‘हरि’को ह्याङओभर
सुइँखुट्टे शरीरमा टाँसिएको खपटे अनुहार, खुइलिँदै गएको तालु अनि छेद परेका दाँत, श्याम वर्णको आबवरणमा लाचारीले भरिएको व्यक्तित्व। पाठकवृन्द, यो हुलिया कतैबाट फिलिमको हिरोझैं लाग्छ तपाईंलाई ? नलागेर के गर्नु, विगतका केही वर्षदेखि हिरोको चलनचल्तीका परिभाषाहरूलाई तोड्दै भत्काउँदै, एउटा मरन्च्याँसे नायक, भुस्तिघ्रे हिरोहरूलाई मैदानमा पछार्दै आफ्नो साम्राज्य स्थापित गर्न भनी लागिपरेको छ। यो अनौठो हिरोले अहिले आएर त झन् ‘हरि’ भन्ने फिल्ममार्फत हरिप किक नै हानेको छ।
सुइरे ज्यानलाई हावामा तुर्लुंग झुन्ड्याएर, सिनेम्याटिक स्पेसको चौथो भित्तालाई गर्लम्म भत्काउँदै ठाडै तपाईंलाई सम्बोधन पो गर्न थाल्छ, ‘आदरणीय दर्शकवृन्द, नमस्ते, म हरि, लक्ष्मी फाइनन्सको म्यानेजेर... सन्चै हुनुहुन्छ ? ’
मिस्टर ‘हरि’ तपाईंसँग चिल्लो घनिष्ठता गाँस्दै आफ्नो कथा भन्ने जमर्को गर्छ। किन्तु उसले तपाईंलाई त्यति नजिक राखेर जुन कथा भन्छ, त्यो चलनचल्तीका कथाको मान्यताबाट विचलित विशृंखलित र विसंगत छन्। फिल्मले त्यसपछिका दुई घन्टा नेपाली सिनेमाले विगतमा कहिल्यै यात्रा नगरेको एउटा अवचेतन दुनियाँको सिनेम्याटिक संसारमा विचरण गराएर जान्छ।
आजभन्दा सय वर्षअघि सिनेमा जुन बेला आफ्नो भाषाको खोजमा कम्मर कसेर लागिपरेको थियो, सिनेमा शिल्पका विविध आयामहरू आविष्कार हुँदै थिए, उति बेला कला र साहित्यमा चिल्ला कन्भेन्सन्सहरूविरुद्ध अराजक क्रान्तिहरू हुँदै थिए। सिनेमा पनि ती विशृंखलित अनुभूतिको प्रभावबाट मुक्त रहन सकेन। दृश्य भाषाको सशक्त माध्यम सिनेमामा त्यो अराजकताले झन् बलियोसँग जग गाड्यो। यथार्थको डुप्लिकेट स्वरूप निकाल्न लागिपरेको सिनेमाको लागि यो एउटा नयाँ पाठ थियो। ‘बाहिरी’ यथार्थको डुप्लिकेट मात्र सिनेमा होइन, बरु यो त अवचेतनका हुन्डरीहरूको दस्तावेज पो हो। नांगा आँखाले भोगेका ‘बाहिरी’ दृश्य मात्र होइन कि बरु मनका तहमा सिर्जित विशृंखलित दृश्यहरूको सिलसिला सिनेमा वाचाकीको सबैभन्दा सशक्त भाषा हो। अतियथार्थवादीहरूको यही सार थियो। लुइ बुनिएलले सन् १९२९ मा बनाएको सिनेमामा एउटा व्यक्तिले दाह्री फाल्ने औजारले आँखा चिर्दै गरेको दृश्यले चिल्ला सिनेमाका पारखीहरू एक फेरा झसंग भए। अनि लामो समय लगएर यो विसंगतिको स्वाद लिए। यो विखण्डित यथार्थको स्वरूप, दृश्य भाषाको एउटा बलियो मानक बनेर एक शताब्दी हिँडिसक्दा नेपाली सिनेमाले बल्ल यस्को स्वाद चाख्न खोज्यो।
‘हरि’ आफ्नोे नीलो रङको होन्डा बाइकमा कार्यालय सवार भइरहँदा महानगरको तारमाथि बसेको चरोले उसको टाउकोमा बिस्ट्याइदिन्छ। माथि फर्की हेर्दा काग र परेवा देखिन्छन्। बिस्ट्यायो कसले ? परेवाले छेरेको भए लच्छिन लाग्थ्यो, कागले छेरे लोदर लाग्छ। त्यसपछिका घटनाक्रमहरूमा ‘हरि’का भोगाइहरूमा लच्छिन र लोदर दुवै मिसिएर आउँछन्। मिस्टर ‘हरि’ यसो विचार गर्छ, सायद काग र परेवा दुवै मिलेर बिस्ट्याएछन् कि कसो ?
