सधैं किन हार्छ गोर्खाल्यान्ड आन्दोलन ?

सधैं किन हार्छ गोर्खाल्यान्ड आन्दोलन ?

‘गोर्खाल्यान्ड हुन्छ ? ’ बंगाली पत्रकार मित्रा घोषले सुवास घिसिङलाई सोधिन्।

‘हुन्छ, हुन्छ। भएपछि गोर्खाल्यान्ड सरकारले सबैभन्दा पहिला ठूलो जेल बनाउनेछ, जो जो गोर्खाल्यान्डको विरोध गरिरहेका छन्, उनीहरूलाई त्यहाँ हालिनेछ’, घिसिङको उत्तर थियो।

घिसिङको डेटलाइन थियो, १९८७। विमल गुरुङको २०१० जस्तो।

घिसिङले ‘सन्डे अब्जर्भर’लाई भनेका थिए, ‘१९८७ मा गोर्खाल्यान्ड भएन भने म आफ्नो टाउको छिनाउनेछु।’

विमलले भनेका थिए, ‘२०१० मा गोर्खाल्यान्ड भएन भने म आफैंलाई गोली ठोक्छु।’

यी दुवै शक्तिशाली नेताहरूका एक एकवटा नमुना महाझुट मात्र हुन्। न गोर्खाल्यान्ड भयो, न घिसिङले टाउको छिनाए, न विमलले गोली ठोके। उनीहरूका महाझुटले जन्माएका पुस्ता हुन्— विनय तामाङहरूको पुस्ता, जो अहिले जनसपना बेचिरहेका छन्।

जतिखेर घिसिङ र विमलका पक्षमा सारा जनता आन्दोलित थिए, उनीहरूलाई लाग्थ्यो, ‘अब राज्य र केन्द्र हल्लिनेछ।’ उनीहरू सधैं के बिर्सिन्थे भने, जुन सारा जनता आन्दोलित भइरहेको ठाउँ छ, त्यो केवल एउटा ‘जिल्ला’ मात्र हो। भारतजस्तो विशाल देशमा त यस्ता आन्दोलित जिल्ला हजारौं छन्। हजारौं घिसिङ र विमलहरू छन्।

त्यहीँमाथि माकपाजस्तो ‘कम्युन’ दर्शनलाई खसी पारेर ‘चौकी, पैसा र सत्ता’ निर्माणको सपना देख्ने र तृणमूलजस्तो दर्शन र सिद्धान्तहीन ‘आवेग’को राजनीति गर्ने पश्चिम बंगाल सरकारहरूको ‘रौं’ घिसिङको ‘टल्किएको सिरुपाते खुकुरी’ र विमल गुरुङको ‘आर्मी ड्रेस’ले हल्लाउने कुरै भएन।

राम्ररी इतिहास पढ्ने र केलाउनेलाई थाहा छ, पहाडको सारा आन्दोलित जनता अपर्याप्त ‘शक्ति’ हो। सारा जनता एउटै पार्टीको छातामुनि आएर आन्दोलित भइराख्नुको कुनै अर्थ छैन, जबसम्म नेतृत्वले बलिया रणनीति तयार गर्दैन। क्रामाकपा सधैं भन्छ, ‘हामीलाई जनताले मौका दिएन।’ तर ऊ भन्दैन, ‘मौका दिनलायक र भरोसायोग्य हामीले रणनीति दिएनौं।’

जनफ्लोरमा उत्तरहीन एउटा प्रश्न दशकौंदेखि मडारिइरहेको छ, ‘सारा जनता एक हुँदा र आन्दोलित हुँदा पनि किन जहिल्यै आन्दोलन असफल हुन्छ र घरि दागोपाप र घरि जीटीए थाप्नुपर्ने स्थिति हुन्छ ? ’

डा. महेन्द्र पी. लामा, सीके श्रेष्ठहरूले यो प्रश्नको उत्तर कहिल्यै खोजेनन्। आरबी राईको कुनै पनि किताबमा यी प्रश्नलाई सम्बोधन गरिएको छैन। उनलाई उत्तर थाहा हुने कुरै आएन। प्रताप खातीले खोज्न सक्ने कुरै आएन। अनमोल प्रसादसित यसको उत्तर खोज्ने फुर्सद छैन। सुखमन मोक्तानलाई जनफ्लोरमा यस्तो प्रश्न मडारिरहेको छ भन्ने कुरा नै थाहा छैन। अर्थात् जनताले जसलाई बुद्धिजीवी मानिरहेका छन्, उनीहरूलाई नै बुद्धिजीवीको उपमा बोक्नै नसक्ने सिङ भयो। यद्धपि त्यही सिङ देखाएर समाजमा आफूलाई जिउँदो राख्नु पनि उपलब्धि नै हो, दार्जिलिङे समाजको।

