आफ्नो टोलीको हौसलाका लागि जुँगा बढाउँदै समर्थक

आफ्नो टोलीको हौसलाका लागि जुँगा बढाउँदै समर्थक

मस्को : प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल मैदानमा खेलाडीबीच हुने घम्साघम्सीका कारण मात्र चर्चित हुँदैन, विश्वकप फुटबलमा खेलसँगै समर्थकहरूको चर्तिकलाले पनि उत्तिकै चर्चा पाउँछ । रुसमा बिहीबारदेखि सुरु भएको २१औं विश्वकप फुटबलका क्रममा पनि समर्थकका थरीथरीका चर्तिकला समाचारको विषय बन्न थालेका छन् ।

कुनै समर्थक आफ्नो टोलीको खेल हेर्न जर्मनीबाट आयोजक राष्ट्र पुगेका छन् भने कुनै समर्थक टोलीको हौसला बढाउन पाँच हजार किलोमिटरभन्दा बढी दूरी साइकलमा पार गर्दै रुससम्म पुगेका छन् । यस्तोमा घरेलु टोली रुसका समर्थकले पनि आफ्ना खेलाडीको मनोबल बढाउन छुट्टै अभियान चलाएका छन् । रुसका समर्थकले आफ्नोे टोलीको हौसला बढाउन जुँगा बढाउने अभियान थालेका छन् ।

रुसका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता इभान उर्गान्टले विश्वकपमा घरेलु टोलीको हौसला बढाउन ‘जुँगा बढाऊ अभियान’ सुरु गरेका हुन् । उनले आफ्नो टेलिभिजन कार्यक्रममार्फत समर्थकलाई विश्वकप अवधिभर जुँगा बढाउन आह्वान गरेपछि जुँगा बढाउने समर्थकको संख्या बढ्दै गएको छ । महिला समर्थकले समेत नक्कली जुँगा लगाएर यो अभियानमा साथ दिँदै आएका छन् ।

खासगरी यो अभियानलाई रुसी टोलीका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभसँग जोडेर अगाडि बढाइएको हो । आफ्नो समयका चर्चित गोलरक्षक चेर्चेसोभ खेलाडी जीवनदेखि नै आफ्नो जुँगा र कपालको शैलीका लागि चर्चित थिए । चर्चेसोभले तात्कालीन सोभियत संघबाट पनि फुटबल खेलेका थिए । ‘चेर्चेसोभलाई यति बेला हाम्रो समर्थनको आवश्यकता छ, त्यसैले विश्वकप अवधिभर आफ्नो जुँगा बढाएर हामी उनको र राष्ट्रिय टोलीको हौसला बढाऔं’, इभानले आफ्नो कार्यक्रम र सामाजिक सञ्जालबाट समेत समर्थकलाई आग्रह गरेका थिए ।

‘यति बेला विश्वकपको भविष्यवाणी, मौसम, भौतिकशास्त्रको नियम, खेलाडीको प्रदर्शनसमेत प्रशिक्षक चेर्चेसोभको विरुद्घमा छ । यस्तो अवस्थामा हाम्रो अभियानले टोलीको हौसला बढाउन सहयोग पुर्‍याउने छ’, विश्वकप सुरु हुनुअघि खेलिएका अभ्यास खेलहरूमा रुसले निराशाजनक प्रदर्शन गरेपछि इभानले भनेका थिए । उनको यो अभियानपछि सामाजिक सञ्जालमा समेत जुँगासहितको आफ्नो तस्बिर पोस्ट गर्ने समर्थकको संख्या निकै बढेको समाचारमा उल्लेख छ ।

जारी विश्वकपमा आयोजक रुस फिफा वरीयताको सबैभन्दा तल रहेको राष्ट्र हो । फिफाको पछिल्लो वरीयतामा साउदी अरेबिया पनि रुसलाई उछिन्दै अगाडि बढेको थियो । यद्यपि, विश्वकपको बिहीबार खेलिएको उद्घाटन खेलमा रुसले एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियालाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै आफूलाई कमजोर नआँक्न सबै प्रतिद्वन्द्वी र आफ्ना आलोचकलाई समेत कडा चेतावनी दिएको छ । समूह ‘ए’मा रुस र साउदी अरेबियासँगै दुईपटकको विश्वकप विजेता उरुग्वे र इजिप्ट पनि छन् । रुसले आफ्नो दोस्रो खेल जुन १९ मा इजिप्टसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.