‘अश्वेत’ पहिचानको पक्षमा
अमेरिकास्थित ओहाइओ राज्यको एक नदी किनार। त्यही किनारभन्दा पनि बढी किनारीकृत एउटा अफ्रो–अमेरिकी धार्मिक परिवार छ। जुन राजनीतिक रूपले दमित छ, आर्थिक रूपले टिठलाग्दो अनि सामाजिक रूपले बहिस्कृत भई सबैभन्दा पिँधमा परेको छ। त्यही परिवारमा सन् १९३१ को फेबु्रअरी १८ को दिन आर्डेलिया ओफर्ड बच्ची जन्मिइन्।
उति बेला ती बच्चीले पछि गएर संसार हल्लाउलिन् भनेर सायदै कसले कल्पेको थियो र ! तिनै बच्ची आज विश्वकी चर्चित आख्यानकार हुन्, जो जन्मिँदा अभिभावकले दिएको पहिचानभन्दा आफैंले निर्माण गरेको पहिचानको जगमा उभिइन्। उनी अरू कोही होइनन्, टोनी मोरिसन हुन्। उनलाई आजको विश्व आख्यानले यही नामले चिन्छ।
पहिलो विश्वयुद्धको काल र त्यसपछि सन् १९१६ देखि ७० को बीचमा सरदर ६ मिलयिन अफ्रिकी–अमेरिकीहरू दक्षिणबाट उत्तर बसाइँ सरेका थिए। तत्कालीन अमेरिकामा बसाइँसराइले एकखाले आन्दोलनकै रूप लिएको थियो, जुन अभियानलाई अमेरिकी इतिहासले आज पनि ‘द ग्रेट माइग्रेसन’को नामले चिन्छ। यही क्रममा उनको परिवार पनि दक्षिणबाट उत्तर ओहाइयो हान्निएको थियो, ताकि अश्वेतमैत्री वातावरणमा आफ्ना सन्तानलाई हुर्काउन सकियोस्। ‘गोरो राज्यको गोरो नीति’ले नागरिक नै पनि मान्न आनाकानी गरिरहँदा आफ्नो लागि सार्वजनिक स्थानको निर्माण गर्न सकियोस्। आर्थिक उपार्जनका क्रियाकलाप बढाउन र जीवनयापनलाई सहज अवतरण गराउन र अश्वेत र विभेदकारी नीतिविरुद्ध एकजुट हुन सकियोस् भनेर नै उनको परिवार बसाइँ सरेको थियो।
मोरिसन रंगभेदको तातो आगोको रापयुक्त वातावरणमा हुर्किइन्। उनका बाबु धातुको वेल्डर थिए भने आमा चर्चमा गाउने गायिका। उनले आफ्नो बाल्यकाल ओहाइयोको लोरेन सहरमा बिताइन्। त्यही सहर हो उनलाई राज्यको ‘गोरो छाला मात्रै चिन्ने नीति’, सार्वजनिक स्थलमा गरिने विभेद र हेपाहपनबारे पढाउने। यही सांस्कृतिक पृष्ठभूमिले उनको लेख्य विषयवस्तुलाई ठोस आकार दिएको थियो। उनले लेखनले आत्मपरकताको पैरवी नगर्ने भए पनि उनले प्रतिनिधित्व गर्ने सिमान्तीकृत आवाजमाथि उनको स्वामित्व भएको जिकिर उनी गर्न पछि पर्दिनन्। उनको बुझाइ छ, अमेरिकी बहुल संस्कृति, राजनीतिक उतारचढावले उनको लेखकलाई थप सशक्त र परिपक्व पनि बनाउन सघायो। उनले सिंगो मानवीय हित रक्षाका लागि, जातीय पहिचान निर्माणका लागि कलम चलाइन्।
०००