सुवास घिसिङ, विमल गुरुङ, हर्कबहादुर छेत्री, विनय तामाङहरूलाई त यसको उत्तर थाहा थियो, र छ। किनभने उनीहरूलाई थाहा थियो र छ, उनीहरू सक्षम नेतृत्व होइनन्।

‘सुवास घिसिङले ४० दिनको बन्दसम्म पुग्दा छुट्टै राज्य नहुने सम्भावनाहरू बटुलिसकेका थिए। किनभने ‘चिन्हारीको मुद्दा’ मात्र देखाएर केन्द्रलाई ‘कन्भिन्स’ गर्नलाई ‘जनआन्दोलन’ मात्र पर्याप्त होइन। आन्दोलन गर्नुअघि छुट्टै राज्य ‘गोर्खाल्यान्ड हुनैपर्ने’ कारणलाई बलियो पार्ने रणनीति पुगेन। एउटा जिल्लाका केही लाख जनता कति दिन रणनीति नपुगेको आन्दोलनमा सक्रिय भइराख्न सक्छन् त ? जनआन्दोलन केवल ‘होप’मा संकुचित बन्यो, कारण थियो रणनीतिक कौशलताको अभाव।

न घिसिङसित इतिहास केलाउँदै जाने र इतिहासको बाटो भएर छुट्टै राज्यसम्म पुग्नका लागि बाटो खन्ने इतिहासविद्हरू थिए, न त दार्जिलिङका सबै संसाधनहरूबाट राज्य सञ्चालनका लागि पुग्ने आर्थिक स्रोत खोतल्ने अर्थशास्त्रीहरू। न औद्योगिक एजेन्डा थियो, न त मानव संसाधन निर्माणका रूपरेखा नै।

न अन्तर्राष्ट्रिय सीमाका संवेदनशीलता र त्यसका आयाम खुट्याउने नेतृत्व थियो न अन्तर्राष्ट्रिय व्यापारका सम्भावना केलाउनेहरूको स्रोत। न त नेपाल–भारत, भारत–चीन, भारत–भुटान, भारत–बंलादेशबीचका जम्मै सुरक्षाका सवालहरू केलाउने कुनै जर्नेल थिए।

सुवास घिसिङको जोशिला भाषणहरूमा त्यति ताकत थिएन, जसले संसद्मा बहस तयार पारोस्। जो राष्ट्रिय मिडियाको मसला बनोस्। यद्यपि त्यो गर्जनलाई नेतृत्वकौशल मान्ने ठेकेदार सचेतहरूको भीड उस्तै छ अझसम्म। सारा जनताको आवाजले जब सिलगढी काट्न सक्दैन, तब कलकत्ता र दिल्लीलाई बहिरा भन्नु मूर्खता होइन त ? समाजले ‘चोर लगाउनुअघि आफ्नै थैलो बलियो राख्नू’ भन्ने उखानलाई अझसम्म बुझेको देखिँदैन।

‘छुट्टै राज्य हुनैपर्छ’ भन्ने केवल पागलपन र आवेगलाई केन्द्र र राज्यले सम्बोधन गर्ने संघीय चरित्र यो देशमा छैन। निश्चित रूपमा भारतका गोर्खाहरूलाई चिह्नारीको संकट छ, तर मूलधारलाई केवल ‘गोर्खाहरूलाई मात्र छैन’ भन्ने पनि त थाहा छ।

आन्दोलन असफलताका कारण आन्दोलन गर्न नसकेर होइन, आन्दोलनको आयाम तयार पार्न नसकेर हो। जोसित रणनीति छैन, उसलाई ‘त्रिपक्षीय बैठकहरू’ले दिने भनेकै दागोपाप र जीटीए हो।

जति खेर ‘बंगाल हाम्रो चिहान हो, बंगालमा हामी बस्दैनौं’ भन्ने नारा बुनियो, त्यसले त मूलधारालाई ‘समस्या बंगाल राज्य भित्रको हो’ भन्ने सन्देश पनि त दियो। अल्पसंख्यकहरूको मुद्दा धेरै संवेदनशील मुद्दा हो, तर त्यसलाई संवेदनशील गरिमा प्रदान गर्न चुकियो भने ‘नेतृत्व अक्षमता’ सार्वजनिक हुन्छ।

