाचारबिरुद्ध कडा रूपमा प्रस्तुत हुने घोषणा मन्त्री यादवले गरेका छन् । यादवले २० करोड ९२ लाख रुपैयाँ बजेट 'बेटी पढाउ, बेटी बचाउ' कार्यक्रमका लागि छुट्याएका छन् ।
त्यसैगरी मुख्य मन्त्री स्वछ्ता अभियानका लागि २१ करोड ६२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । त्यस्तै राहत तथा पुनःस्थापन कोषका लागि १६ करोड रुपैयाँ बजेट बिनियोजना गरिएको छ ।
त्यसैगरी सरकारले कु-प्रथाहरु दाइजो र बालबिवाह अन्त्यका लगि पनि बजेटको ब्यवस्था गरेको छ। प्रदेश सरकारले लामखुट्टेबाट प्रदेशबासीलाई जोगाउन सुपानेट झुल बितरणका लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
त्यसैगरी राजर्ष जनक बिश्वबिद्यालयका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ। २ करोड ८५ लाख रुपैयाँ बजेट स्याटेलाइन सहरको सम्भाब्यता अध्ययनको लागि बिनियोजन गरिएको छ ।
प्रदेश सरकारले अस्पतालहरुको क्षमता बिस्तार गर्न ३० करोड रुपैयाँ बजेट राखेको छ । प्रदेशका ८ जिल्लामा शीत भण्डार निर्माणका लागि ५६ करोड बिनियोजन गरिएको छ ।
खेलाडी प्रोत्साहनका लागि प्रदेश सरकारले ९ करोड ७४ लाख रुपैयाँ बिनियोजन गरेको छ भने पर्यटन क्षेत्र बिकासका लागि पनि बजेट छुट्याइएको छ। प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट सिरहाको माडरमा तेन्जिङ-हिलारी गेट निर्माणका लागि बिनियोजन गरेको छ।