सन् १९७० ‘द ब्लुएस्ट आइ’को प्रकाशनसँगै उनको लेखकीय करिअर आरम्भ भएको हो। अलिकति विवादित पनि बनेको यस उपन्याससित गाँसिएको एउटा अनौठो तथ्य छ। उनले यो सिंगो उपन्यास नै बिहानीपख घरको काम सकेर बचेखुचेको समयमा मात्रै लेखेर सिध्याएकी थिइन्। किनभने यस आख्यानको लेखन काल यस्तो थियो कि उनले न्युयोर्कमा आफ्ना दुई छोरा हुर्काउने र दिनभर अर्कैका लागि काम गर्नुपर्ने बाध्यात्मकता कठोर नाम्लो थियो, उनको थाप्लोमा। यो किताब सिध्याउन्जेल उनले कहिल्यै पूरा निद निदाइनन्। रात ढलेर बिहानी प्रहर प्रारम्भ हुनुपूर्व नै उठिन्। खासगरी, ‘द ब्लुएस्ट आई’ एकजना अश्वेत किशोरी पेकोला ब्रिडलभको वियोगान्त कथा हो, जो गोरो अमेरिकी मानसिकताभित्र लेपेटिएको सुन्दरताको परिभाषाको खोजीमा संघर्षरत हुन्छे। अर्थात् ऊ आफ्ना आँखामा नीलो रंगको खोजीमा भौतारिँदैमा मानसिक रूपले नै एकोहोरो हुन्छे।
होआर्ड विश्वविद्यालयमा पढ्दाताका नै नीलो आँखाधारी एकजना किशोरीमाथि एउटा छोटो कथा लेखेकी थिइन्, कवि लेखकको चिया जमघटमा सुनाउनको लागि। पछि त्यसैलाई उपन्यासको आकारमा ढालेकी थिइन्। यो उपन्यास छापिएको ठीक तीन वर्षपछि ‘सुला’ (१९७३) बजारमा आयो र सन् १९७५ मा ‘नेसनल बुक अवार्ड’को लागि मनोनयनमा पनि पर्यो। त्यसैगरी, ‘सङ अफ सोलोमन’ (१९७७), ‘जाज’ (१९९२), ‘प्याराडाइज’ (१९९८) उनका पढिएका चर्चितमध्ये केही किताब हुन्। त्यसो त उनले १९९९ मा बालसहित्यमा पनि हात हालिन्। ‘द बिग बक्स (१९९९)’, ‘द बुक अफ मिन पिपल (२००२)’, ‘द आन्ट अर द ग्रास होपर ? (२००३)’ केही उदाहरण मात्रै हुन्।
मोरिसनलिखित ‘प्लेइङ इन डार्क : ह्वाइटनेस एन्ड द लिटरेरी इमाजिनेसन’ उनको साहित्यिक समालोचनाको संग्रह हो, जुन १९९२ मा प्रकाशित भयो। यसले सिंगो अमेरिकी साहित्यमा अफ्रिकी अमेरिकी योगदानको लेखाजोखा गरेको मात्रै छैन, अश्वेत लेखकको भारलाई एकछिन अमेरिकी साहित्यबाट पन्छाउने हो भने अमेरिकी साहित्यको ओत कत्तिको हुन सक्छ त ? भन्ने गहकिलो सवालका वरिपरि यसले मूल्य सिर्जना गरेको छ।
सन् १९८९ मा अमेरिकाको प्रिन्सेटन विश्वविद्यालयमा प्राध्यापक बनिन्, मोरिसन। ‘ह्वाट मुभ्स् एट द मार्जिन’ उनको २००८ मा प्रकाशित निबन्धहरूको सँगालो हो। गैरआख्यान किताब हो। उनको लेखाइले जातीय युद्धको घाउ र त्यसले निम्त्याएको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विचलनलाई केन्द्रमा राखेर मूलधारको अमेरिकी राजनीति, नीति र विकासको प्रवाहबाट पाखा पारेर आवाजविहीन बनाइएका अफ्रिकी–अमेरिकीको दमित आवाजलाई सतहमा ल्याउने प्रयत्न गरेको छ।
