शौचालयको सेफ्टी ट्यांकीमा महिलाको लास
राजविराज : हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालिएको एक महिलाको लास शुक्रबार फेला परेको छ । राजविराज नगरपालिका १५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको लास उनकै घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्यांकीबमा प्रहरीले फेला परेको हो ।
महिलाको लास सडेगलेको अवस्थामा शुक्रबार उत्खनन गरी फेला पारेको डीएसपी भावेश रिमालले बताए । गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयवासीले बिहीबार प्रहरीलाई खबर गरेका थिए । डीएसपी रिमालको नेतृत्वमा शुक्रबार पुगेको प्रहरीको टोलीले लास उत्खनन गरी सेफ्टी ट्यांकबाट निकालेको हो ।
उक्त लासको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो नै पोष्टमार्टम गरिएको छ ।मृतकका श्रीमान सूर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा गत आइतबारदेखि घरमा ताला लगाएर बेपत्ता भएका थिए । हत्याको आशंकामा प्रहरीले मृतकका श्रीमानको खोजबिन गरिरहेको एसपी मुकेशकुमार सिंहले बताए ।
भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि ०७२ असार ११ गते घर फर्केका सूर्यनारायणले ०७२ सालमै सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ खुदीभखारीकी बेचनीसँग विवाह गरेका थिए ।
सुर्यनारायणकी आमा सोमादेवी साहका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले उनले तीन छोरामध्ये जेठा छोरा सुर्यनारायणलाई ११ वर्षको उमेरमा झडकेलो मामासँग मधेपुरा १ का चलितर साहसँगै रोजगारीका लागि २०४८ कात्तिक २ गते भारत पठाएकी थिइन् ।
भारतमा लगी विक्री गरेको आरोपमा उनका झडकेलो मामा चलितरलाई प्रहरीले ०७२ असार २० गते गिरफ्तार गरी मानव वेचविखन अपराधअन्तर्गत मुद्दा चलाएको थियो । २४ वर्षपछि घर फर्केका छोरा सूर्यनारायण नातिनी प्रतिभासहित बेपत्ता र बुहारीको हत्याका कारण ६७ वर्षीया बृद्धा आमा सोमादेवी विक्षिप्त छिन् । मृतकका बुवा रामकुमार साहले ज्वाइ सूर्यनारायण साहले हत्या गरी फरार भएको भन्दै आवश्यक छानबिन गर्न माग गरेका छन् ।