अनुशासन र आदर्शको ठेड्कामा चेपिएको हरि बिचरो लाग्छ। आदर्शका बन्धनहरूले उसको मनोविज्ञानलाई चेपेर राखेका छन्। विविध बन्धनहरूको चेपोमा एउटा मोनोटोनोस नियमित जीवन बाँचिरहेको हरि टिठलाग्दो देखिन्छ। सिग्मन्ड फ्रायडका अनुसार इड, इगो र सुपर इगो गरी व्यक्तित्वका तीन तह हुन्छन्। फ्रायडीय सुपरइगोको भूत लागेको मिस्टर ‘हरि’ बिस्तारै इडको प्रस्फुटनमा आफूलाई ट्रान्सफर गर्दैछ। माछा, मासु, लसुन, प्याज खानु अधम हो भन्ने विश्वासले पिल्सिएको हरि, तीन दशक उमेर नाघेपछि बिस्तारै आफ्ना आदर्शहरू तोड्न लागिपरेको छ। आफ्नो मनलाई स्वतन्त्र छाडेर ऊ जिन्दगीका मिठासहरू भोग्न लागिपरेको छ। जिन्दगीका नियमित रुटिनलाई त्यागेर ऊ फरक हुन खोज्छ। ऊ प्रेम गर्न खोज्छ। नियमहरू तोड्न खोज्छ, ऊ तामसिक जीवन बाँच्न खोज्छ। आत्मबोधको एउटा बिन्दुमा आएर हरिले गम खान्छ, ओहो सेक्स त परै जाओस्, उसले जिन्दगीमा एउटी युवतीलाई किस पनि गरेको छैन। दमित मनका ज्वारभाटाहरू उम्रँदै जान्छन् पर्दामा। तर, जे जति घटना हुन्छन्, ती परम्परागत यथार्थको वाचकीभन्दा अलिक उदेकलाग्दो पाराले हुन्छन्। यो कस्तो खालको एथार्थ हो ? मनको उडानजस्तो। सपनाजस्तो अथवा साइकेडेलिक नशाको प्रभावजस्तो। दर्शकलाई आत्मीय ठानेर ‘हरि’ आफ्नो व्यक्तिगत जीवन भोगाइ सुनाउन चाहन्छ तर त्यो भोगाइ उसले देखेको सपनाको यात्रा हो कि, उसको जीवन हो... अथवा फगत फेन्टासी हो। खै अरू के के हो...।
हरियो रङ नफाप्ने ‘हरि’लाई नेपाली बजार पनि फापेको छैन। बजारमा ‘हरि’ उत्तानो परेको छ। किन्तु सिनेमालाई गम्भीर रूपमा लिने सीमित घेराले सिनेमालाई स्याबासी दिएको छ।
सन् १९६० तिरको कुरो हो। सिनेमा सिर्जनामा धेरै वैयक्तिक काव्यका सिलसिलाहरू सुरु भएका थिए। इटलीबाट उदाएका फेडेरिको फेलिनी सान्डे सातवटा सिनेमा बनाइसकेपछि आठौं सिनेमा ‘साढे आठ’ नै नाम राखेर बनाए। व्यक्तिगत भोगाइहरू र अवचेतन मनका उडानहरूलाई जस्टपोज गरेको एउटा फरक सिनेम्याटिक अनुभूतिको यात्रा थियो त्यो। त्यो उडान कतिलाई ताजा, आलो र गज्जबको सिनेम्याटिक स्वाद लाग्यो। फेलिनी आफ्नो करिअरको दोस्रो इनिङ सपनाजस्ता सिनेमाका उडानमा उडिरहे। नाचिरहने र आकाश र जमिनको साँधमा तैरिरहेको मान्छेको अनुभूतिलाई फेलिनीले सिनेमा प्रथाका बारहरू भत्काउँदै वाचन गरिराखे। सिनेफिलिया, फेलिनिस्कको नामले त्यो स्वप्नयात्रालाई आज व्याख्या गर्न खोज्छ।