सन् १९८८ को लागि ‘पुलिट्जर प्राइज’ जितेको ‘बिलभेड’ उनको दमदार उपन्यास हो। सन् १९९८ मा यो उपन्यासमाथि चर्चित निर्देशक जोनाथन डेमीको निर्देशनमा सिनेमा पनि बन्यो। यो उपन्यासले ‘नेसनल बुक अवार्ड’ पाउनबाट वञ्चित भएपछि ४८ जना अश्वेत लेखकले सामूहिक प्रेस विज्ञप्ति नै जारी गरेर विरोध जनाएका थिए। सन् १८७३ ताका सिन्सिनाटी, ओहाइयो नदी किनारमा यस उपन्यासको थालनी हुन्छ। अफ्रिकी–अमेरिकी एकजना दासत्व भोगेकी महिलाले आफ्ना दुई सन्तानलाई दास बनाउनबाट रोक्नका लागि हत्या गरेको खास घटनाबाट प्रेरित भएको बताइन्छ। त्यसो त, पूर्व दासहरूले भागेको दर्दनाक समयको अभिलेखीकरण पनि हो यो उपन्यास। उनका आख्यानले सांस्कृतिक टकराव, अश्वेत र श्वेतको कथित रेखाले बाँडेको रंगभेदी मानसिक रोग अनि जातीय द्वन्द्वका कारण थला परेको तत्कालीन अमेरिकी समाजको कुरूप चित्र कोर्छन्। सांस्कृतिक युद्ध र त्यसका अन्य सामाजिक आयामको विभिन्न पक्षलाई केलाउन सक्नु नै मोरिसनको उल्लेख्य खुबी हो। त्यसो त, कतिपय किताबमा अफ्रिकी–अमेरिकी कमजोर महिलामाथि श्वेत भनिएका पुरुषले गर्ने चरम दमनको चित्रण गरेकी छन्।
मोरिसनका आख्यानले सांस्कृतिक टकराव, अश्वेत र श्वेतको कथित रेखाले बाँडेको रंगभेदी मानसिक रोग अनि जातीय द्वन्द्वका कारण थला परेको तत्कालीन अमेरिकी समाजको कुुरूप चित्र कोर्छन्।
मोरिसन सन् १९४९ मा वासिङ्टन डीसीस्थित होआर्ड विश्वविद्यालयमा भर्ना भइन्। कर्नेल विश्वविद्यालयबाट सन् १९५५ मा स्नातकोत्तर सकाएकी उनी सन् १९६५ मा ‘र्यान्डम हाउस’मा आख्यान सम्पादकको जागिर थालेकी थिइन्। उनले त्यहाँ दुई दशकजति काम गरिन्। उनी लेखकभन्दा बढी ‘देखक’ भएको कतिपय टिप्पणीकार तर्क गर्छन्। त्यसो त उनी एक मानवतावादी लेखक हुन्, जसले मानवीय लोकतन्त्रको मजबुतीकरणका लागि निरन्तर कलम चलायो। आफ्नो विद्वताको प्रयोग गर्यो। सन् १९९२ मा छापिएको ‘प्लेइङ इन द डार्क..’ गोरो अमेरिकी इतिहासमा अफ्रिकी–अमेरिकीको उपस्थिति उपरको प्राज्ञिक चिरफार हो।
सन् १९९३ को साहित्यतर्फको नोबल पुरस्कार विजेता लेखक पनि हुन्, टोनी मोरिसन। त्यसो त नोबेल पुरस्कार प्राप्त गर्ने उनी पहिलो अफ्रिकी–अमेरिकी महिला पनि हुन्। ‘विलभेड’, ‘द ब्लुयस्ट आइ’, ‘सङ अफ् सोलोमन’, ‘अ मर्सी’, ‘सुला’ लगायतका चर्चित उपन्यासले विश्वभरका पाठकमाझ एकखाले स्थान बनाइसकेका छन्। आख्यान लेखनमा मोरिसनको भाषा, शैली र मौलिकता नै उनका सारथि हुन्। उनको कथा बुन्ने शैलीमा जादु भएको टिप्पणी धेरै समालोचकले गर्ने गरेका छन्। सन् १९८१ को ‘टार बेबी’ मात्रै होला, समकालीन समय–सेटिङमा लेखेको उनको उपन्यास, नभए सबैजसो आख्यानले ‘गोराले लेखेको अश्वेतको इतिहास’लाई गलत साबित गर्ने प्रयत्न गरेको छ। अश्वेतकै अधिकारको पैेरवी गरेको छ। उनीहरूकै पक्षमा आवाज चर्को बनाएको छ।
