पर्खेर समृद्धिका पदचापहरू
यस्तो पनि समय थियो कुनै बेला
जति बेला
बारुदका धुवाँहरू उभिन्थे
कलिला नानीहरूका आँखामा
जीवनको अन्तिम बाटो हिँडिरहेका
वृद्धहरूको सामुन्ने पड्कन्थ्यो एम्बुस
हरेक बिहान
लासहरू हेर्नका लागि उदाउँथ्यो, घाम
बन्दुकहरूका ‘क्लासिकल डान्स’ हेर्नलाई पथ्र्यो, साँझ
रगतका पोखरीहरूमा फुल्थे, विद्रोही कमलहरू
आँसुका वर्षातले भिज्थे, जमिन
आक्रोशका बीउहरू उम्रन्थे जहाँबाट
त्यो समयमा
निर्दोष छातीमा धसिन्थे गोलीका छर्राहरू
र जन्मन्थे
चेतनाका धारिला तरबारहरू...
जुन तरबारले निरंकुश सत्ताको गर्धन छिनाल्यो !
त्यस दिनदेखि
पुरानै तरिकाले झ्यालको पर्दाबाट खस्न थाल्यो घाम
नानीहरूका आँखा, पुतली पछ्याउँदै दगुर्न थाले
मुस्कान च्यापिन थाले, वृद्धका चाउरीहरूमा
देखिन कम भएको हो, त्यस समयदेखि
जंगली रूखहरूमा फर्फराउने
झन्डाजस्ता सलवारहरू र लुङ्दारजस्ता चोलीहरू
त्यस समयदेखि नै तिमी आउँछौ कि भनेर—
नदीमा, तालमा ऐना हेरेर
सिँगारिरहन्छ आफूलाई हिमालले
बसेर
तिमीले थकाइ मार्ने चौतारीको रूखमा
गाइरहन्छन् चराहरू तिम्रो नामको गीत
राखेर हावामा
दूर कतै तिमी आउने बाटोसम्म
पठाइरहन्छन् गुराँसहरूले सुवास
‘किचिमाग्न पाऊँ तिम्रो पैतालाबाट
र निकाल्न सकूँ तिमीलाई मन पर्ने लोक धुन’ भनेर
बाटाभरि ओच्छिरहन्छन् पत्करहरू
स्वागत गर्नका लागि तिमीलाई
खादा बनेर उभिरहन्छ इन्द्रेणी
तिमी ढिलै आए पनि आउनचाहिँ नबिर्सनू
तिम्रो प्रतीक्षामा
बलिरहनेछन् आशाका दियोहरू— यहाँका घरहरूमा
तिम्रो स्वागतका लागि
सधैंसधैं खुला रहनेछन्— यहाँका ढोकाहरू
जहाँ ‘कुकुरदेखि सावधान’ होइन,
‘स्वागतम्’ लेखिएको हुनेछ ।