लिखित संसारको कथा

लिखित संसारको कथा

यो माटोको मुद्रणदेखि छापाखानासम्मको कथा हो। यो पेन्सिलदेखि इन्टरनेटसम्म र गिलगमेश महाकाव्यदेखि ह्यारी पोर्टरसम्मको इतिहास हो। संसारमा लिखित साहित्यको इतिहास चार हजार वर्षको छ। स्नायु वैज्ञानिक डेनियल डिनेटले गुफा मानवले पहिलोपल्ट सीधा धर्सा कोरेको क्षण नै पहिलोपल्ट मानवले सिर्जनशील मस्तिष्कसँग साक्षात्कार गरेको बताएका छन्।

हाउभाउ, ध्वनि र मौखिक भाषा हुँदै लिपिसम्म आइपुग्दा मानवले विकासका अनेकौं चरण पार गर्‍यो। लिपिको विकाससँगै माटोको भाँडामा, ताम्रपत्रमा, भोजपत्रमा, ढुंगामा अक्षरहरू खोप्दै लिखित साहित्यको आधार तयार पारिँदै आयो। भाषा वैज्ञानिक नोम चम्स्की मानव जाति भाषाका लागि जैविक रूपमा नै संरचित भएको निष्कर्ष निकाल्छन्। यही संरचनाले मानिसले लिखित साहित्यको आविष्कार गर्‍यो। चीनमा पहिलोपल्ट छापाखानाको आविष्कार भयो र पछि जर्मनीमा गुटेनवर्गले आधुनिक टाइप प्रेसको आविष्कार गरेपछि बाइबलदेखि कम्युनिस्ट घोषणापत्रसम्म विश्वव्यापी भयो। यही विश्वव्यापी लिखित साहित्यको चार हजार वर्ष पुरानो इतिहासको उचारचढावलाई हावर्ड विश्वविद्यालयका तुलनात्मक साहित्यका प्राध्यापक मार्टिन पुचनिरले ‘द रिटन वल्र्ड, हाउ लिटरेचर सेप्ड हिस्ट्री’ पुस्तकमा हालै लेखेका छन्।

चार हजार वर्षको इतिहासलाई चार सय पेजमा उनले साहित्यले सभ्यता र इतिहासलाई कसरी ढाल्यो भन्ने विवरण दिएका छन्। चन्द्रमाको यात्रामा अन्तरिक्षमा गएका अपोलो मिसनका वैज्ञानिकले कसरी त्यहाँबाट बाइबलको जेनेसिसका उद्दरणहरू प्रयोग गरेर सन्देश प्रसारित गरे भन्ने प्रसंगबाट पुस्तकको आरम्भ हुन्छ। लेखकले संसारमा चार हजार वर्षपहिले माटोको ट्याब्लेटमा लेखिएको गिलगमेश महाकाव्य नै पहिलो लिखित पाठ हो भनेका छन्। त्यसलाई उन्नाईसौं शताब्दीको मध्यमा अस्टिन हेनरी लेयार्डले आविष्कार गरेका थिए। त्यस महाकाव्यले वर्ण गरेको स्थान वर्तमान इराकको मोसुल राज्यमा प्राचीन बाइबलको सहर निनेभामा पर्छ। किताबमा मेसेडोनियन सम्राट् अलेकज्यान्डर होमरका महाकाव्यहरू इलियाड र आडोेसीका सौखिन थिए भनिएको छ। अलेकज्यान्डर सिरानीमा यी महाकाव्य राखेर सुत्ने गर्थे। यिनै महाकाव्य लिएर अलेकज्यान्डर भारतसम्म आएका थिए। उनी जहाँ जान्थे त्यहाँ ग्रीक संस्कृति र साहित्यको प्रचार गर्थे। त्यही ग्रीक साहित्य प्रचारप्रसारका लागि अलेक्जान्द्रियामा उनले विशाल पुस्तकालय खोलेका थिए।

इज्राको बाइबल त्यस्तै अर्को प्रभावशाली लिखित साहित्य थियो। पवित्र ग्रन्थ मानिएको यस साहित्यले इसाई धर्म फैलाउन मद्दत गरेको थियो। प्राचीन संसारमा लिखित साहित्यलाई जोगाएर राख्ने माटोको ट्याबलेटदेखि धातुको टंकनसम्मका प्रविधि थिए। पछि ‘एक्सियल युग’मा बुद्ध, कन्फ्युसियस, सोक्रेटस र जिससका वचनहरूको सुरक्षा र प्रचार प्रसार गरियो। सोक्रेटसका शिक्षा जोगाउन ग्रीकमा गुरु–शिष्य प्रणाली थियो। बौद्ध वचनलाई चेलाहरूले मौखिक शिक्षाबाट पछि लिखित बनाए। कन्फ्युसियस जो आज पनि आधुनिक चीनमा गुञ्जयमान छन्, उनको दार्शनिक परम्परा नै बन्यो। बाइबलको आविष्कारपछि जिससका सन्देशलाई पश्चिमले राज्यधर्मको रूपमा स्विकार्‍यो। पहिले मानिसका वाणीलाई श्रुती परम्पराअनुसार जोगाइन्थ्यो। पछि ती वाणीलाई पेपिरसका पातहरूमा र कागजमा सुरक्षित राखियो।