कतिपय आख्यानमार्फत दासत्वको चंगुलबाट गुज्रिएको अमेरिकी ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक विभेदको आगोले खर्लप्प निलेको समाजको सबैभन्दा तल्लो तप्काको आक्रोशलाई जस्ताको तस्तै प्रतिविम्बित गर्न सक्नु नै मोरिसनको खुबी हो। उनी ज्यादै मसिना विवरणलाई पनि टपक्क टिप्न सक्ने हैसियत राख्छिन्। उनको लेखाइलाई कतिपयले ‘इथ्नोग्राफिक’ लेखनजस्तै सघन भएको टिप्पणी गर्ने गरेका छन्। उनको लेखनको विशेषता भनेकै टुक्काजस्ता छोटा छोटा वाक्य संरचना हो। त्यसमाथि लयबद्ध संरचनाले मोरिसनको लेखाइलाई जादुयी बनाइदिन्छन्। उनका अधिकांश आख्यानले मध्य २०औं शताब्दीताका अफ्रिकी–अमेरिकीहरूमाथि ‘ह्वाइट हाउस’ले लादेको विभेदकारी नीतिको खिलाफमा आवाज उठाएका छन्। असामाजिक नीतिको दोषमाथि शान्त धावा बोलेका छन्, तिनले।
०००
सन् १९३१ मा विश्व चरम आर्थिक मन्दीको चपेटाले लपेटिएको थियो। अधिकांश मुलुकका आर्थिक परिसूचक टिठलाग्दा गरी खिन्याउँदै गएका थिए। फलतः जताततै निराशाको पहाड चुलिएको थियो। यही समय हो, जर्ज ओफर्ड र उनका पति रामा विलिस् ओफर्डले आफ्ना चारमध्ये दोस्रो सन्तान्तलाई जन्म दिएको। जर्ज ओफर्डले आफूलाई मोरिसनको नामले चिनाउने निधो गर्न भ्याएको चाहिँ सन् १९५० मा मात्रै हो। जति बेला उनी ‘अन्डरग्य्राजुएट’ गर्दै थिइन्।
सन् १९५० ताका देखिएको त्रासदीपूर्ण समयका छाप उनका अधिकांश लेखनमा परेको छ। विषयवस्तुका हिसाबले रंगभेद, अश्वेत माथिको सामाजिक बहिष्कार, तत्कालीन अमेरिकालाई खर्लप्प निलेको दासप्रथा अनि यस्तै सीमान्तकृत तप्काको पीडा र गुनासो नै उनका लेखन वस्तु हुन्। दासत्वको पासोले तर्साएको निराशाजनक कालखण्ड र त्यही रंगभेदी समयको इतिहासले थोपरेको पीडाको चाङले लगाएको गहिरो चोट र त्यही चोटकै कारण दर्फरिएको असंख्य अफ्रिकी–अमेरिकीको मनको घाउको खतमा मलम लगाउने प्रयास पनि उनका कतिपय उपन्यासले गरेका छन्। सन् १९९३ मा ‘पेरिस रिभ्यु’को एक अंकका लागि अन्तर्वार्ता दिने क्रममा उनले भनेकी छन्, ‘अमेरिकी साहित्यमा कतिपय त्यस्ता लेखक छन्, ती नभइदिएको भए आजको विश्व सहित्यको जुन उचाइ छ, त्यो प्राप्त गर्न सकिँदैनथ्यो।’ उनको संकेत हो, ‘ब्ल्याक लिटरेच’। यसको अभावमा विश्व सािहत्य पक्कै पनि अधुरो हुने थियो !