मनोविज्ञानको तहबाट न्यारेटिभको उत्खनन गर्ने प्रथा सन् १९६० पछिको समयमा हावी भएर गयो। कथा भन्ने प्रथा असाध्यै रिपिटेटिभ र बासी भइसकेको बेला थियो। सर्जकहरू त्यो बेला कथ्यभन्दा पनि शिल्पको उत्खनन गर्न लागिपरेका थिए। वस्तुगत भोगाइको डुप्लिकेट स्वरूप बनाउँदा बनाउँदै वाक्क भइसकेको सिनेमाको न्यारेटिभले नियमहरू भत्काउन थालेको थियो। चलनचल्तीका अनेक मान्यतालाई भत्काउँदै सिनेमा, सर्जक केन्द्रित स्वतन्त्र र अराजक विचरणमा थियो। सिनेमा काव्यका हाँगाबिंगा फिजारिएर कोसौं पर लाग्दै गर्दा हाम्रो यता भने बल्लबल्ल सिनेमा जन्मेको थियो।
यस्तोमा अहिले ‘हरि’ सिनेमा पचाउन गाह्रै हुन्छ। मिस्टर हरि एकाएक कुहिरोले ढाकेको सुनसान बगरमा आफूलाई पाउँछ। बाटो हराएको भेडाझैं ऊ धमिलो लोकमा फसेको छ। थाहा छैन, बाटो हराएको भेडा गोठालोको फेला पर्ने हो कि ब्वाँसोको सिकार। रुटिन मान्छे, हरिका रुटिनहरू उत्तानो परेका छन्। बाबाजीले पिलाएको भाङमा सैकेडेलिक यात्रा गर्न थालेको छ। डान्स पार्टीमा मस्त नाचिरहँदा एक नर्तकीको हातमा रोस्टेड मांसपिण्ड देख्छ र त्यसलाई स्वादले चपाउन पो लाग्छ। नशाको ट्रिपबाट उत्रिँदा, आफूलाई रातभर महानगरको पुलमुनि सुतिरहेको पाउँछ।
एउटा अजंगको नायकले खलनायक र उसका हूललाई पछार्दै सखाप पारेको दृश्य हेरेर ताली बजाउँदै पाटे सुसिलो हाल्ने प्रथा बोकेर यहाँसम्म आइपुगेको हाम्रो सिने संस्कारले ‘हरि’जस्तो कुनै कोणबाट पनि आकर्षक नलाग्ने विचरो प्राणीको मनोदशालाई न्यारेटिभ बनाउन थाल्दा लाग्छ— हाम्रो सिनेमा चिन्तनले एउटा काइदाको छलाङ मारेको छ।
कथाको धर्म भनेकै उत्तेजना पैदा गर्नु रैछ। मान्छेहरूलाई उत्तेजक बनाउने बहानामा शास्त्रीय कथाहरूले थुप्रो आर्किटाइप्सलाई सिनेमा बाचकीमा थुपरिदिए। कहाँकहाँबाट सिनेमामा देउता, दैत्य, सुपरहिरो, विदूषकहरू अनि थुप्रै अरूहरू आए। मानव इतर चरित्रहरूलाई थुपारेर सिनेमा दिनप्रतिदिन उत्तेजक बन्दै थियो। बीसौं शताब्दीमा सभ्यताले भोगेका विशाल युद्ध र युद्धमा देखिएका जिउँदा जाग्दा मान्छेहरूका क्षति। युद्धले बगाएका रगत र आँसुको पोखरीमा तैरिएर मान्छेको जातले मान्छे भन्ने भावनालाई अलि गहिरिएर छाम्न खोज्यो। त्यसपछिका कथाहरूमा उत्तेजनाभन्दा मानवीय मनोदशाका गहिराइहरू अलिक बढी हुन थाल्यो। कहिले जीवनका निस्सारता, कहिले मान्छेका विसंगत र मूर्ख भोगाइहरू सेलिब्रेट गर्न लाग्यो। दर्शनबाट सुरु भएको यो आयाम साहित्य हुँदै सिनेमामा संक्रमित भयो। सिनेमा वाचकीमा अटाउन नसक्ने ठानिएका चरित्र, भोगाइ, कथ्य र अनुभूतिहरू त विस्तारै सिनेमाको मूल मियो पो बन्न थाले। वर्षौंपछि नेपाली सिनेमामा देखिएको ‘हरि’को यो सानो ग्लिम्स, अब्सर्ड वाचाकीहरूले खोज्ने र बुन्ने कथ्यको चरित्रझैँ लाग्छ।