त्यसैले, कुनै पनि आन्दोलनको शक्ति नेतृत्वको बहुआयामिक रणनीति र त्यसको प्रतिबद्ध सपना पनि हो। यी दुवै दुर्वल बन्यो भने जनाकांक्षा बोटैमा मर्छ।

गोर्खाल्यान्ड छोडेर सुवास घिसिङ दागोपापमा झर्नु उनको रणनीति होइन, नेतृत्वस्तरको असक्षमता हो। किनभने कुनै पनि एउटा ‘हिरो’ले समाधानमा पुर्‍याउन सक्ने मुद्दा होइन गोर्खाल्यान्ड। घिसिङसित सीमित रणनीति थियो। उनमा दार्जिलिङका जनतालाई एकबद्ध राख्ने र आन्दोलित गराइराख्ने क्षमता निःसन्देह थियो तर त्यतिमात्र आन्दोलनले मागेको नेतृत्व क्षमता होइन। एक्लैले गोरु पालेर, हलो जोतेर, धान रोपेर, दाइँ गरेर, पकाएर, एक्लैले सबैलाई थाल थालमा खाना पस्किनु कमसेकम छुट्टै राज्यको सवालमा सम्भव कुरै होइन।

‘घिसिङ, विमल, हर्कदेखि अहिलेका विनयसम्म नै किन ‘राज्यसित मिल्ने’ मिलनसार आइडियोलजी लिएर जनतामा जान्छन् त ? किनभने न उनीहरू आन्दोलनका लागि चाहिने संसाधनको खोजीमा चासो राख्छन्, न त छुट्टै राज्यसम्म पुग्ने रणनीति निर्माण गर्न सक्छन्।

घिसिङले आफ्नै असक्षमताको कारण दागोपाप थापे। विमलले आफ्नै असक्षमताको कारण जीटीए थापे। हर्कबहादुर छेत्रीले आफ्नै असक्षमताबारे बुझाउन कालेबुङ जिल्लाको मुद्दाको बहानामा राज्यसित मिलेर विकासको राजनीति गर्ने आइडियोलजी तयार पारे र अहिले विनय तामाङहरूले पनि त्यही असक्षम नेतत्वको परम्परालाई पछ्याए अनि सारा जनताका आकांक्षालाई बेचिदिए।

यहाँनेर विपक्ष पेन्डुलम हो। आन्दोलनको हावा चल्दा हल्लिन्छ, हावा चल्न छोड्यो ठप्प। आन्दोलन असफलताका कारण आन्दोलन गर्न नसकेर होइन, आन्दोलनको आयाम तयार पार्न नसकेर हो। जोसित रणनीति छैन, उसलाई ‘त्रिपक्षीय बैठकहरू’ले दिने भनेकै दागोपाप र जीटीए हो। यति सानो दार्जिलिङको आन्दोलनलाई केन्द्र र राज्यले बुझ्ने भनेकै विकासका असमानताका कारण उत्पन्न क्रोध हो। आन्दोलनका चरित्र र त्यसको पहुँच ठम्याउने केन्द्र र राज्यले आन्दोलनलाई गरेका जम्मै ‘सम्बोधनहरू’मा कूटनीति नदेख्नु नेतृत्वको अर्को असक्षमता बन्यो।

मदन तामाङ बारम्बार यही भन्थे, ‘यिनीहरू चढेको गधाले पुर्‍याउने ठाउँ चौकी नै हो।’ त्यो चौकी आन्दोलित नेतृत्वलाई सुलभ बन्छ, गोर्खाल्यान्ड आन्दोलनको बार्गेनिङबाट। भर्खरैको आन्दोलनको १०४ दिनको बन्दबाट मात्र राज्यलाई पाँच सय पचास करोड नोक्सान भयो। पर्यटन नष्ट। शिक्षा र जनजीवन ठप्प। अनि ममता वनर्जीले भनिन्, ‘पहाड शान्ति राख, म करोडौंको विकास गर्नेछु।’

त्यसपछि विनय तामाङहरू चौकीमा छन्। गोर्खाल्यान्ड आन्दोलनको प्रयोगलाई चौकी र पैसामा संकुचित गर्ने परम्परा घिसिङबाट नै सुरु भएको हो।