बौद्ध धर्मको महाप्रज्ञापारमिता सूत्र यसैले हामीसँग सुरक्षित छ। यिनै प्राचीनकालदेखि सुरक्षित साहित्यको कथा यस किताबमा पुचनिरले लेखेका छन्। साहित्यलाई सुरक्षित राख्ने ती प्राचीन प्रविधि त्यस जमानाका ‘डिसरप्टिप’ प्रविधि थिए। प्राध्यापक पुचनिरले किताबमा राजनीतिक साहित्यहरू : अमेरिकी स्वतन्त्रता घोषणापत्र, अमेरिकाको स्थापना र बेन्जामिन फ्रान्कलिनको मिडिया व्यवसायको पनि चर्चा गरेका छन्। १७ औं शताब्दीको युरोपको प्रबोधन क्रान्तिबाट प्रभावित अमेरिकी स्वतन्त्रता संग्रामले मानव जातिलाई स्वतन्त्रताको सन्देश प्रवाहित गर्‍यो। अन्धविश्वास र जडताको ठाउँमा विवेक र तर्कलाई प्रधानता दिने प्रबोधन क्रान्तिकै सन्देशका कारण अमेरिकाका संस्थापक सदस्यले त्यत्रो सभ्यता र प्रजातन्त्रको आधार तयार पारेका थिए। उता मार्क्स–एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रको पनि उनले चर्चा गरेका छन्। विश्व सर्वहारा वर्गको मुक्ति र धरतीमा स्वर्ग स्थापना गर्ने साम्यवादको लक्ष्य लिएको कम्युनिस्ट घोषणापत्र आफैंमा जबर्जस्त प्रभावशाली लिखित साहित्य हो। त्यस साहित्यलाई सोभियत संघमा लेनिनले व्यावहारिक रूपमा लागू गरे भने चीनमा माओले मौलिक प्रयोग गरे। यिनै साम्यवादी महापुरुषको वचन र कर्मको बखान उनले पुस्तकमा गरेका छन्।

आधुनिक कालखण्डमा धर्मदेखिबाहेक मानवजीवनलाई केहीले प्रभाव र परिचालित गरेको छ भने त्यो कम्युनिस्ट घोषणापत्र नै हो। यो एक राजनीतिक प्रोप्रोगन्डा मात्र नभई कसरी लिखित साहित्यले मानिसलाई परिचालित गर्छ भन्ने उत्कृष्ट उदाहरण पनि हो। मायान संस्कृतिको ‘पोपोल भुइँ’को दोस्रो स्वतन्त्र साहित्यिक परम्पराको रूपमा चर्चा छ। पश्चिम अफ्रिकाको सुञ्जाता महाकाव्यको अनुसन्धात्मक विवरण उनले किताबमा दिएका छन्।

विश्व इतिहासकै पहिलो महान् जापानी उपन्यास ‘टेल अफ गेन्जी’को विस्तृत चर्चा उनी गर्छन्। अरब संसारको अल्लादिनको कथा भएको एक हजार एक दिनको विवरण पनि किताबमा छ। लेखक पुचनिरले लेखन–क्रममा यी ग्रन्थको आविष्कारको क्षेत्रमा गएर स्थलगत अध्ययन गरेका छन्। यो संसारमा विभिन्न सभ्यता र भूगोलमा लिखित साहित्यको उत्पत्ति र विकासको कथा हो। प्रथम आधुनिक उपन्यास ‘डान क्वोजेट’देखि तत्कालिन सोभियत साम्यवादी सत्ताका विरोधीहरू सोल्झेनित्सिन र कवियत्री अन्ना अख्मातोवाले प्रतिरोधी साहित्यको लेखन गरेसम्मको कथालाई पुस्तकमा समेटेका छन्। उत्तर–औपनिवेशिक साहित्यको अध्ययन गर्ने क्रममा उनी क्यारेवियनको सेन्टलुइसमा नोबेल पुरस्कार विजेता कवि डेरेक बालकोटसम्मलाई भेट्न पुगेका छन्। लिखित साहित्यको प्रभाव र प्रचारको कथा बुनिएको यो पुस्तक मुद्रण विधिको इतिहास पनि हो। पेपिरसका पातहरूदेखि आज इन्टरनेटसम्म आइपुग्दा लिखित संसारको कथा धेरै बदलिएको छ। विषय भने उही मानव जीवनमै केन्द्रमा छ। चार हजार वर्षको यो इतिहासमा करोडौं पुस्तक लेखिए। तर, कालजयी र प्रभावशाली इतिहास बनएका साहित्यको आन्तरिक जीवनकोे कथा हो यो पुस्तक।

बीसौं शताब्दीका फ्रान्सेली विनिर्माणवादी ज्याक डेरिडाले वाणीविरुद्ध लेख्यलाई उभ्याएर साहित्यको दार्शनिक विमर्शमा ‘कु’ गरेका थिए। अर्थको बहुलता, मनोवैज्ञानिक पदचिन्ह र पाठकको आत्मगत अध्ययन लिखित साहित्यमा पाइन्छ। यसर्थ ‘लोगोस’का विरुद्ध डेरिडाले किन ‘कु’ गरेर भन्ने कुराको महत्व पनि लेखक मार्टिन पुचनिरको यो पुस्तक पढेपछि झन् राम्ररी थाहा पाउन सकिन्छ।


पुस्तक : दि रिटन वलर्ड

लेखक : मार्टिन पुचनिर

प्रकाशक : ग्रान्टा

मूल्य : १४.९९ डलर


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.