मेसीको टोलीविरुद्ध आइसल्यान्डको ‘डेब्यु’
मस्को : विश्वकप फुटबलमा छानिएकामध्ये सबैभन्दा सानो देश (जनसंख्याको हिसाबले) आइसल्यान्डले शनिबार लियोनल मेसी र उनी नेतृत्वको अर्जेन्टिनाविरुद्ध खेल्दै फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा ‘ड्रिम डेब्यु’ गर्दै छ । नेपाली समयअनुसार ६:४५ बजे स्पार्टक स्टेडियममा सुरु हुने खेलले फरक अनुभव दिने पक्का छ ।
आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १-१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वार्टरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो ।
त्यसपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रुस विश्वकपको तयारीमा जुटेको आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यो नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का दिन सक्छ ।
क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवत: आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याएका थिए । तर, प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन् । अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोेलले पराजित भएको थियो ।
त्यसपछि भएको कोपा अमेरिकी फुटबलको फाइनलमा समेत चिलीसँग पराजित हुँदै उपाधिबाट फेरि वञ्चित हुँदा मेसीले सन्न्यासकै घोषणा गरेका थिए । उनी सन्न्यासको निर्णय फिर्ता लिँदै फेरि राष्ट्रिय टोलीमा फर्किएका हुन् । फेरि पनि आफ्नै अविश्वसनीय प्रदर्शनसँगै उनले अर्जेन्टिनालाई रुस विश्वकपसम्म पुर्याएका छन् । यद्यपि अर्जेन्टिना यसपटक पनि उपाधिबाट चुकेमा राष्ट्रिय टोलीबाट मेसीको खेलजीवन उपाधिविहीन रहने निश्चित छ ।
विश्वकपको उपाधि जित्ने मेसीको अन्तिम प्रयासले सहज बाटो लिन्छ वा आइसल्यान्डले युरोकपको सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्याउँदै मेसीलाई निराश पार्नेछ, यही खेलले टुंगो लगाउनेछ । त्यसका लागि यी दुई टोलीले विश्वकपको तयारीस्वरूप खेलेका पछिल्ला खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ । अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेपछि खेलेको पछिल्ला पाँचमध्ये केवल तीन खेलमा जित हात पारेको छ ।
अर्जेन्टिना आफ्नो पछिल्लो दुई खेलमध्ये नाइजेरियासँग ४-२ र स्पेनसँग ६-१ गोलको भारी अन्तरले पराजित भएको थियो । यी दुई खेलले अर्जेन्टिनी टोलीको रक्षापंक्तिको कमजोरी उजागर गरिदिएको छ । विश्वकपमा छनोट भएयता आइसल्यान्डको प्रदर्शन पनि खासै गतिलो छैन । आइसल्यान्डले रुस विश्वकप छनोट पक्का गरेपछि खेलिएको पछिल्ला सातमध्ये केवल एक खेलमा जित हात पारेको छ । यी दुई टोलीबीच भने यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको छैन ।
अर्जेन्टिना
विश्वकप सहभागिता : १७औं पटक
उपलब्धि : उपाधि (सन् १९७८ र सन् १९८६)
फिफा वरीयता : ५
आइसल्यान्ड
विश्वकप सहभागिता : पहिलो
उपलब्धि : छैन
फिफा वरीयता : २२