‘पाठेघर’को शल्यक्रिया

‘पाठेघर’को शल्यक्रिया

सृष्टिसौन्दर्यको बीजाधान, विकास र सृजना भूमि हो पाठेघर, जहाँ पुरुषप्रदत्त बीज ग्रहण गर्दै भ्रूणको विकास गरी सृष्टि प्रक्रिया अगाडि बढाइन्छ। स्वयम् धरा वा ब्रम्हाण्ड पनि पाठेघर हो। यो ब्रम्हाण्ड पाठेघरमा यावत् जीव, वनस्पति, प्राणीहरूको सृजनकर्म सम्पन्न हुन्छ। यही सार्वभौम विषयलाई शीर्ष कविता बनाएर जन्मिएको कृतिको नाम हो पाठेघर। यस कृतिको प्रसूतिक्रिया कवि बादलदेवी चाम्लिङले आफ्नो सृजनकर्मको पहिलो सन्तानका रूपमा सम्पन्न गरेकी छन्। साठीको दशकदेखि नै कविता लेखनमा क्रियाशील चाम्लिङको ‘पाठेघर’ ३८ वटा कविताहरूको सङ्ग्रहका रूपमा भर्खरै सार्वजनिक भएको छ। मुक्त लयमा लेखिएका यी कविताहरू कवि चाम्लिङका सिर्जनयात्राका यस प्रहरका महत्वपूर्ण उपलब्धिका रूपमा देखापरेका छन्।

‘पाठेघर’ कविता सङ्ग्रहका कविताहरूमा विषयगत विविधता भए पनि चिन्तनको संसार आफ्नै परिवेश वा पर्यावरणबाट निर्माण भएको छ। यसमा कविका आफ्नै परिवेश तथा जीवन भोगाइसँग सम्बन्धित कविताहरूको बाहुल्यता छ। कविको जन्मभूमि, बाल्यकाल, विवाहपछिका अनुभूति, सन्तान प्राप्ति र पुत्रवियोगजन्य संवेदना, नारीत्व, कवि बाँचेको देश, क्षण तथा पर्यावरण आदि पक्षसँग सम्बन्धित भाव, विचार र अनुभूतिबाट यस सङ्ग्रहका कविताहरूको स्वरूप निर्माण भएको छ। आफ्नै परिवेश, जीवन भोगाइ तथा अनुभूतिलाई प्रकट गरीकन पनि सार्वभौम अनुभूति वा सत्यलाई प्रकट गर्ने विशिष्ट काव्य कलाच यस सङ्ग्रहका कविताहरूमा देखिन्छ।

यस सङ्ग्रहका धेरै कविताहरू राष्ट्र, राष्ट्रियता तथा देशप्रेमसँग सम्बन्धित छन्। विश्वकै शान्त, समृद्ध र समुन्नत देशका रूपमा परिचित गराउन चाहने कविको राष्ट्रिय चेतनाको अभिव्यक्ति भएको कविता हो, ‘नेपाल : पहिलो विश्वको देश’। भ्रष्टाचार, नातावाद, भोलिवाद, वर्गभेद जस्ता अनाचारहरू समाप्त भई नागरिकहरू स्वावलम्बी तथा उद्यमशील भएमा नेपाल विश्वकै पहिलो देश बन्ने विचार यस कवितामा व्यक्त भएको छ। ‘मेरो देश नेपाल : म नेपाली’ विदेशी साम्राज्य र स्वार्थी राजनीतिक संस्कारका कारण नेपाल र नेपालीको विकास हुन नसकेको विचारलाई प्रस्तुत गरिएको कविता हो। नेपालीहरूको पराधीनता, बेरोजगारीपन तथा नेपालको विरामीपनमाथि कविताले चोटिलो व्यङय प्रहार गरेको छ।

‘कुरूप नागरिक’, ‘समानान्तर जित’, ‘सङ्क्रमण कालमा मेरो देश नेपाल’ यसै किसिमको भावभूमिमा आधारित कविता हुन्। यी कविताले वर्तमान नेपाल तथा नेपालीका कुरूपता, दीनता तथा संवेदनशीलताका साथै सङ्क्रमणकालीन वर्तमान नेपालका समस्यालाई प्रस्तुत गरेका छन्, यहाँको समसामयिक जटिल अवस्थाका बारेमा गम्भीर चिन्ता प्रकट गरेका छन्। नेपाली समाज तथा नेपालको राष्ट्रिय धरातलमा उभिएर मान्छे मात्रका स्वतन्त्रता र समृद्धताका साथै हरेक राष्ट्रको समृद्धता र स्वाभिमानसँग सम्बन्धित सार्वभौम मान्यतालाई चाम्लिङका यी कविताले अभिव्यञ्जना गरेका छन्।

पाठेघरका केही कविताले नारीचेतनालाई विषयवस्तु बनाएका छन्। यस्ता कवितामा नारीको महिमामय स्वरूपका साथै पितृसतात्मक समाजमा नारीको मूल्य र स्वाभिमान एवम् नारीमाथि भएका अमानवीय व्यवहारसँग सम्बन्धित कविका अनुभूति प्रस्तुत गरिएको छ। ‘आमा’ मातृत्व र सृजनशक्तिको महिमागान गरिएको यस सङ्ग्रहको नारी चेतनामूलक कविता हो। जून, पूmल, धर्ती जे उपमा दिए पनि आमा भनेकी आमा नै हुन् भन्ने विचारलाई प्रस्तुत गरिएको आमाको महत्व अति नै उच्च भएको दृष्टिकोण राखिएको छ। घर निर्माणमा अहम् भूमिका हुने नारीहरू पितृसतात्मक सामाजिक परम्पराका कारण नेपथ्यमा पारिएको स्थितिप्रति टिप्पणी गरिएको कविता हो, ‘घर’। ‘दृश्यमा उनी’ बोक्सीका आरोपमा मान्छेका भिडमा नाङ्गेझार पारी मट्टितेल खन्याएर जिउँदै जलाइएकी नारीको संवेदनशील अवस्थाको चित्रण गरिएको कविता हो। यसमा नारीलाई जिउँदै जलाउने समाजको अस्तित्वका बारेमा गम्भीर प्रश्न उठाइएको छ।