अद्भुत विचार खजानाहरूलाई एउटै चरित्रको भोगाइमा जोडेर अनौठो संसारको यात्रामा लैजान खोज्छ ‘हरि’। घटनाका सिलसिला वास्तविक लाग्छ तर प्रस्तुति जिन्दगीभन्दा अलिकति विरुप र विकृत छ। मजुरको प्वाँख जोडेर जंगलमा नाचिरहेको हरि, उसले चपाइरहेको भीमकाय लसुन, ट्याम्पोवाली सँगको हिमचिममा सधैंजसो सारंगी रेट्न आइपुग्ने गन्धर्व। अथवा पचाउन नसकेर हरिले बमन गरेका तामसिक व्यञ्जनहरू अनि अरू थुप्रै अवचेतनको तहबाट निक्लिएको विचार सिनेमेटिक यात्राले बारम्बार क्रमभंग गराउँदै सैकेडेलिक संसारमा जाकिरहन्छ।
सिनेमासम्बन्धी चलनचल्तीका मान्यतालाई पीठ देखाएर ‘हरि’ आफ्नो सवारीमा निक्लिएको छ। यो क्रान्तिलाई थपडी बजाउनुपर्ने दर्शकका हूलहरू भने कुन मुसाको दुलोमा छिरेछन् ?
सन् १९७० मा मेक्सिकोबाट एउटा विचित्र सिनेमाको उदय भयो। नांगो बालकलाई घोडामा राखेर मरुभूमिको यात्रामा निक्लिएको एल टोपोको यात्रामा यथार्थहरू विकृत हुँदै कहाँकहाँसम्म पुग्न थाले। कम बजेटमा एक्दमै इन्डी निर्माणशैलीमा बनेको उक्त सिनेमाले कल्ट फलोअरमा दरो जग गाड्यो। ठूलो निर्माण कम्पनीले ख्वात्तै पैसा खन्याएर जोदोरोस्कीलाई काखी च्याप्यो। जोदोरोस्कीले झन् अद्भुत साइकेडलक अनुभूतिहरू जम्मा पारेर ‘होली माउन्टेन’ बनाए। त्यस्तै, अमेरिकी डेविड लिन्चले असाध्यै सानो बजेटमा बनाएको ‘इरेजर हेड’ले असाध्यै ठूलो प्रभाव छाडेर गयो। लिन्च सररिएल वाचकीको साम्राज्य खडा गर्दा भए।
सिनेवृत्तमा बीसौं शताब्दीको पुछारतिर अराजक सिनेमाहरूको ठूलै जगजगी रह्यो। सिनेमाका पुरातन पाचकीहरूलाई ठाडै इन्कार गर्दै उनीहरूले जतिसक्दो अराजकता भिœयाए। चलनचल्तीका सामाजिक यथार्थवादलाई उनीहरूले माझी औंला देखाइदिए। सिनेमाको स्क्रिनमा जति सकिन्छ नांगिने र जति सकिन्छ अराजक बन्ने उनीहरूको धेय थियो। फ्रेन्च एक्स्टिमिस्ट अभियानले त ऐलान नै ग¥यो, ‘सिनेमाको सबैभन्दा सुन्दर चिज हो, मान्छेको वीर्य र रगत।’ यिनै एक्स्ट्रिमिस्टहरूको बारीमा उम्रिएका गस पोर नोइले आत्माको यात्राबारे बनाएको साइकेडेलिक जर्नी इन्टर द भोइडलाई अहिलेसम्मकै उत्कृष्ट सिनेम्याटिक जर्नी भनेर सिनेमा जगत् व्याख्या गर्न खोज्छ।
सिनेमासम्बन्धी चलनचल्तीका मान्यताहरूलाई पीठ देखाएर ‘हरि’ आफ्नो सवारीमा निक्लिएको छ। नेपाली सिनेमाको दृश्य भाषा यति सघन बनिसक्यो, कल्पना गर्ने मान्छे आए, कल्पनालाई उतार्ने शिल्प र प्रविधि सबै आए। सर्जकको दृढ आत्मविश्वास आयो तर दर्शकहरूचाहिँ कता गएछन् ? यो क्रान्तिलाई थपडी बजाउनुपर्ने दर्शकका हूलहरू भने कुन मुसाको दुलोमा छिरेछन् ?