यहाँनेर आएर ‘गोर्खाल्यान्ड मिथ’को निर्माताहरूको नियतबारे धेरै घोरिन अनिवार्य बन्छ। गोर्खाल्यान्ड शब्द आफैंमा जातिवादी शब्द त हो नै। यसको ‘निर्माण’मा भारतीय गोर्खाहरूमा रहेको ‘जातिप्रेम’को सबैभन्दा ठूलो ‘लगानी’ छ। जातिप्रेम (कुनै कुनै अवसरमा भावुकताको पागलपन)लाई सधैँ जिउँदो राख्न घिसिङले गोर्खाल्यान्ड शब्दको खोज गरे। यही शब्द जातिनामलाई लिएर गर्ने राजनीतिको ‘मूल’ पनि हो। यो नाम जसले काड्यो वर्चस्व उसकै। जसले यो नामलाई काड्दैन, उसको हरिबिजोग।

जनतामा यस नामले जुन भावुकता पैदा गर्छ, त्यसैले आन्दोलनको आयु तयार पारेको छ। गोर्खाल्यान्ड भन्नेबित्तिकै भारतीय गोर्खाहरूको खुन उम्लिन्छ। उम्लिएको ‘खुन’को जहिल्यै नेतृत्वले ‘व्यापार’ गरेको छ। आन्दोलनको समाजशास्त्र, इतिहास र असफलता त्यही ‘खुन’ले तय गरेको छ।

अहिलेसम्मको आन्दोलनको अभ्यास ‘गोर्खाल्यान्ड मिथ’कै वरिपरि घुमेको छ। यही मिथ प्रयोग गरेर नेतृत्वले रोटी सेकेका छन् र बारम्बार असफलतातिरको यात्रा तय भइसकेको छ। अब यो ‘शब्द’का जम्मै आयाम केलाउने समय भइसक्यो भन्दा धेरैको खुन उम्लिन सक्छ, तर यही शब्दको दुरुपयोगले राजनीतिक, सामाजिक, सांस्कृतिक, अर्थनीतिक मूल्य नष्ट गरेको छ र समाजमा अनेकौं चरित्रका अन्तरविरोध छरेको छ।

कुर्सीसम्म पुग्न निर्माण गरिएको मिथ त होइन गोर्खाल्यान्ड ? यो प्रश्नले पनि व्यापक बहस मागिरहेको हो कि ?

तर यही शब्दले समग्र गोर्खालाई एकत्रित गर्ने मूल भूमिका पनि निर्वाह गरेको छ। कि नेतृत्वले यो शब्दको दुरुपयोग बन्द गर्नु पर्‍यो, कि त आन्दोलनका अरू आयामहरू खोज्नु पर्‍यो। यद्यपि यी जम्मै अन्तरविरोध रणनीतिक अभावले नै जन्माएको छ। यही अभावका कारण केन्द्र र राज्यको आन्दोलनमाथिको ‘बुझाइ’ निर्माण भएको छ। जम्मै विकास एजेन्सी (दागोपाप, जीटीए) यही ‘बुझाइ’ले सम्बोधन गरेका परिणतिहरू हुन्। यसै कारण यतिका दशकसम्म आन्दोलन केवल बामे मात्र सरिरहेको छ।

आन्दोलनमा ‘बिचौलिया सिस्टम’ पनि यसैले निर्माण गरेको हो, जसले पुस्तौंसम्म उठ्नै नसक्ने गरी पारेको आर्थिक डाम समाजको आङमा छ। चेतनाको स्तरमा हरेक असफलताले निरीहताको बिजारोपण गरेको छ। डर, त्रास र अत्याचारहरूका नयाँनयाँ शैलीहरू जन्माएको छ। यी जम्मै अन्तरविरोधले यस्तो सामाजिक मनोविज्ञान तयार पारेको छ, जसको जगमा अब कुनै पनि आन्दोलनको सम्भाव्यता जिउँदो छैन।

मुख्य गरी सांस्कृतिक र राजनीतिकर्मीहरूले अब यी जम्मै अन्तरविरोधका चरित्रहरू केलाएनन् भने बौद्धिक, बुद्धिजीवी, लेखक र सचेतहरूले यी अन्तरविरोधहरूलाई बहसमा ल्याउन सकेनन् भने समाजमा संकट अजम्बरी बन्ने छ। विचारहरू दास बन्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.