‘पाठेघर’ भित्रका केही कविताले मानवीय जीवनका अस्तित्व एवम् विसङ्तिसँग सम्बन्धित अनुभूतिहरूलाई केलाएका छन्। ‘पहाड’, ‘जीवन’, ‘खुट्टा’ जस्ता कवितामा मानवीय जीवनका आशा, निराशा तथा अभ्यर्चनाहरूलाई प्रस्तुत गरिएको छ। ‘पहाड’ कविताले जीवनलाई पहाडको सादृश्यमा परिभाषित गरेको छ। ‘जीवन’ कवितामा जीवनका प्राप्ति अप्राप्ति तथा अस्तित्व एवम् विसङ्गतिलाई केलाइएको छ। ‘खुट्टा’ कविताले पनि मान्छेलाई खुट्टाले होइन, स्वाभिमानले गतिशील बनाउने जीवनवादी दृष्टिलाई प्रस्तुत गरेको छ। मानवीय जीवन गतिशील तथा स्वाभिमानी हुनुपर्ने अस्तित्ववादी चेतनाको अभिव्यक्ति यस धारका कवितामा पाइन्छ।

‘पाठेघर’ भित्रका ‘सानो सूर्य’ पुत्रोदयको अतिशय हर्ष र ‘छोरो’ पुत्रवियोगको सीमातीत पीडालाई अभिव्यक्त गरिएका कविता हुन्। पहिलो कविताले पुत्रप्राप्तिको आकांक्षा तथा पुत्रोदय पछिको सुखद् अनुभूतिका साथै मातृवात्सल्यलाई प्रकट गरेको छ भने दोस्रो कवितामा बाल्यावस्थामा रहेको आफ्नो छोराको वियोग हुँदा सिर्जना भएको पीडाबोधलाई अभिव्यक्त गरिएको छ। यसमा वैयक्तिक शोकको साधारणीकरण गरी अ श्रुबोधसँग सम्बन्धित चेतनालाई विशिष्ट कविताकौशलका साथ प्रस्तुत गरिएको छ।

यस सङ्ग्रहका केही कविता आदर्श व्यक्तिप्रतिको महिमागान तथा श्रद्धाभावमा केन्द्रित छन्। ‘समयको चुनौती पात्र’ साहित्यकार तथा समाजसेवी ईरनराईप्रतिको कविको श्रद्धाभावलाई तथा ‘चित्रशिल्पी’ पोखराका कृष्ण मर्सानीप्रतिको कविको प्रशस्तिभावलाई प्रकट गरिएका कविता हुन्। आफ्नै जीवन साथीप्रतिको आस्थाभावलाई ‘उनी’ र ‘हजुरको जित मलाई मन पर्छ’ कविताले प्रकट गरेका छन्। आफ्ना आदर्श पात्रका बारेमा लेखिएका यी कवितामा आपूmलाई मात्र नभई अरूको जीवनमा समेत प्रेरणा दिने व्यक्तित्वप्रतिको श्रद्धाभावलाई प्रकट गरिएको छ।

‘गाउँ कवितासँगै’, ‘म खोला’, ‘गाउँ सम्झेर’, ‘प्रकृति’, ‘गाउँमा चरी’ कवि बादलका प्रकृतिचेतनासँग सम्बन्धित कविता हुन्। यी कवितामा ग्रामीण संस्कृति, बाल्यकाल, सहज प्राकृत जीवनका बारेमा कविको हार्दिक अनुरागलाई प्रकट गरिएको छ। सहरी यान्त्रिकता तथा कृत्रिमताका साथै सहरको स्वार्थी प्रवृत्तिप्रतिको व्यङयात्मक अभिव्यक्ति यी कवितामा कलात्मक रूपमा प्रकट गरिएको पाइन्छ।

बादल देवी चाम्लिङका कविता विषयवस्तु, भाव तथा विचारका दृष्टिले समुन्नत हुनाका साथै शिल्प पक्षका दृष्टिले पनि स्तरीय नै देखिन्छन्। यति हुँदाहुँदै बादलका कविताले शिल्पपक्षमा चाहिँ परिष्कारको अपेक्षा गरेकै देखिन्छ। बादलका कवितामा मुक्तलयको श्रुतिमधुरतामा उत्कृष्टता थप्न ध्वनिहरूको संयोजन तथा अनुप्रासविन्यासमा ध्यान दिनु आवश्यक छ। विषयवस्तुलाई भावमय बनाउन आलङ्कारिक रूपविन्यासप्रति सचेत रहनु अनिवार्य छ। अतः उचित बिम्वयोजना, लय सङ्गतिप्रतिको सचेतता तथा सटीक रूपमा भाव तथा विचार पक्षलाई सम्प्रेष्य बनाउने काव्यकलाप्रति सचेत हुनुपर्ने देखिन्छ। कवितोपचारमा निरन्तर साधनारत रहेमा पाठेघरको प्रसवपछि जन्मिने अन्य कविताले बादलको कवित्वलाई उचाइमा पुर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.