प्राविधिक र शिल्पगत रूपमा सिनेमाका केही कमजोरी होलान्। तर, सर्जकको पहिलो सिनेमा भनी हेर्दा सिनेमा धेरै सशक्त लाग्छ। न्यारेटिभ क्रमलाई भंग गरेर धेरै बेर अवचेतन हुन्डरीमा हराउँदा सिनेमाका नियमित दर्शकलाई उकुसमुकुस बनाएको छ। उनीहरूलाई सिनेमा पचाउन त परै जाओस्, निल्न पनि गाह्रो भएको छ।
एउटै सिनेमा सबै दर्शकका लागि हुँदैनन्, ‘हरि’ आमदर्शकका लागि भएन। ‘हरि’ जसका लागि हुन सक्थ्यो, उनीहरू हलसम्म जाँदै गएनन्, कहिल्यै जाँदैनन्। तै एउटा आशा के भने, यस्ता सिनेमाहरू बनिरहँदा विस्तारै सिर्जनाका गम्भीर उडानहरूमा तादात्म्यता राख्ने दर्शकहरू बढ्दै जालान् र उडन्ते सिनेमाहरूको डम्पिङ साइडबाट मुक्त भएर हाम्रो सिनेमावृत्त सुन्दर सिनेमाहरूको बगैंचा बन्ला कुनै दिन।
हरियो रङ नफाप्ने ‘हरि’लाई नेपाली बजार पनि फापेको छैन। बजारमा ‘हरि’ उत्तानो परेको छ। किन्तु सिनेमालाई गम्भीर रूपमा लिने सीमित घेराले सिनेमालाई स्याबासी दिएको छ। ‘हरि’जस्तो सिनेमा निर्माण हुँदै जाँदा हामीले हाम्रो दृश्य भाषाको फराकिलो परिधि भेट्ने थियौं। ‘हरि’ले हरियो संकेत बालेको छ, अस्तव्यस्त सिनेमाको भद्रगोल ट्राफिकमा। तर, निठुरे बजारको कठोर चक्रव्यूहले ‘हरि’का जन्मदातालाई निरन्तर सिनेमा बनाउने उत्प्रेरणा दिइरहला कि नरहला ?
दर्शकलाई पनि ‘हरि’को मनपरी कथ्य हरिबिजोग लाग्न सक्छ। पैसा र समय खर्च गरेर दुई घन्टाको सोफोकेसन झेलेर, हलबाट बाहिर निक्लँदै गरेका निराश अनुहार हेर्दा लाग्छ— नेपाली बजारले ‘हरि’लाई हेर्ने बेला अझै भएको छैन। सायद ‘हरि’लाई यो कुरा पहिल्यै थाहा थियो, त्यसैले उसले त्यसो भन्यो। ‘हरि’कै शब्द सापटी मागेर, ‘हरि’ हेरिसकेपछिको ह्याङओभरमा लेखेको यो फ्रेग्मेन्टेड लेख यहीँ बिट मारेँ ।