उनले ‘द गार्डियन’लाई भनेकी छन्, ‘एउटी गृहिणीका रूपमा किचनमा खाना बनाउने काम, एउटी प्राध्यापकका रूपमा विश्वविद्यालयमा पढाउने काम, एउटी आमाका रूपमा बच्चा हुर्काउने काम अनि एउटा लेखकका रूपमा आख्यान लेख्ने काम मेरा लागि उत्तिकै महत्वका थिए। मैले सबैलाई समान प्राथमिकतामा राखेँ, कहिल्यै कुनैलाई पनि घटीबढी गरिनँ...।’ मेरिसन नयाँ पुस्तालाई आफूलाई मन परेको समयमा मात्रै लेख्न सुझाउँछिन्। पुनर्लेखन लेखकको सबैभन्दा बलियो अस्त्र हो भने समझ भएको सम्पादक त लेखकका लागि पण्डित नै हो। पण्डितबिना कुनै पनि शुभकार्यको थालनी र अन्त्य हुँदैन। सम्पादक भनेको मनोवेत्ता पनि हो। लेखकलाई मानसिक रूपले बलियो बनाइराख्ने क्षमताको धनी हुनुपर्छ सम्पादक। पाठकलाई दिमागमा राखेर नलेख्न सुझाउँदै उनी अगाडि भन्छिन्, ‘कथानक भनेको उपन्यासको लय हो। भाका हो, तसर्थ यो जटिल भयो भने पाठकलाई तान्न सक्दैन।’ उनको लेख्ने बानीको एउटा नयाँ तथ्य के हो भने, उनले जेजति संख्यामा आख्यान वा किताब लेखिन्, ती सबै सिसा कलमले लेखिन्।
मोरिसन जीवनको उत्तराद्र्धतिर छन्। लामो जीवन यात्राको थकानले उनी थकित छन्। तर, लेखन यात्रामा भने उनी कत्ति पनि थाकेकी छैनन्। अझै पनि उस्तै ऊर्जा छ उनीसित। उस्तै साहित्य सिर्जनाको बल छ उनीसित। र त यति बेला उनी हातले लेख्न नसके पनि बोलेरै भए पनि रेकर्ड गराइरहेकी छन्। सम्भवतः समकालीन विश्व आख्यानकारको सूचीमा लेखनका हिसाबले उनी जत्तिको ओजस्वी र खारिएको आख्यानकार हातको औंलामा मात्रै गन्न सकिने होलान्।
मोरिसन ‘अश्वेत’ समुदायको कहालीलाग्दो अनुभव र तीतो भोगाइलाई राजनीतिक रोगनसहित औपन्यासकीकरण गर्न माहिर मानिन्छन्। सामाजिक यथार्थलाई राजनीतिकीकरण गर्ने आख्यानकारका रूपमा पनि कतिपय आलोचकले उनको विशेषताको सूची तन्काइदिएका छन्। सन् २०१२ मा आफ्नै साथी तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ थापेकी अनि ‘अक्सफोर्ड र युनिभर्सिटी अफ जेनेभा’बाट मानार्थ विद्यावारिधि प्राप्त उनको विश्व आख्यानमा आफ्नै ठाउँ छ। मौलिक पहिचान छ। अनि छ, आफ्नै बेग्लै लेख्य सीप पनि। त्यसैले पनि होला टोनी मोरिसनलाई झ्याप्प कोही लेखकसित तुलना गरिहाल्न सकिँदैन।
(‘द न्युवर्क टाइम्स्’, ‘पेरिस रिभ्यु’ र ‘द गार्डियन’को सहयोगमा)